PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

प्रहरीले पूरा गर्‍यो महरामाथिको अनुसन्धान, सरकारी वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनमा के छ?



सविन ढकाल

प्रहरीले पूरा गर्‍यो महरामाथिको अनुसन्धान, सरकारी वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनमा के छ?

काठमाडौं : बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान प्रहरीले सिध्याएको छ। बीस दिन अनुसन्धानपछि महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन शुक्रवार दिउँसो बुझाएको छ।

अदालतले महराको अनुसन्धान गर्न प्रहरीलाई बिहीवारमात्र सात दिनको म्याद थप गरेको थियो। त्यस्तै, बिहीवारमात्र उनको डिएनए परीक्षण गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो।

'अनुसन्धान सक्काएर प्रतिवेदन पेश गरेका छौं,' परिसरका एसएसपी उत्तमराज सुवेदीले पहिलोपोस्टसँग भने।

असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

सरकारी वकिल कार्यालयले प्रहरीले बुझाएको अनुसन्धानबाट सन्तुष्ट भएमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराउनेछ। त्यसपछि अदालतमा बहपछि अदालत साधारण तारिकमा रिहा, धरौटीमा रिहा वा पूर्पक्षको लागि जेल चलाउनेमध्ये एक निर्णय हुनेछ।

पीडित महिलाको कोठाबाट प्रहरीले संकलन गरेको सबुत प्रमाण हो या होइन भनेर पुष्टि गर्नेका लागि महराको डीएनए गर्न लागिएको हो। कोठाबाट प्रहरीले महराको भनिएको चस्मा, जुत्ताको तलुवा, रक्सीको बोतल लगायत सामाग्री बरामद गरेको थियो। प्रहरीले डिएनएको विवरण भने अनुसन्धान रिपोर्टमा उल्लेख गरेको छैन जुन पछि थपिने छ।

गत आइतबार महराको सरकारी वकिल समक्ष बयान भएको थियो। बयानमा महराले आफू पीडित भनिएकी महिलाको कोठामा नगएको दावी गरेका थिए।

रिपोर्टमा बलात्कार प्रयास, यौन दुर्व्यवहार सम्बन्धी कसुरमा महरालाई कैद सजायँसमेत माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell