
काठमाडौं : वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल)मा आज उपाधिका लागि चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई ४५ रनले हराउँदै डब्लुसिएलको उपाधि हात पारेको छ।
आज कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा क्याट क्विन्स काठमाडौंले टस जितेर चितवनलाई ब्याटिङको निम्ता दिएको थियो।
इन्दु बर्माको कप्तानीमा रहेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो। चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन्। त्यस्तै कप्तान इन्दु बर्माले अविजित २२ रन बनाइन्। त्यस्तै ओपनर काजल श्रेष्ठ र कञ्चन श्रेष्ठले क्रमशः २१ र १९ रनको योगदान दिए।
चितवनलाई औसत स्कोरमा रोक्न सरस्वती कुमारी, संगीता राई र लक्ष्मी साउदले समान १/१ विकेट लिए।
११३ रनको लक्ष्य पछ्याएको क्याट क्विन्स काठमाडौंको सुरुदेखि नै विकेट टिक्न सकेन। निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै काठमाडौंले ६७ रन बनाएको थियो। काठमाडौंका लागि ओपनर शोभा आले २ दशमलव १ ओभरमा ६ रन बनाएर पभेलियन फर्किएसँगै काठमाडौंको विकेट गुम्न सुरु भयो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी रुविना क्षत्री पनि २ रन बनाउँदै आउट भएसँगै काठमाडौं दबाबमा आएको थियो।
काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन बनाउँदा ममता थापा र इश्वरी विष्टले समान १३ रन बनाए। चितवनका लागि सुमन खतिवडा र रितु कनोजियाले समान ३/३ विकेट लिए। त्यस्तै रेखा सावदले २ विकेट लिइन्।