PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

थिएटर मलमा शिशिर बसन्तको कथामा पपेट नाटक

थिएटर मलमा शिशिर बसन्तको कथामा पपेट नाटक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कीर्तिपुर राराहिलस्थित थिएटर मलमा नेपाली लोककथा ‘शिशिर बसन्तको कथा’मा पपेट नाटक मञ्चन भएको छ। जापानी पपेट निर्देशकको साथमा भएको १० दिने पपेट थिएटरको कार्यशालाले नाटक तयार पारेको हो।

जापानको उटरभिजन थिएटर कम्पनीको सहकार्यमा थिएटर मलले गरेको कार्यशालामा शिशिर बसन्तको कथाका मुख्य मुख्य पात्रहरुको पपेट डिजाइन गरी नाटक तयार पारिएको हो। जापानमा प्रचलित तीन जनाले संयुक्त सन्तुलनमा चलाउने पपेट मार्फत् कथा मञ्चन गरिएको हो।

उटरभिजनका कला निर्देशक इरिना सजीको निर्देशनमा सञ्चालित कार्यशालामा १२ रंगकर्मी र ९ स्कुले बालबालिका सहभागी थिए। उनीहरुले १० दिवसीय कार्यशालाको सय घण्टामा पपेट पात्र निर्माणदेखि सञ्चालनसम्मको अभ्यास गर्दै पपेट नाटक मञ्चन गरे।

कार्यशालाको समापनमा आयोजना गरिएको पपेट नाटक मञ्चनमा शिशिर बसन्तको कथासँगै अन्य दुई छोटो पपेट प्रस्तुति पनि मञ्चन गरिएको थियो। जसमा शेक्सपियरको ‘एज यु लाइक इट’ र नेपाली लोककथा ‘सेल रोटी’लाई पपेट पात्रमार्फत् मञ्चन गरिएको हो।

कार्यशालासँगै थिएटर मलले पपेट थिएटरलाई अझै निपूर्ण र आफ्नो शैली बनाउन ‘नेपाल पपेट थिएटर’ सुरु गरेको कला निर्देशक केदार श्रेष्ठले बताए। यो समूहले निरन्तर अभ्यास र परिकल्पना गर्दै पपेट विधालाई नेपाली रंगमञ्चमा निरन्तरता दिने उनले उल्लेख गरेको छ।

थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कूल र आसितेज नेपालको सहकार्यसहित आयोजित कार्यशालामा इरिनाको साथमा एरी तोमोई, इजावा रेई र मियामोतोको जापानी कलाकारहरु थिए। समापन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काले जापानी समूहलाई विधाई गरेका थिए।

कार्यशालामा इलिना नकर्मी, सञ्जिता पराजुली, सबीर चुरौटे, शंकर भण्डारी, सुजिता महर्जन, प्रशान्त श्रेष्ठ, क्षितिज पराजुली, मनिष व्यन्जू, मदन श्रेष्ठ, सरोज राई, हिरा महर्जन, पूजा ढकालले पपेट थिएटरको अभ्यास गरेका थिए। त्यस्तै स्कूले बालबालिकाहरुमा सहर्षा क्षेत्री, अरविन खड्का, कीर्ति भट्टराई, अनुप पुरी, निपूर्ण पौडेल, असिम त्वनबसु, सहश्राम्सु नेपाल, कलिना पाण्डे, शुभेच्छुक ढुंगाना सहभागी थिए।



ट्रेन्डिङ पोस्ट

Ncell