PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पार्टी एकताबारे प्रचण्ड भन्छन् : दुई मूर्ख कमान्डर हाम्फालेको, सबैले अनुमोदन गरे



अनन्तराज न्यौपाने

पार्टी एकताबारे प्रचण्ड भन्छन् : दुई मूर्ख कमान्डर हाम्फालेको, सबैले अनुमोदन गरे

विराटनगर : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र पूर्व माओवादीको एकता गर्दा दुई मूर्ख एक्कासि भीरबाट हाम्फालेजस्तो भएको बताएका छन्। नेकपा मोरङद्वारा आयोजित चियापानमा अध्यक्ष प्रचण्डले दुबै मूर्ख कमान्डर एकैचोटि र एक्कासि हाम्फालेपछि एकता सम्भव भएको टिप्पणी गरेका हुन्।

‘हामी हाम्फाल्यौँ तर यसलाई जनता र कार्यकर्ता सबैले अनुमोदन गरिदिए, मानिदिए’ उनले भने, ‘पहिले कसैलाई विश्वास थिएन, पछि सबैले स्वीकार गरे।’

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई आँखाको नानीजस्तो माया गरेर समाजवादको अभियानमा एकजुट हुने हो भने नेकपालाई कसैले हराउन नसक्ने विचार व्यक्त गरे।

‘हामी हार्‍यौँ भने आफ्नै अहङ्कारले हार्छौं’ उनको भनाइ थियो, ‘सेवक भएर जनताको सेवा गर्ने ठाउँमा आफैँ मालिक भइयो भने हराउन कोही आउनै पर्दैन, आफैँ हार्छौं।’

अध्यक्ष दाहालले चीनका राष्ट्रपति सी जिन पिङको सम्बोधनबाट नेपालका वामपन्थीले धेरै कुरा सिक्नुपर्ने जिकिर गरे।

‘राष्ट्रपति सीले चीनका ९ करोड कम्युनिस्ट कार्यकर्ताले विचार र सङ्गठनमा एकजुट भएर १ अर्ब ६० करोड जनताको सेवा गरिरहेको बताउनु भयो’ उनले सुनाए, ‘उहाँले त्यसो भन्नुहुँदा म हाम्रो पार्टीका ८ लाख सदस्य ८ लाख ठाउँतिर फर्किएका त छैनौँ भन्ने सोचिरहेको थिएँ । उहाँले यो कुरा पटक–पटक भन्नुले हामीलाई नै भनेको त होइन जस्तो लाग्यो । यो कुरा मेरा लागि र अन्य पार्टी नेता र कार्यकर्ताका लागि गम्भीर, संवेदनशील र चिन्ताको विषय हो।’

उनले सुनाए, ‘हामी एउटा कम्प्याक्ट पार्टीभन्दा अलि बढी विशृङ्खलित, अलि बढी व्यक्ति–व्यक्तिको स्वार्थतिर दौडधूपतिर पो जाँदैछौँ कि भन्ने चिन्ता भएको बेलामा उहाँले मलाई यो कुरा भन्नुभयो।’

‘उहाँले दोहोर्‍याइ दोहोर्‍याइ यो कुरा भन्दा मलाई कतै चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई आलोचना गरेको त होइन जस्तो लाग्थ्यो’, उनले थपे, ‘त्यसो त, राष्ट्रपतिले हाम्रो आलोचना गर्नुभएन, तपाईंहरूको यो भएन–त्यो भएन, केही भन्नु भएन। बरु तपाईंहरू पनि महान् पार्टी हो।

तपाईंहरूले एकता गरेर धेरै राम्रो गर्नुभएको छ। तपाईंहरू पनि ठूलो नेता हो मात्रै भन्नुभयो। नकारात्मक केही भन्नुभएन। तर उहाँले भन्दै जाँदा र हाम्रो स्थिति यसो विचार गर्दै जाँदा हामीलाई नै भनेजस्तो लागेको हो।’

प्रचण्डले चिनियाँ राष्ट्रपति महोदयले पार्टीमा अनुशासन र मुलुकमा सुशासनको कुरा गरेको उल्लेख गर्दै पार्टीमा विचारविरोधी र विधानविरोधीलाई तुरुन्त कारबाही गरेर निष्काशन गर्न सक्नुपर्ने धारणा प्रकट गरे। उनले पार्टीको एकता प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए।

‘त्यसो त, हामीले ३ महिनामा टुङ्ग्याउने कुरा गरेका थियौँ’, दाहालले भने, ‘तर ६ महिना, १२ महिना र १७ महिना बितिसक्ता पनि सकेको छैनौँ। तर पनि हामी अन्तिम चरणमा छौँ। हामी २ जना अध्यक्ष दुई–चार घण्टा एक ठाउँ बस्न पायौँ भने र सचिवालयको बैठक बसाउन सक्यौँ भने एकता प्रक्रिया पूरा हुन्छ अनि हामी गर्वको अनुभव गर्नेछौं।

उनले स्वर्गीय मदन भण्डारी र आफ्नो संयोग विचित्रको रहेको सुनाए।

‘मालेको गठन कोअर्डिनेसन कमिटीबाट भयो तर भण्डारी पुष्पलाल समूहबाट आएर सबैका स्वीकार्य नेता हुनुभयो’, दाहालको कथन थियो, ‘मदन कोअर्डिनेसनको सदस्य नभएर ओरिजिनल माले नभएजस्तै म पनि ओरिजनल माओवादी वा चौथो महाधिवेशन वा एकता केन्द्र होइन । म पनि पुष्पलाल समूहबाटै मोहनविक्रम सिंहको पार्टीमा जोडिएको हुँ।’

उनले पार्टीभित्र जनताको बहुदलीय जनवादलाई निषेध नगरिएको बताए।

प्रचण्डले भने, ‘जनताको बहुदलीय जनवाद र एक्काईसौँ शताब्दीको जनवाद दुबै सिद्धान्तलाई हामीले अभिलेखीकरण गरेका छौँ। दुबै सिद्धान्त हाम्रो पूँजी भएका छन्। अब हामी दुबै सिद्धान्तलाई परिवर्धित गर्दै लानेछौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell