PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

डाक्टरीका विद्यार्थीलाई नेसनल मेडिकलमा यातना : जुलुस निकाल्यो भने ज्यान मार्ने धम्की



राधेश्याम पटेल

डाक्टरीका विद्यार्थीलाई नेसनल मेडिकलमा यातना : जुलुस निकाल्यो भने ज्यान मार्ने धम्की

वीरगंज : सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा बिहीवार निकालेको जुलुसलाई लिएर नेसनल मेडिकल कलेज वीरगंजको व्यवस्थापनले होस्टलमा बस्ने विद्यार्थीहरुलाई ज्यान मार्ने धम्की दिएको छ।

धम्कीका कारण विद्यार्थीहरु त्रसित अवस्थामा छन्। सरकारले एमबीबीएसका लागि साढे ४२ लाख शुल्क तोके पनि ६५ देखि ७० लाख रुपैयाँसम्म असुलिरहेको छ। त्यसैको विरोधमा उत्रेका १८ औं ब्याचका विद्यार्थीहरुलाई मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीकै अगाडि विद्यार्थीहरुलाई मानसिक 'टर्चर' दिएका हुन्। त्यसको जानकारी विद्यार्थीहरुले स्थानीय प्रहरीलाई गराइसकेका छन्।

व्यवस्थापन पक्षले वीरगंजका केही गुन्डा लगाएर होस्टलमा अराम गरिरहेका विद्यार्थीलाई राति ९ बजेदेखि धम्क्याएका थिए। व्यवस्थापनको त्यस्तो रवैयाको विरोध स्वरुप विद्यार्थीहरुले बिहीवार राति ११ बजे कलेजमा केही बेर धर्ना समेत दिएका थिए।

विद्यार्थीहरुबाट व्यवस्थापन पक्षले करिब ३०/४० जना गुन्डा लगाएर ज्यान मार्ने धम्की दिएको जानकारी आएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पुष्टि गरे।

उनले घटना बारे जानकारी पाएपछि प्रहरी परिचालन गर्न निर्देशन दिएको बताए। विद्यार्थीहरुलाई असुरक्षा महसुस हुन नदिने वातावरण मिलाउन व्यवस्थापन पक्षलाई पनि चेतावनी दिएको भट्टराईले जानकारी दिए।

घटना सम्बन्धमा प्रबन्ध निर्देशक बसरुद्दीन अंसारीले भने क्याम्पस प्रशासनले कुनै किसिमको हस्तक्षेप नगरेको जवाफ दिएका छन्। उनले कलेजमा अध्ययनरत सिनियर विद्यार्थीहरुबाट जुनियर विद्यार्थीहरुलाई सम्झाउने काम भएको र त्यसलाई धम्कीका रुपमा बुझ्न नहुने उनको भनाइ थियो। उनले क्याम्पसले कानुन अनुसार शुल्क लिइरहेको दावी गरे।

प्रबन्ध निर्देशक अंसारीले त्रिविको कार्यकारी र एकेडेमिक काउन्सिलबाट निर्णय आइनसकेको र निर्णय आएपछि सोही अनुसार काम गरिने बताए।

सरकारले २०७५ असोज २८ गते चिकित्सा क्षेत्र अन्तर्गत एमबीबीएस तहमा अध्ययनरत विद्यार्थीहरुका लागि उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको थियो। त्यसबाहेक कुनै पनि शीर्षकमा शुल्क उठाउन बन्देज लगाएको थियो।

तर, नेशनल मेडिकल कलेजले प्रति विद्यार्थी ६५ लाख सम्म लिने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन्। नेशनल मेडिकल कलेजले परीक्षा र रजिष्ट्रेसन शुल्क ३५ हजार, लाइब्रेरी शुल्क ३५ हजार, ल्याब शुल्क ३५ हजार, प्रमोसन शुल्क १ लाख २५ हजार, छात्रावास र खाजा–खानाको लागि १ लाख ७५ हजार, बिलम्ब शुल्क १६ हजार ८ सय तथा अन्य गरेर ४० हजार लिँदै आएको छ।

यसैबीच बिहीवार रातिको घटनासमेतलाई लिएर शुक्रवार पनि कलेजका विद्यार्थीहरुले पुनः वीरगंज प्रदर्शन गरेका छन्। उनीहरुले कलेजदेखि जुलुस निकालेर प्रजिअलाई भेटी घटना सम्बन्धमा जानकारी गराएका थिए। प्रजिअ भट्टराईले कानून विपरीत जाने जोसुकैलाई कारबाई गरिने र बढी शुल्क फिर्ता लगाउने आश्वासन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell