
काठमाडौं : विपिन कार्कीले मुख्य चरित्र निर्वाह गरेको फिल्म 'सेल्फी किङ' को छायांकन सकिएको छ। ३३ दिनमा नै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले बताएको छ।
दशैंअघि र पछिको दुई सेड्युलमा छायांकन भएको यस फिल्मको छायांकन काठमाडौं, भक्तपुर हुँदै सोलुखुम्बू, खुर्कोट, घुर्मी लगायतका स्थानमा गरिएको छ। 'सेल्फी किङ' को नामले परिचित एक चर्चित हास्य कलाकारले कला यात्राको दौरानमा आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ।
फिल्ममा विपिन कार्की मुख्य भूमिकामा छन्। छायांकन सकिएसँगै उनले आफूले अहिलेसम्म काम गरेका फिल्ममध्ये ‘सेल्फी किङ’ एक उत्कृष्ट फिल्म बनेको बताए।
ड्रामेडी (ड्रामा प्लस कमेडी) जनरामा निर्माण भएको यस फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका छन्। विशालको यो डेब्यू फिल्म हो।
फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारले अभिनय गरेका छन्। साथै अभिनेत्री केकी अधिकारी पनि फिल्ममा विशेष भूमिकामा प्रस्तुत भएकी छिन्।
गत वर्ष व्यावसायिक र समीक्षात्मक दुवै रुपमा सफल फिल्म ‘प्रसाद’का निर्माता सुभाष थापा र सोही फिल्म निर्देशक दिनेश राउतले संयुक्त रुपमा सेल्फी किङको निर्माण गरेका हुन्। निर्देशक विशालले लेखेको सेल्फी किङलाई सुसन प्रजापतिले छायांकन गरेका हुन्।