
काठमाडौं : बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बिहीवार दोस्रो पटको महरालाई म्याद सकिएपछि प्रहरीले थप म्यादका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। पहिलोपटक अनुसन्धान गर्न अदालतले १३ दिनको म्याद दिएको थियो। त्यस्तै दोस्रो पटक भने पाँच दिन म्याद थप गरिएको थियो।
स्वास्थ्यमा समस्या देखिएर नर्भिक अस्पतालमा भर्ना भएका महरालाई नर्भिक अस्पतालबाट नै सरकारी वकिल कार्यालय लगिएको थियो।
महरा प्रकरणमा प्रहरीले १८ दिन गुजारिसकेको छ। यसअघि जिल्ला अदालतले काठमाडौंले कात्तिक २ गतेबाट लागू हुनेगरी पाँच दिनको म्याद थपेको थियो। त्यो म्याद हिजो नै सकिएको हो।
प्रहरीले अनुसन्धान जारी रहेकाले थप समय माग गरेको हो।
गत आइतबार महराको सरकारी वकिल समक्ष बयान भएको थियो। बयानमा महराले आफू पीडित भनिएकी महिलाको कोठामा नगएको दावी गरेका थिए।
असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।