काठमाडौं : नागढुङ्गा-नौबिसे सुरुङमार्ग आयोजनाका लागि धादिङतर्फ परेका जग्गाहरुको मुआब्जा वितरण प्रक्रिया अघि बढेको छ।
धादिङको धुनिवेंशी नगरपालिका वडा न ९ (साविकको नौविसे गाविस वडान ४ (क) र ४ (ङ) अन्तर्गतका अधिग्रहणमा पर्ने जग्गाहरुको मुआब्जा निर्धारण भए अनुसार सम्वन्धित जग्गा धनीहरुबाट निवेदन पेश गर्न आयोजनाले सार्वजनिक सूचना निकालेको छ। यसअघि नै आयोजना अधिकारी, जग्गाधनी, प्रमुख जिल्ला अधिकारीलगायत बसेर मुआब्जाको विषय टुङग्याएका थिए।
सुचनामा जग्गाधनी प्रमाण पुर्जा, तिरो तिरेको रसिद, सम्वन्धित नगरपालिका वा वडाको सिफारिस, नागरिकताको प्रमाणपत्रको फोटोकपी तथा अन्य प्रमाणहरु सक्कलै संलग्न गरी पेश गर्न भनिएको छ। यसअघि साउनमा नै सुचना निकाल्दै मुआब्जाका लागि निवेदन दिन भनिएको भएपनि अहिलेसम्म कसैले निवेदन नदिएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार काठमाडौंतर्फ मुआब्जाको खासै समस्या नरहेपनि धादिङतर्फ समस्या छ। उनका अनुसार काठमाडौंतर्फ कुल २ सय २३ रोपनी जग्गा परेको छ। जसमा करिब ३२ रोपनी जग्गा सरकरी छ। २ सय ९१ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमध्ये ९० प्रतिशत भइसकेको छ। विवादित, लालपुर्जा नभएका, जग्गाधनी सम्पर्क विहीन भएका जग्गाहरु मात्रै अधिग्रहण गर्न बाँकी छ।
आयोजनाका अनुसार धादिङतर्फ कुल १०९ रोपनी अधिग्रहण गर्नुपर्नेछ। करिब ५० प्रतिशत गुठीका नाममा रहेका कारण समस्या आएको हो। गुठीको नियम अनुसार जग्गा कमाउनेलाई ३३ र गुठीलाई बाँकी ६७ प्रतिशत दिनुपर्छ। तर, त्यहाँका स्थानीयले ३३ प्रतिशत मात्रै मुआब्जा पाउँदा विस्थापित नै हुनुपर्ने भन्दै आएका छन्। गुठीको जग्गाको विवाद मन्त्रिपरिषदमा लगेर टुङग्याउने तयारी छ।
तिहारपछि काम सुरु गरेर आगामी ४२ महिनामा सुरुङमार्ग तयार हुने जनाइएको छ। निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले पाएको छ। निर्माण कम्पनी साइटमा क्याम्प बनाएर काम गर्न तयारी अवस्थामा छ।