PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जीव विज्ञान नपढेका यी युवा, जसले ‘ध्वाँसे चितुवा’लाई पुर्‍याए चर्चाको शिखरमा!



जीव विज्ञान नपढेका यी युवा, जसले ‘ध्वाँसे चितुवा’लाई पुर्‍याए चर्चाको शिखरमा!

  • राजु आचार्य -

वन्यजन्तु अनुसन्धानको क्षेत्रमा परिचित युवाको नाम हो जुगु, दोलखा निवासी - यादव घिमिरे । उनलाई ‘ध्वाँसे चितुवा’ समेत भनेर चिनिन्छ।  हालै उनको नेतृत्वमा तयार प्रस्तावना विश्वभर चर्चित बन्यो। ‘युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ का विज्ञ समूहले  मूल्याङ्कन गरेर  ‘पहाड तथा वन’ समूह अन्तर्गत  उत्कृष्ट ५ भित्र  परेको थियो ।

पब्लिक भोटिङ भयो र सबैभन्दा उत्कृष्ट पनि बन्यो। प्राप्त अनुदान रकम कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवाको लागि खर्च गरिने भएको छ।

केही वर्ष अघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा एउटा गोष्ठी भएको  थियो। त्यो गोष्ठी वन्यजन्तुको अनुसन्धान र संरक्षण सम्बन्धमा थियो। नेपालका सबै नाम चलेका विज्ञहरू थिएl अनुभवी पनि थिए र युवाहरू पनि। परिचय सुरु भयो।  सबैले आफ्नो बारेमा अरूलाई सकेसम्म थाहा नभएको कम्तीमा एउटा नयाँ कुरा भन्नु पर्ने थियो।

एउटा होचा कदका, झुस्स दाह्री पलाएका युवाले उठेर भने ‘मैले स्नातक भौतिक विज्ञानमा गरेको हुँ, सायद यो कुरा सबैलाई थाहा छैन होला’ तत्कालीन महानिर्देशक कृष्णप्रसाद आचार्यले उनको प्रशंसा गर्दै भनेका थिए ’भाइको पृष्ठभूमि थाहा पाएर खुसी लाग्छ, मानिसको दृढ इछ्या शक्ति भयो भने सबै कुरा सम्भव हुँदो रहेछ।’ आचार्य त्यसै प्रचार गर्ने खालका मध्ये थिएनन्। यादव घिमिरेको वन्यजन्तुप्रतिको लगाव ,विज्ञता र अनुभव  देखेर उनले सो प्रतिक्रिया जनाएका थिए।     

दुई  वर्षअघि तिनै घिमिरेले फेसबुकमा छोरा जन्मिएको समाचार पोस्ट गरे। प्रतिक्रियामा धेरैले ‘सानो ध्वाँसे चितुवा जन्मेको’ भनेर उल्लेख गरे। उनले फेसबुकमा आफ्नो नामै ‘यादव ध्वाँसे चितुवा घिमिरे’ भनेर राखेका छन्। नेपालमा कसैले यो प्रजातिमा काम गर्नु पर्‍यो भने सो प्रजाति भन्दा पहिला यिनको सम्झना गरिन्छ l ध्वाँसे चितुवा लगायत साना बिराला प्रजातिमा यिनी दक्खल राख्छन्। विशेषगरी स्तनधारी पहिचानमा यिनको विज्ञता राम्रो मानिन्छ।

यिनको नेतृत्वमा १८३ वर्षसम्म नदेखिएको सुनौलो बिरालो पूर्वी नेपालबाट अभिलेख गरिएको थियो। लामो समयपछि नेपालमा भेटिएको सिलु बिरालो र जङ्गली चौरीगाईको खोजी टोलीमा यिनको भूमिका थियो। अन्तर्राष्ट्रिय संरक्षण सङ्घमा समेत विज्ञको रूपमा आबद्ध यिनी युवाहरू माझ सक्रिय अनुसन्धानकर्मीको रूपमा समेत परिचित छन्।

स्नातक भौतिक शास्त्रमा गरे पछि निकै ठुलो वैज्ञानिक हुने सपना बोकेका उनले जागिर खोजे। नपाए पछि केही हप्ताको तालिम पछि नाटकतिर रुचि देखाए। भारतको सिक्किममा विद्यालय र बाल्यकाल बिताएका उनमा  ज्यान फालेर कलाकार हुने जोस चल्यो। उनी सडक नाटकमा जीवन्त अभिनय  गर्थे। घरकालाई सुर्ता हुने त भई हाल्यो ! छोराले जागिर खाला र सहयोग गर्ला भनेको त झन् चोक चोकमा गएर नौटङ्की पो देखाउन थाल्यो भनेर। उनले  भारतको चर्चित ‘नेशनल स्कुल अफ ड्रामा’ मा तालिम लिन निवेदन हाली सकेका थिए। लामो समयसम्म पत्रको जानकारी नआएपछि उनी पुर्खौली घर नेपाल तिर लागे र वातावरण व्यवस्थापनमा पढ्न थाले। उनी नेपाल आएर भक्तपुर धुन्छे पाखा बस्न थाले। नेपाल फर्केपछि  पूर्ण छात्रवृत्ति सहितको नाटकको तालिमको लागि बोलाइएको थियो। उनले भने चिठी आएको लामो समयसम्म चाल पनि पाएनन्।

वातावरण ब्यबस्थापन विषयमा स्नाकोत्तर गर्दा  घिमिरेले घरभित्रको प्रदूषण, इट्टा भट्टी, फोहर मैला आदि, के मा थेसिस गर्ने होला भनेर सोची रहेको बेला मुस्ताङमा मानव-चितुवा द्वन्द्वबारे अनुसन्धान गर्ने मौका पाए। सन् २००६ सालको त्यो दिन देखि उनले वन्यजन्तु छोडेका छैनन्।

पूर्वको संखुवासभा देखि पश्चिमको हुम्ला सम्म पुगे। एक दशक भन्दा लामो यो अवधिमा पूर्वमा जाँदा आँखा झिक्ने मान्छे भनेर झन्नै कुटिएनन्। हुम्ला जाँदा ठुलो हिउँमा ५ दिन थुनिदा मर्‍यो भनेर गाउँलेले आशा मरिसकेका थिए। यी दुख सँगै नयाँ ठाउँ र नयाँ विषयमा काम गर्ने मौका पनि पाए। उनले पाएको  मौकामा दिलोज्यान दिएर काम गरे l सफल पनि भए। 

अनुसन्धान, संरक्षण र तिनको लेखन सबैमा उत्तिकै दक्खल राख्छन्। वन्यजन्तुको काममा उनी अहिले सम्झिने नाम बनेका छन्। वन्यजन्तुमा लामो समय काम गरेपछि बल्ल अक्सफोर्ड विश्वविद्यालय पोस्ट ग्र्याजुएट गर्ने मौका पाए। उनले पछिल्लो समयमा वन्यजन्तु अनुसन्धान तथ्याङ्क विश्लेषणमा पनि उत्तिकै अनुभव बटुलेका छन्। विश्व भूगोल, सङ्गीत र खेलमा रुचि राख्छन्। उच्च स्मरण शक्तिका धनी घिमिरे काम गर्ने तर मिडियामा आउन् नचाहने मध्ये पर्छन्। उनी अहिले प्रकृतिका साथीहरू संस्थामा वन्यजन्तु संरक्षण निर्देशकको रूपमा काम गरिरहेका छन्। सफलताको शुभकामना यादव!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell