
काठमाडौं : सरकारले कात्तिक ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले बिहीवारको नियमित पत्रकार सम्मेलनमा सो निर्णय सार्वजनिक गरेका हुन्।
यस्ता छन् सरकारका पछिल्ला निर्णय :
१. नेपाल सरकार र बंगलादेश सरकारबीच सम्पन्न द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोध सम्बन्धी सम्झौता संघीय संसद्मा जानकारीका लागि पेश गर्न स्वीकृति,
२. चालु आर्थिक वर्ष २०७६/७७ को लागि धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोक्ने निर्णय,
३. इन्जिनियर तुलाराम पौडेललाई सार्क इनर्जी सेन्टर इस्लामावादको प्रोफेसनल स्टाफ रिसर्च फेल्लोका रूपमा काजमा खटाउने निर्णय,
४. सुनसरी जिल्लास्थित देवानगन्ज गाउँपालिकालाई देवानगन्ज गाउँपालिका वडा नम्बर २ मा रहेको ९ कठ्ठा सरकारी जग्गा ३० वर्षसम्म निःशूल्क लिजमा उपलब्ध गराउन स्वीकृति,
५. नेपाली सेनाका लेखा उपरथी भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृत,
६. रोजगारीको हक सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत,
७. काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन,
८. सूचना महामार्ग निर्माण सम्बन्धी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको परियोजना कार्य नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन,
९. नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चबीच अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने विषयको एमओयू समकक्षी मिलाई हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अख्तियारी दिइयो,
१०. किजा पूजाको अवसरमा २०७६ कात्तिक १३ गते बुधवारका दिन सबै सरकारी कार्यलय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक विदा दिने निर्णय,
११. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) नियमावली, २०७६ स्वीकृत,
१२. डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत,
१३. नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत,
१४. माराकेश सन्धी, २०१३ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय,
१५. मालपोत नियमावली, २०३६ को नियम ५ ख (१) को समितिले गरेको न्यूनतम मूल्यांकन सम्बन्धी निर्णय परिमार्जन गर्न स्वीकृति,
१६. गैर करका दरहरू पुनरावलोकन स्वीकृत,
१७. नेपाल प्रशासन सेवातर्फको विशिष्ठ श्रेणीको सचिव पदमा सहसचिव रामकृष्ण सुवेदीलाई बढुवा गर्ने निर्णय,