
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा सहभागी नहुने भएका छन्। अजरबैजानको बाकुमा कात्तिक ८ र ९ गते हुने असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलन हुँदै छ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी सहभागी नहुने र उनको साटो भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारतका उपराष्ट्रपति एम बैंकैया नायडूले गर्ने द हिन्दूले आज जनाएको छ। मोदी यसअघि भेनेजुएलामा सन् २०१६ मा भएको असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा पनि सहभागी भएका थिएनन्। त्यसबेला भारतीय प्रतिनिधि मण्डलको नेतृत्व तत्कालीन उपराष्ट्रपति हमिद अन्सारीले गरेका थिए।
भारत १२० राष्ट्र सदस्य रहेको असंलग्न राष्ट्रहरुको संगठनको संस्थापक सदस्य हो। सन् १९६१ मा तत्कालीन युगोस्लाभियाको बेल्ग्रेड शिखर सम्मेलनबाट यो संगठनको औपचारिक रुपमा स्थापना भएको थियो। तर यसको स्थापना प्रक्रिया भने सन् १९५६ मा इन्डोनेसियाको बाङडुङबाटै शुरु भएको थियो।
भारत, इन्डोनेसिया, इजिप्ट, तत्कालीन युगोस्लाभिया, नेपाललगायत राष्ट्र यो संगठनका संस्थापक राष्ट्र हुन्। सन् १९६१ देखि हुँदै आएका शिखर सम्मेलनमा भारतका प्रधानमन्त्रीले नियमित रुपमा नै सहभागिता जनाउँदै आएका थिए। असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री सन् १९७९ मा उपस्थित हुन सकेका थिएनन्। त्यसबेला तत्कालीन प्रधानमन्त्री चौधरी चरण सिंहले सम्मेलनमा सहभागिता जनाउन सकेका थिएनन्।
दुई शिखर सम्मेलनमा मोदी आफू आफैं नगएर उपराष्ट्रपतिलाई सहभागिताका लागि पठाउने निर्णयका कारण यतिबेला भारत असंलग्न राष्ट्रहरुको संगठनप्रति झुकाव घट्दै गएको विश्लेषण गरिन थालेको छ। यसैगरी अब भारतले असंलग्नताको नीति त्याग्ने अनुमानसमेत गरिन थालिएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरसँग यसबारे सोधिएको प्रश्नमा उनले यस्तो अनुमान अस्वीकार गरेको द हिन्दूले उल्लेख गरेको छ। विदेश मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले भने विदेशमा हुने सबै सम्मेलनमा प्रधानमन्त्री मोदी नै सहभागी हुन सम्भव नरहेको बताए।
बाकुमा हुने शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसीना वाजेद, पाकिस्तानका राष्ट्रपति आरिफ अल्वी र इरानका राष्ट्रपति हसन रुहानीलगायत सहभागी हुँदै छन्।