![भिटेनले गाएको गीतमा के छ जसले उनलाई पुर्यायो हिरासत?](https://pahilopost.com/assets/upload/contentthumb/vten_story.png)
काठमाडौं : चार महिनाअघि सार्वजनिक भएको 'हामी यस्तै त हो नि ब्रो' गीतमा प्रहरीलाई नै जथाभावी भनेको भन्दै चर्चित र्यापर समीर घिसिङ 'भिटेन'लाई पक्राउ गरेको छ।
गीत चर्चित भएसँगै 'सही हो, सही हो' र 'यस्तै हो नि ब्रो' थेगो पनि जनजिब्रोमा झुन्डियो। सामाजिक सञ्जालमा हामी यस्तै त हो नि ब्रो ट्याग धेरैले प्रयोग समेत गरे।
भिटेनले प्रहरीलाई गालीगलौज गरेको आरोप प्रहरीले लगाएको छ।
के छ त उनको यस गीतमा?
'चुरोट'देखि 'हाल खबर' शीर्षकसम्मका गीतमा प्रहरीलाई उनले 'डन्ठे' भन्ने शब्द प्रयोग गरेका छन्। यसअघि पनि विभिन्न र्यापबाट चर्चामा आएका उनले यस गीतमा पनि प्रहरीलाई डन्ठे भनेका छन्।
यस गीतमा उनले 'पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती' भन्ने वाक्य प्रयोग गरेका छन्।
यसैगरी उनले प्रहरीलाई इंगित गर्दै 'डन्ठेहरुलाई 'फक' साइन। अनि हान्दै हिँड्छु थग लाइफ' समेत भनेका छन्।
युवाबीच लोकप्रिय उनलाई पछिल्लोपटक पोखरामा स्टेज कार्यक्रममा ढुंगा प्रहार गरिएको थियो। त्यतिबेला उनलाई प्रहरीले बचाएका थिए।
गीतमा उनले अस्पतालको नर्सलाई 'लभ बाइट हान्दा हवल्दारले पक्राउ गरेको र डिएसपीले आफ्नो अटोग्राफ मागेको' विषयसमेत समेटिएको छ।
अस्पताल गएको थिएँ अस्ति पट्यादिए मैले नर्सलाई
च्यप्प समातेर हानिदिए मैले त्यो नर्सको घाँटीमै लभ बाइट
यतिकैमा समाउन आयो हवल्दार
बाल छैन, बाल अहिले म त झ्याप
चौकी छिर्या डिएसपीलाई दिए अटोग्राफ
त्यो देख्दा डन्ठेहरु सबलाई आयो हार्ट अट्याक
पछिल्लो पटक सरकार उरन्ठेउला गीतलाई नियन्त्रणमा लिन तीव्र रुपमा लागिपरेको देखिन्छ। पशुपति शर्माको गीत विवादमा आए पनि उनलाई पक्राउ भने गरिएन। यद्यपि, हालै ह्याप्पी तिहार गीतका कारण दुर्गेश थापा हिरासत पुगे। उनले गीतका केही शब्दलाई सेन्सर गरेका छन्।
यसो त भिटेनका गीतहरुमा छाडा शब्द प्रयोग भए पनि सकारात्मक सन्देश पनि भरिएका हुन्छ। युट्युबमा उनी आफ्नो गीतमा कपिराइट समेत लगाउँदैनन्।
यो गीत पनि हुन सक्छ उनलाई पक्रनुको कारण?
भिटेनको खासै नसुनिने तर सरकारप्रति आक्रामक गीत हो- 'खाते नेता'। एक वर्षअघि सार्वजनिक भएको गीतमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गाली गरेका छन्।
गीतमा नमस्कार नेता भन्दै उनी गाउँछन्
सबै दाजुभाई बनाउ नेपाली टोली
यसो हेराउ त नेपाललाई आफ्नो आँखा खोली
हामी बोलौं एक बोली, मन्त्री बने केपी ओली
यस्तो पाराले के हुने हो भोलि?
यस्तै गरी उनले यस गीतमा माओवादीलाईसमेत गाली गरेका छन्। जनतालाई खाल्डोमा हालेकोप्रति आक्रोश जनाउँदै उनले नेपाली नेताहरुप्रति यस गीतमा आक्रोश व्यक्त गरेका हुन्।
को हुन् भिटेन?
अहिलेसम्म कुनै एल्बम सार्वजनिक नगरेका र्यापर उनले स्टेजमा तहल्का मच्चाउँछन्। अन्डरग्राउन्ड गीतमार्फत् चर्चामा आएका उनका गीत युट्युबमा पाइन्छन्। लफङ्गा, मान्छे खत्तम, लाहुरेको फेसन, खलासी, चुरोट, तातो न छारो, बहिनी, सिमसिमे पानी, हालखबर, अन्तिम चाहना, हिम्मत, इन्ट्रो, हामी यस्तै त हो नि ब्रो उनका चर्चित गीत हुन्।
कार्यक्रमका सिलसिलामा विभिन्न देश पुगिसकेका उनी चर्को पारिश्रमिक लिने र्यापरका रुपमा चिनिन्छन्। रौतहटको चन्द्रनिगाहपुरमा जन्मिएका २२ वर्षे समीरका बुबा कपिल लामा र आमा हेमा लामा हुन्।
व्यवस्थापन संकायमा स्नातक तह अध्ययनरत उनी थान्का पेन्टिङ गर्ने र यसैको व्यवसायसमेत गर्छन्।