
काठमाडौं : पूजा बोहराको सामुहिक बलात्कार मुद्दामा सर्वोच्च अदालतले पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै कसुर ठहर गरेको छ। २०६८ सालमा भएको बलात्कारमा जिल्ला अदालत बैतडीले दोषी ठहर गर्दै अमरराज अवस्थी र सागर भट्टलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकले २०६९ पुस ९ गते अभियुक्तलाई दोषी ठहर गर्दै १३ वर्ष कैद सजायँ तोकेका थिए। तर, जिल्ला अदालतको फैसला उल्ट्याउँदै पुनरावेदन अदालतदले मुद्दामा दाबी नपुग्ने फैसला गरेको थियो। २०७१ सालमा मुद्दा उल्ट्याउँदै अभियुक्तलाई निर्दोष सावित गरेपछि पीडित न्यायका लागि सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्च अदालतका न्यायाधीश द्वय सपना प्रधान मल्ल र हरि फुयाँलको बेन्चले आज बलात्कार कसुर ठहर गरेको हो। अब एक महिनाभित्र दोषीलाई सजाय निर्धारण हुनेछ। नयाँ संहिताको व्यवस्था अनुसार सजाय निर्धारण भने बाँकी छ। सजाय एक महिनाभित्र यही इजलासले निर्धारण गर्नेछ।
एसएलसी परीक्षा दिन बैतडीको पाटन आएका बेला २०६८ चैत ९ गते अमरराज अवस्थी र सागर भट्टले जबरजस्ती करणी गरेको भन्दै पूजाले जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्।
पुनरावेदन अदालत कञ्चनपुरका न्यायाधीश द्वय नरबहादुर शाही र रमेश राजभण्डारीले सफाइ दिएपछि यो मुद्दा निक्कै विवादित बन्न पुगेको थियो। काठमाडौंमा अकुपाइ बालुवाटार लगायतका मुभमेन्टमा समेत यो घटनाले प्राथमिकता पाएको थियो।
यस्तो फैसला दिने न्यायाधीश शाही हालै एक अर्कै प्रकरणमा बर्खास्तीमा परेका छन्।