
बेलायतको एस्सेक्स शहरमा ट्रक कन्टेनरभित्र भेटिएको ३९ जनाको शव चिनियाँ नागरिकको भएको प्रहरीको प्रारम्भिक रिपोर्टले जनाएको छ। यसबारे औपचारिक पुष्टि भने हुन बाँकी रहेको अलजजिराले जनाएको छ। पूर्वी लन्डनको औद्योगिक क्षेत्र रहेको स्थानमा प्रहरीले बुधबार ट्रक कन्टेनरभित्रबाट ३१ पुरुष र ८ महिलाको शव फेला पारेको थियो।
ग्लोबल टाइम्सले पनि ती शवहरु चिनियाँ नागरिकको भएको पुष्टि गरेको उल्लेख गरेको छ। यद्यपि, शव फेला परेका व्यक्तिहरुको बारेमा अरु सूचना सार्वजनिक गरिएको छैन। बेलायतमा रहेको चिनियाँ दूतावासले पनि यस विषयलाई गम्भीरताका साथ लिएको बताइएको छ।
प्रहरीका अनुसार बुल्गेरियाबाट ट्रक आएको हो जुन बेल्सको होलिहेड जाने तयारीमा थियो। प्रहरीले उत्तरी आयरल्यान्डका २५ वर्षीय ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बिहीबार प्रहरीले लाउराभेल क्षेत्रमा ड्राइभरको घरमा छापा हानेको थियो।