PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

धनत्रयोदशीमा देखियो सुन बजारमा मानिसहरुको भिड



सुवास निरौला

धनत्रयोदशीमा देखियो सुन बजारमा मानिसहरुको भिड

काठमाडौं : असारदेखि सुनसान रहेको सुनचाँदी पसल शुक्रबार गुलजार देखिए। मूल्य निरन्तर उकालो लागेर कारोबारमा मन्दी आएको बजारमा धनत्रयोदशीका लागि सुनचाँदी किन्ने चलनकै कारण उपभोक्ताको भिड देखिएको हो।

धनत्रयोदशीको तिथी शुक्रबार र शनिबार परेकोले धातुका सामान किन्नेको भिड बढेको हो। धातुका सामग्री बढी पाउने राजधानीको न्यूरोडमा सबैभन्दा धेरै भिड छ। धनत्रयोदशीमा द्रब्य जोडेमा लक्ष्मी प्रसन्न हुने धार्मिक विश्वासका कारण सुनचाँदी पसलमा सर्वसाधारणको घुइँचो लागेको हो। कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात् धनत्रयोदशीमा द्रब्य जोड्नुलाई 'शुभ' मानिन्छ।

धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न धनतेरस (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ। यही जनविश्वासका कारण सुनचाँदी कारोबार राम्रो हुन्छ।

धनत्रयोदसीका लागि गच्छे अनुसारको काँशको भाडाकुँडा किन्छन्। परापूर्व कालदेखि चल्दै आएको मान्यतालाई पच्छ्याउँदै उनीहरुले धातुका सामान भित्र्याएका हुन्। समुन्द्र मन्थनका बेला निष्किएको अमृत धनवन्तरीले बोकेका थिए। त्यो अमृत थाप्नका लागि भाडाकुँडा लिएर जाने चलन चलेको धार्मिक मान्यता छ।

त्यसैका लागि अहिले पनि धनत्रयोदशीका दिन धातुका सामान किन्ने चलन छ। धनत्रयोदशीको पूजा साँझ सुर्यास्तबाट सुरु हुन्छ। यहि मौकामा काठमाडौंका सुन पसल बेहुलीझै सिङ्गारिएका छन्। विशाल बजार स्थित गणपति ज्वेलर्सलाई फुलले सजाइएको छ। त्यहाँ सुनका गरगहना किन्नेको भिड छ। पसलका संचालक शक्ति बेगानीले 'आज धातुका सामान खरिद गर्दा बर्षै भरि राम्रो हुन्छ भन्ने मान्यताका कारण भिड बढेको बताए।

काठमाडौं ज्वेलरी भेटिएकी धोबिघाटकी रीता कार्कीले झुम्का किन्ने योजना बनाएको सुनाइन्।

'धन्त्रयोदशी भएकोले आजै गहना किन्न लागेको हो', उनले भनिन्। बालकोटको पुनम महासेठले धातुको सामान खरिद गर्न सुनपसलमा आएको बताइन्। कीर्तिपुरका अनुप सुवेदीले श्रीमतीका लागि तिलहरी किनेको बताए। न्यूरोडमै भेटिएकी उर्मिला सुवेदीले लक्ष्मीको प्रतिमा खरीद गरेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell