PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

क्यानले पारससँग माग्यो राजीनामाबारे आधिकारिक धारणा



पहिलोपोस्ट

क्यानले पारससँग माग्यो राजीनामाबारे आधिकारिक धारणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्कासँग राजीनामाबारे आधिकारिक धारणा मागेको छ। क्यानले कप्तानीबाट उनको राजीनामाबारे आधिकारिक धारणा बुझ्न आज पत्र पठाएको हो।

क्यान नेतृत्वले यसअघि खड्काको आधिकारिक रुपमा राजीनामा नआएकाले यसबारे केही औपचारिक निर्णय गर्न नसकेको बताउँदै आएको थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मिडियाबाट राजीनामाबारे जानकारी पाएको र त्यसमा आफ्नो ध्यानकार्षण भएको बताउँदै आएका थिए।

वुमन्स प्रिमियर लिगको उद्घाटन सत्रमा बोल्दै चन्दले खड्कालाई राजीनामा फिर्ता लिनसमेत आग्रह गरेका थिए।

क्यानको पहिलो बैठकले विभिन्न समिति निर्माणसम्बन्धी निर्णय गरेको थियो। त्यस्तै यता चासोको रुपमा हेरिएको कप्तान पारस खड्काको राजनीमाको विषयले पनि बैठकमा प्रवेश पाएको थियो। एक बोर्ड सदस्यका अनुसार पारसको राजीनामाबारे आधिकारिक धारणा क्यानमा दिन लगाउने सम्बन्धमा पनि त्यतिबेलै छलफल भएको थियो।

क्यानका प्रवक्ता अशोकनाथ प्याकुरेलले क्यान बोर्डको निर्णयअनुसार खड्कालाई राजीनामाबारे आधिकारिक धारणा दिन पत्र पठाइएको बताए।

'पारस जीको आधिरकारिक कुरा नआएकोले तथ्य केहो भनेर बुझ्ने भन्ने अस्तिकै निर्णय हो बोर्डको,' प्याकुरेलले पहिलोपोस्टसँग भने, 'त्यही विषयमा केहो यथार्थ जानकारी गराइ दिनुहोस् भन्ने हो।'

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट सशर्त फुकुवा भएको भोलिपल्टै पारसले कप्तानीबाट राजीनामा दिएका थिए। नेपाली क्रिकेटलाई एक दशकभन्दा लामो समयसम्म कप्तानी गरेका खड्काले भने नेपाली क्रिकेटलाई अगाडि बढ्न बाटो खोलिदिएको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell