
काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान पारस खडकाले टी १० लिगमा अबुधाबीको प्रतिनिधित्व गर्न पाउँदै खुशी लागेको प्रतिक्रिया दिएका छन्। टी १० को अफिसियल साइटले बिहीवार अबुधाबीबाट खेल्ने खेलाडीमा खड्कालाई सूचिकृत गरेको थियो।
टी १० लिगमा अनुबन्धित भएसँगै पारस विदेशी ठूला फ्रेन्चाइज लिगमा सहभागिता जनाउने तेस्रो नेपाली खेलाडी हुने छन्। उनीबाहेक सन्दीप लामिछानेले लगभग सबैजसो ठूला फ्रेन्चाइज लिगमा सहभागिता जनाइसकेका छन् भने सोमपाल कामीले पनि क्यानडाको ग्लोबल टी २० मा विनीपेग हक्सबाट खेलिसकेका छन्।
टी १० लिगमा पारस सँगै सन्दीप लामिछाने पनि खेल्नेछन्। यद्यपि लामिछाने भने कर्नाटकाबाट सहभागिता जनाउने छन्।
शुक्रबार पारसले स्टाटसमा जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद दिँदै टी १० मा अबुधाबीको तर्फबाट प्रतिनिधित्व गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन्।
त्यस्तै उनलाई अन्य खेलाडीहरुले पनि बधाई दिएका छन्।
सन्दीप लामिछानेले ट्वीट गर्दै पारस खड्काले टी १० लिगमा सहभागिता जनाउने थाहा पाउँदा आफूलाई खुशी लागेको बताएका छन्।
Glad to know @paras77 Daju will be representing @teamabudhabiT10 in @T10League. Best wishes to you dai and hope you will make Nepal proud one more time. #CricketNepal #T10. शुभकामना 😊
— Sandeep Lamichhane (@IamSandeep25) October 25, 2019
'पारस दाइले टी १० लिगमा अबुधावीबाट प्रतिनिधित्व गर्ने थाहा पाउँदा खुशी लागेको छ,' सन्दीपले लेखेका छन्, 'दाइलाई शुभकामना। र मलाई विश्वास छ तपाईले नेपाललाई फेरि गौरवान्वित बनाउनु हुनेछ।'
त्यस्तै नेपाली क्रिकेट टीमका अलराउन्डर करण केसीले पनि 'ग्रेट न्युज' भएको भन्दै खड्कालाई बधाई दिएका छन्।
Great news 😊 congratulations @paras77 dai pic.twitter.com/IEL2VhPZ3B
— Karan Kc (@karankc33) October 25, 2019
खड्का पछिल्लो समय नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएयता चर्चामा छन्। उनले कप्तानीबाट राजीनामा दिए पनि क्रिकेट अझै केही वर्ष खेल्ने बताउँदै आएका छन्। खड्का नेपालको तर्फबाट सबैभन्दा बढी अन्तर्राष्ट्रिय स्कोर बनाउने खेलाडी हुन्। त्यस्तै एकदिवसीय र टी २० मा शतक प्रहार गर्ने पहिलो र एकमात्र खेलाडी हुन्।