PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रम ओलीको आदर्श पुरुष भेनेजुएलाका मुदुरो : कांग्रेस नेता रामचन्द्र पौडेल



नेत्र तामाङ

प्रम ओलीको आदर्श पुरुष भेनेजुएलाका मुदुरो : कांग्रेस नेता रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरु संविधानसभाबाट संविधान बनाउने क्रममा समावेश गर्न नसकेका लोकतन्त्र विरोधी विषयहरु कानुन बनाउँदा समेट्न प्रयास गरेको भन्दै आलोचना गरेका छन्।

वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कम्युनिस्ट सरकारले कानुन बनाउँदा सबै क्षेत्रका अधिकारलाई नियन्त्रण गर्ने प्रयासमा लागेको आरोप लगाए।

उनले भने, ‘संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउनेक्रममा हामी लोकतन्त्रका मूल्य मान्यतामा कम्युनिस्टसँग धेरै लडाई गरका थियौं। उनीहरु हामीसँग बहस गर्न नसकेर लोकतन्त्रका मूल्य मान्यता स्वीकार गरेका थिए। अहिले कानुन बनाउँदा ती लोकतान्त्रिक मूल्य मान्यतालाई नियन्त्रणको प्रयास गरिरहेका छन्।’

वरिष्ठ नेता पौडेलले मुलुकको प्रधानमन्त्रीको सबैभन्दा आर्दश पुरुष भेनेजुएलाका राष्ट्रपति मुदुरो भएको र सी जीङपिङ सिद्धान्तलाई नेपालमा प्रयोग गर्ने सम्झौता गर्दै लोकतन्त्रमाथि प्रहार सुरु गरेको बताए। पौडेलले भेनेजुएला र सी पथलाई आर्दश मान्ने कम्युनिस्टको नियत स्पष्ट भएको बताए।

उनले कांग्रेस भएसम्म लोकतन्त्रका मूल्य मान्यतामाथि नियन्त्रणको प्रयास कसैले पनि गर्न नसक्ने स्पष्ट पारे। पौडेलले भने, ‘लोकतान्त्रिक अधिकारमाथि धावा बोल्ने हिम्मत अहिले कम्युनिस्टहरुले गर्न सकेका छैनन् किनकि यो मुलुकमा कांग्रेस छ। कांग्रेसले लोकतन्त्रका लागि सात दशक लडिसकेको छ। अझै कांग्रेस लोकतन्त्रका लागि जस्तोसुकै लडाई लड्न तयार छ। त्यसैले लोकतन्त्रप्रति गिद्दे दृष्टि नलगाए हुन्छ।’

कम्युनिस्टहरुको भनाई र गराईमा आकाश जमिनको फरक पर्ने व्यवहारबाट देखिएकाले आम नागरिक कम्युनिस्टदेखि असन्तुष्ट भइसकेको पौडेलको भनाई थियो।

उनले भने, ‘कम्युनिस्टहरु हिजो के भन्थे, आज के गर्दै छ। आम जनताले यसको समीक्षा गरिरहेका छ। सबैले कम्युनिस्टहरुको बोली र व्यवहारको समीक्षा गर्न जरुरी छ।’

पौडेलले ट्रेड युनियन आन्दोलनको भर्‍याङ चढेर सोही आन्दोलन ध्वस्त गर्ने कम्युनिस्टहरुको नीति नै भएको बताए। पौडेलले आम नागरिक कम्युनिस्टसँग असन्तुष्ट भएको समयमा नेपाली कांग्रेस सुध्रिन जरुरी रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell