
युरोपियन युनियन (इयू) का नेताहरुले बेलायतले युनियन छाड्ने प्रक्रिया (ब्रेक्जिट)को समयसीमा बढाउने बारेमा छलफल गर्दैछन्। प्रधानमन्त्री बोरिस जोनसनले इयूले अक्टोबर ३१ को 'डेडलाइन' रहेको ब्रेक्जिटको समयसीमा बढाए छिट्टै मध्यावधि निर्वाचन गराउने बताएपछि इयुका नेताहरु छलफलमा जुट्न लागेका हुन्।
केही दिनअघि इयू र बेलायतबीच ब्रेक्जिटको बारेमा नयाँ सम्झौतामा सहमति भएको थियो। तर , बेलायती संसदले प्रधानमन्त्री बोरिस जोनसनको नयाँ ब्रेक्जिट प्रक्रिया अस्वीकार गरिदिएको थियो। प्रस्ताव अस्वीकृत भएपछि जोनसनले इयूले समय बढाए आफूहरुले चाँडै निर्वाचन गराएर ब्रेक्जिट प्रक्रियालाई सरल बनाउने प्रयास गर्ने बताएका थिए।
बोरिस डिसेम्बर १२ मा निर्वाचन गर्ने पक्षमा रहेको बुझिएको छ। बेलायत सरकारले ब्रेक्जिटको समयसीमा ३१ जनवरीसम्म बढाउने आग्रह गरेको बताइएको छ। तर, विपक्षी लेबर पार्टीको सहयोग बिना मध्यावधि निर्वाचन गर्न सम्भव छैन। लेबर पार्टीले ब्रेक्जिटको प्रस्ताव पटक-पटक अस्वीकृत गरिदिएपछि थेरेसा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। मेको उत्ताराधिकारीका रुपमा आएका जोनसनलाई पनि विपक्षी पार्टीको असहयोग रहेको छ। जोनसनका हरेक प्रस्तावहरु संसदबाट अस्वीकृत हुँदै आएका छन्।
विपक्षी नेता जेमेरी कोरविनले 'नो डिल' कुनै सम्झौता बिनाको ब्रेक्जिट प्रक्रियालाई संसदबाट फिर्ता लगिए आफूहरु निर्वाचनको पक्षमा रहेको बताएका छन्। गत वर्षदेखि नै मध्यावधि निर्वाचनको पक्ष रहेको बताउँदै कोरविनले समाजिक अन्यायका विरुद्ध लड्न निर्वाचन अपरिहार्य रहेको बताए।
इयू ब्रेक्जिटको समयसीमा बढाउन सकारात्मक देखिए पनि बेलायती संसदबाट निर्वाचनबारे हुने निर्णयले नै समयसीमा कति बढ्ने निर्भर हुने अनुमान गरिएको छ।