PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

'धनलक्ष्मी'को चित्र रङ्ग्याउन नथाकेकी चेतकुमारीको चिन्ता : पुर्ख्यौली पेशा नासिने नै भयो

'धनलक्ष्मी'को चित्र रङ्ग्याउन नथाकेकी चेतकुमारीको चिन्ता : पुर्ख्यौली पेशा नासिने नै भयो

सहयोग रञ्जित/पहिलोपोस्ट


करिब २५ वर्ष अघिको कुरा हो। भक्तपुरकी चेतकुमारी चित्रकार हरेक वर्ष तिहार सुरु हुनुभन्दा केही अघिदेखि काठमाडौं धाउँथिन्। किनमेलका लागि ठान्नुभयो भने, सोझै गलत। उनी झोलाभरी लक्ष्मीका तस्विर बोकेर आउँथिन्, आफ्नै हातले बनाएको।

ती लक्ष्मीका फोटोहरु वरपर राखेर आफू बीचमा थपक्क बस्थिन् - मरु सत्तल अर्थात् काष्ठमण्डप अगाडि। त्यो जमानामा अहिलेजस्तो भारत र चीनबाट आयातित लक्ष्मीको प्रिन्टेड तस्विरमा पूजा गरिँदैन थियो।

'पु' अर्थात् चित्रकारहरुले नेवारीमा थासा भनिने काठको ब्लकमा लक्ष्मीको आकृति छाप्थे। र, त्यसमा हातैले रङ भर्थे। निकै मेहनतपछि तयार हुने ती तस्विर लक्ष्मी पूजामा प्रयोग गरिन्थ्यो।

त्यसैले अरु दशैंको रमझममा रमाइरहेका बेला थासाबाट छापेर तस्विर बनाउने भक्तपुरका ८/१० घर चित्रकार परिवारलाई भने लक्ष्मीका चित्र बनाउन भ्याइनभ्याइ हुन्थ्यो।

तिनै परिवारमध्येकी एक हुन् चेतकुमारी।

+++

२०३१ सालमा पूर्ण चित्रकारसँग विवाह गरेर याछेँको एक घरमा भित्रिइन् चेतकुमारी। पूर्णको परिवारले नवदुर्गाको ख्वापा(मुकुन्डो) बनाउने गर्थ्यो। त्यस घरमा भित्रिनु अघि न त उनलाई रङको ज्ञान थियो न माटोको नै। उमेरले २१ वर्ष पुगेपछि चेतकुमारीले परिवारलाई सघाउने भइन्। श्रीमान् नवदुर्गाको ख्वापा बनाउने काममा नै व्यस्त हुन्थे। ससुरा बा, सासु आमा, दिदीहरुले तस्विर रंग्याउने गर्थे। उनीहरुले गरेको काम हेर्दै चेतकुमारीले पनि सिकिन्। पहिलोपटक ब्रस समाइन् र लक्ष्मीका तस्विर रङ्ग्याउन थालिन्।

'बुहारी भएर केही नगरी बस्न पनि मन लागेन। सक्दिन भन्न पनि मन लागेन। हेर्दै जाँदा सिक्दै गएँ', उनले सुनाइन्।

त्यस घरमा उनी भित्रिएको ४५ वर्ष बितिसक्यो। श्रीमती, बुहारी,आमाका रुपमा चेतकुमारीको जिम्मेवारी फेरिनेक्रम जारी रह्यो। तर, उनले 'भगवानको काम' भने निरन्तर गरि नै रहिन्।

समय फेरियो। 'हातैबाट बनाइने लक्ष्मीको तस्विर पनि हुन्छ र?' भन्ने जमात बढ्यो। भारतबाट आयातित लक्ष्मीको तस्विरले बजार कब्जा गर्‍यो। त्यसपछि चीनबाट पनि झिलिकमिलक तस्बिरहरु भित्रन थाले। समयसँगै चेतकुमारी पनि भक्तपुरको याछेँ स्थित आफ्नै घरमा सीमित भइन्। उनले रंगाउने तस्विरहरु पनि सीमित हुँदै गयो। पहिले काठमाडौं आएर हजारौं प्रति लक्ष्मीका तस्विर बेच्ने उनी हाल केही सय प्रति मात्र रङ्ग्याउँछिन्।

अब त हातैले लक्ष्मीको तस्विर बनाउने काम लोप हुने संघारमा छ।

+++

नेपालमा १६ लक्ष्मी पुज्ने प्रचलन छ। त्यस्तै नेपाल संवतको अन्तिम महिना कौलागाको अन्तिम दिन अर्थात् लक्ष्मीपूजामा भने धनलक्ष्मीको पूजा गर्ने प्रचलन रहेको बताउँछन् वरिष्ठ चित्रकार प्रेममान चित्रकार।

भारतबाट आयातित लक्ष्मीका चित्रहरु वैष्णव सम्प्रदायसँग मिल्छ। लक्ष्मी पूजामा भारतमा विष्णुकी अर्धाङ्गिनीका रुपमा लक्ष्मीको आराधना गर्छन्। तर, नेपालीहरुले पुज्ने लक्ष्मी विष्णुकी श्रीमती लक्ष्मी नभई धनलक्ष्मी भएको उनको दाबी छ।

पढ्नुस: भारतीय लक्ष्मीले विस्थापित गर्दैछ नेपालको मौलिक लक्ष्मी, के फरक हुन्छ दुई लक्ष्मीको चित्रमा ?

भारतमा बनेका लक्ष्मीका चित्रहरुमा गणेश, सरस्वती इत्यादि देउताका चित्रहरु पनि हुन्छन्, तर यता बनाइने चित्रहरुमा त्यस्तो हुँदैन। यहाँ धेरै पहिलेदेखि चित्रकारहरुले हातले रङ लगाएका धनलक्ष्मीको पूजा गर्ने चलन थियो। तर, भारतबाट सस्तो, रंगिन र इलेक्ट्रिक चित्रहरु भित्रिन सुरु भएसँगै चेतकुमारीहरुले बनाउँदै आएको नेपालको मौलिक चित्रकला लोप हुने खतरा बढ्दै गयो।

'उताबाट रंगिन तस्विरहरु छापेर नेपाल भित्रिन्छन्। मूल्य पनि कम हुन्छ। हातैले रङ्गाएर बनाउने तस्विरको मूल्य अलि बढी हुन्छ। बाहिरको जस्तो चित्र होइन नि यो। यो त हाम्रो मौलिक चित्र हो। तर, आधुनिकतासँगै यहाँ कलाको सम्मान हराउँदै गयो,' चेतकुमारीले भनिन्।

धनलक्ष्मीको दूतका रुपमा यसरी कोरिने चित्रमा कुवेर र सेतो ख्याक हुनैपर्छ। त्यस्तै, धनलक्ष्मीको बाहनका रुपमा कछुवा हुन्छ। धेरै जसो चित्रमा लाटोकोसेरोलाई लक्ष्मीको बाहनका रुपमा प्रस्तुत गरिएको हुन्छ। तर, त्यो गलत रहेको प्रेममानको तर्क छ। उनका अनुसार लक्ष्मीको बाहन कछुवा हो। कछुवा ढिलो हिँड्ने भएकाले त्यसमा सवार धनलक्ष्मीले जथाभावी धन खर्च गर्दिनन्। कछुवाले धन संचय गर्न सिकाउँछ।

चेतकुमारी पनि ख्याक, कछुवाबिना धनलक्ष्मीको तस्विर पूरा नहुने बताउँछिन्।

धनलक्ष्मी आकृति भएको तस्विरमाथि झुल राखिएको हुन्छ। झुलहरु कोठामा प्रयोग हुने र ढुकुटी पनि त्यहीँ रहने भएकाले लक्ष्मी पनि ढुकुटी संचय गर्न स्थानमा बस्ने देखाइएको हो। ख्याकले धनी महाराजहरु कहाँ गएर तर्साएर पैसा उठाएर लक्ष्मीलार्इ दिने विश्वास गरिन्छ भने कुबेरले धन संचय गर्ने।

त्यस्तै नेपालमा बन्ने लक्ष्मीको हातमा ज्वला न्हाय्कं (प्रकाश छर्ने ऐना) रसिन्ह: मू (सिन्दुर राख्ने बट्टा) हुन्छ। ज्वला न्हायकं पित्तल वा चाँदीबाट बनाइएको हुन्छ। यसको बीच भाग ऐनाजस्तो चम्किलो गरी बनाइएको हुन्छ। नेवार समुदायमा छोरीको विवाह गर्दा यो नभई हुँदैन।

यसरी धनलक्ष्मीको चित्र बनाउनु र पूजिनुको अर्थ, धन जथाभावी खेर नजाओस्, सम्हालेर संचय गर्न सकियोस् भन्ने हो।

+++

हराउँला त थासा कला ?

चेतकुमारी भन्छिन्, 'अब यो परम्परा किन्ने ग्राहकहरुमा निर्भर छ। उनीहरुले कहाँको सामान किन्छन् भन्नेमा भर हुने भयो। नेपालमा बनेको मौलिक तस्विर किन्ने हो भने सायद् यो परम्परा जिवित रहला। नत्र, पछि यो हराउँदै जानेछ।'

लक्ष्मीको तस्विर बनाउने आफ्नै प्रक्रिया हुन्छ। थासामा लक्ष्मीको आकृति छापेर त्यसमा रङ भरेर तयार पार्न घण्टौं लाग्छ। हातैले एउटा लक्ष्मीको तस्विर बनाउन १ घण्टा भन्दा बढी लाग्छ। धनलक्ष्मीको तस्विरसँगै उनी किजा पूजा (भाइटीका) मा प्रयोग हुने यमदूत र दिदीभाइको तस्विर समेत बनाउँछन्। जुन प्राय भक्तपुरमा प्रयोग हुन्छ।

पहिला मकै भुटेको हाँडी अथवा रोटी बनाउने तावा मुनि जम्ने मसिनो कालो ध्वाँसो निकालेर एक प्रकारको गममा मिसाएर पानीमा राखिन्थ्यो। पानी मुनि कसर जम्मा हुन्थ्यो र माथि राम्रो रङ आउथ्यो। त्यही कालो रङलाई थासामा छापेर लक्ष्मीको तस्विर छापिन्थ्यो।

पहिला चित्र रङ्ग्याउनका लागि विभिन्न रङ बनाउन फलफूल र जडिबुटीको प्रयोग गरिन्थ्यो। सिमीको पात, गोलभेडाको मुन्टोलाई कुटेर रस बनाइन्थ्यो। त्यसमा लसुन हालेर हरियो रङ बनाइन्थ्यो। पहेँलो रङ बनाउन बेसारको प्रयोग गरिन्थ्यो।

अहिले नवदुर्गाको ख्वापा बनाउन चित्रकार परिवारले पुरानै जडिबुटीदेखि सुनसम्म प्रयोग गर्छन्। तर, लक्ष्मी लगायतका चित्र बनाउन भने यस्ता रङको प्रयोग निकै कम भइसकेको छ।

चेतकुमारीका श्रीमान पूर्ण चित्रकार भन्छन्, 'मिहिनेत अनुसारको फल नै भएन। पहिला पो सबैलाई फुर्सद थियो। अहिले सबै व्यस्त। भारतबाट लक्ष्मीको तस्विर आउन थाले पछि पुर्ख्यौली पेशा त समाप्त हुने संघारमा नै पुग्यो।'

७४ वर्षीय पूर्ण चित्रकार भक्तपुरमा नवदुर्गाको मूर्ति बनाउने एक्ला मूर्तिकार हुन्। उनका माइला छोरा राजेशले उनलाई मूर्ति बनाउनमा सहयोग गर्छन्। तर, उनलाई छोरापछि यो पुर्ख्यौली सीप नै समाप्त हुने चिन्ता छ।

'२०३५ साल तिरको कुरा हो। रातदिन काम गरेर बाकसका बाकस लक्ष्मीको तस्विर बनाउँथ्यौं। काठमाडौंको वसन्तपुरमा गएर बेच्न जान्थ्यौं। ४/५ दिन त्यहाँ दिदीको घरमा बस्थ्यौं। मैले त्यही बेला ४० हजारसम्मको व्यापार गरेको थिएँ। लक्ष्मीको तस्विरको दुई रुपैयाँ पर्थ्यो। हजारौं बिक्री हुने तस्विर अहिले केही सय मात्रै बिक्री हुन्छ,' पूर्णले सुनाए।

पूर्णको परिवारसँग सयौं थासाहरु छन्। तिनीहरु ६० वर्षदेखि सय वर्ष पुराना हुन्। लक्ष्मी, विश्वकर्मा, दुर्गा, किजापूजा (भाइटीका), नागपूजा लगायतका चाँडका लागि हातैले थासाबाट कागजमा देवीदेवताहरुको आकृति बनाउँदै आइरहेका छन् उनीहरुले।

सय वर्ष पुरानो थासाले अहिले पनि काम चलिरहेको छ। केहीमा भने खिया लागिसक्यो। २५ वर्षको छँदा आफैले थासा बनाएको सम्झँदै पूर्ण भन्छन्, 'करिब ४० वर्ष अगाडि आफैँले बनाएको थासाले अहिले पनि काम गरिरहेको छ। केही कारणवस फेरि बनाउन परे जसोतसो सक्छु होला। तर, भविष्यमा यस्तो बन्ने छैन।'

चेतकुमारी भने भविष्यमा पुर्ख्यौली पेशालाई निरन्तरता दिन नसिकए पनि त्यसबारे ज्ञान भने आफ्ना नाति नातिनालाई दिनुपर्छ भन्ने पक्षमा छिन्। त्यसैले आफूले धनलक्ष्मीको चित्र बनाइरहँदा नातिलाई बोलाउँछिन् र रङ भर्न सहयोग माग्छिन्।

'भोलि गएर उनीहरुले योभन्दा राम्रो काम कमाई हुने गर्न सक्छन्। तर, उनीहरुले यो काम प्रति थोरै जाँगर देखाए, चाहिएको बेला गर्न सक्छन्। आफ्नो पुर्ख्यौली धन समाप्त हुँदैन। त्यसैले म छोराहरुलाई यसबारे भनिरहन्छु।'

तर, उनले भनेजस्तो नयाँ पुस्तालाई यो काम सिकाउन सजिलो छैन। बिहानै विद्यालय गएर बेलुकी घर फर्केपछि विद्यालयकै गृहकार्य गर्दैमा व्यस्त रहने पुस्ता हो उनले भविष्य खोजिरहेको। समयसँगै रुची पनि खासै छैन, उनीहरुमा।

'समय अनुसार चल्नुपर्छ। हामी पनि चलेकै छौं। तर, त्यसो भन्दैमा पुर्खाको विरासत नै छोड्नु भएन। धन सम्पत्ति चोरी होला तर हातको सीप चोरी हुँदैन। त्यसैले आफूले सकेसम्म यो काम गरिरहनेछु,' चेतकुमारी यसै भनेर मन बुझाउँछिन्।



ट्रेन्डिङ पोस्ट

Ncell