PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कास्की २ मा साझाले घोषणा गर्‍यो उम्मेदवारः गुट र फुटको विवादमा कांग्रेस, चित्त बुझ्दो उम्मेदवार खोज्दै नेकपा



विष्णु गौतम

कास्की २ मा साझाले घोषणा गर्‍यो उम्मेदवारः गुट र फुटको विवादमा कांग्रेस, चित्त बुझ्दो उम्मेदवार खोज्दै नेकपा

पोखराः मंसिर १४ मा हुने उपनिर्वाचनका लागि रिक्त निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभाको एकमात्र सिट हो कास्की २। चुनावका लागि राजनीतिक दलहरु अहिले उम्मेदवार छनोटमा व्यस्त छन्। ठूला राजनीतिक दल उम्मेदवार छनोटको गृहकार्यमा हुँदा केही दलले भने उम्मेदवार तय गरिसकेका छन्।

तत्कालीन पर्यटनमन्त्री समेत रवीन्द्र अधिकारीको गत वर्षको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि स्थान रिक्त छ।

प्रमुख राजनीतिक दल उम्मेदवार छनोटको बहसमा केन्द्रित हुँदा बुधवार साझा पार्टीले उम्मेदवार तय गरेको हो। साझाले नेपाली कांग्रेसबाट एक महिनाअघि मात्र पार्टी प्रवेश गरेकी रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। केसी पूर्व मिस पोखरा समेत हुन्।

गुट र फुटको विवादमा कांग्रेस

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल केही समयअघि पोखरामै आएर उपनिर्वाचनलाई ‘मिनी जनमतसंग्रह’को उपमा दिँदै एकजुट भएर होमिन कार्यकर्तालाई निर्देशन दिए। दुवै शीर्ष नेताको भाषणमा एकताको ताली पिटेकाहरु अहिले १६ तिर फर्काएका छन्। जसले कांग्रेसमा उम्मेदवारका आकांक्षी नै दर्जनभन्दा बढी छन्।

पार्टी केन्द्रीय कमिटीले तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि आधिकारिक उम्मेदवार छनोट गर्न बसेको कांग्रेस कास्की २ को बैठककै क्रममा आकांक्षीहरुले एक/अर्काको अस्तित्व अस्वीकार गरेका छन्। जसको समस्या उम्मेदवार छनोटमा परेको छ। आकांक्षीमध्ये ११ जनाले सबै नाम केन्द्रमा पठाउनु पर्ने माग गरेका छन्।

क्षेत्रीय सभापतिले समेत आकांक्षी थेग्न नसकेपछि १६ जनाको नाम जिल्ला कमिटीमा पठाएका थिए। तर, जिल्ला समितिले आफ्नो क्षेत्राधिकार नभएको भन्दै क्षेत्रीय समितिको निर्णय नै केन्द्रमा पठाउने निर्णय गरिसकेको छ।

कांग्रेसबाट खेमराज पौडल, देवराज चालिसे, महादेव गुरुङ, निर्मल कर्माचार्य, महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्कीसहित वीरेन्द्रनारायण विजुक्छे, केशव निर्दोषी, माधव बास्तोला ‘मधु’, गुरु बराल, सोभियतबहादुर अधिकारी, विजय आचार्यले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्। यस्तै कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेसहित खेमकुमारी बराल, रंगीला आचार्य र विमला भण्डारीको नाम केन्द्रमा सिफारिस भएको छ।

चित्त वुझ्ने उम्मेदवार खोज्दै नेकपा

कास्की २ को उपनिर्वाचनलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले पनि अर्थपूर्ण रुपमा हेरेको छ। पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर बनेका तल्ला कमिटीहरुलाई एकजुट बनाउनेमा पूर्ण शक्ति खर्च गरिए पनि उम्मेदवार छनोटमा गुटको रस्साकस्सी कायमै छ। विवादका रुपमा बाहिर भने त्यति देखिएको छैन।

नेकपाबाट स्वर्गीय रवीन्द्र अधिकारीको पत्नी विद्या भट्टराईको नाम चर्चामा भए पनि उनले प्रतिक्रिया जनाएकी छैनन् ।

पूर्व एमालेलाई नै सो क्षेत्रको टिकट दिइएमा सोमनाथ प्यासी बलियो दाबेदार भएको नेकपाका नेताहरुको विश्लेषण छ। तर एमाले र माओवादी एकीकरणपछिको पहिलो निर्वाचन भएकाले तीन जना सिफारिस गर्दा पूर्व माओवादीका तर्फबाट पनि नाम समेटिनु पर्ने माग उठेको छ ।

नेकपाका पोखरा महानगर सचिव विश्वप्रकाश लामिछाने भने टिकटमा विवाद नहुने दाबी गर्छन्। लामिछाने भन्छन्, ‘यो क्षेत्रमा जो उठे पनि रवीन्द्रको सपना पूरा गर्ने उम्मेदवारले टिकट पाउँछ यसमा कुनै समस्या हुदैन।’

नेकपाका कास्की इञ्चार्ज राजकाजी गुरुङ पनि सम्भावित उम्मेदवार हुन्। उनी पूर्व माओवादीतर्फका नेताहरुको लबिङमा चुनाव लड्ने तयारीमा छन्। गुरुङ पछिल्लोपटकको प्रदेशसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर २ कै (ख) बाट नेपाली कांग्रेसका बिन्दुकुमार थापासँग पराजित भएका थिए।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले उम्मेदवार छनोटको औपचारिक प्रक्रिया चाँडै पूरा हुने बताए।

पोखरा महानगपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ वडाहरु मिलाएर क्षेत्र नम्बर २ निर्माण गरिएको हो। कास्की २ मा ७१ हजार ८७१ मतदाता रहेका छन्।

०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रवीन्द्रले २७ हजार २०७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत ल्याएका थिए।

मतान्तर आठ हजार ५०७ थियो। समानुपातिकको मतान्तर ६ हजार ५०० थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell