PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

ठोरीका किसानको गुनासो, ‘बारीभरी ढकमक्क फूल फुल्यो, तर किन्न कोही आएनन्’



राधेश्याम पटेल

ठोरीका किसानको गुनासो, ‘बारीभरी ढकमक्क फूल फुल्यो, तर किन्न कोही आएनन्’

वीरगन्ज : ठोरी जंगली जनावरले किसानलाई दुख दिने पर्साको गाउँपालिकाको रुपमा चिनिन्छ। खेतबारीमा लगाएको अन्नबालीमा हात्ती, घोडगदहा, बँदेललगायत वन्यजन्तु आएर नोक्सानी गर्ने गर्दा किसानहरु आजित हुँदै वैकल्पिक खेती तर्फ आकर्षित हुन थालेका छन्।

परम्परागत खेती छाडेर सयपत्रीको खेती थालेका ठोरी–३ बुद्धनगरका अरुण अधिकारीले आफ्नै फरक पहिचान बनाउन सफल भएका छन्। सञ्चार माध्यममा तिहार र चाडपर्वमा सयपत्री फूलको माग अत्यधिक रहेको र विदेशबाट फूल आयात गर्नु पर्ने पटकपटक सुनेपछि फूलखेती शुरु गरेको बताउँछन्, अधिकारी।

पछिल्लो समय अन्नबालीमा जंगली जनावरले दुःख दिने गरेकाले आफू फूल खेती र बेमौसमी काउली खेतीतर्फ अग्रसर भएको उनले बताए। अधिकारीले आफूले मात्र बैकल्पिक खेती लगाएका छैनन्, आफ्ना छिमेकीलाई समेत लगाउन प्रोत्साहित गरेका छन्।

असारमा सबै जना धान रोप्ने तयारी गरिरहँदा अधिकारी भने सयपत्री फूलको बीउ राख्न थाले। पहिलोपटक र कुनै किसिमको तालिम समेत नलिएकाले उनले प्रशस्त बीउ राखेको भएपनि गएको श्रावण मध्यतिर ४ कट्ठामा मात्र फुल रोपे भने अर्को १ कट्ठामा काउली खेती लगाए।

‘मैले सञ्चार माध्यममा सुनेर फूल खेती शुरु गरेको हुँ, बजारको चिन्ता छ, चार कट्ठामा फूल ढकमक्क फुलेको छ, तर अहिले सम्म फूल किन्न कोही आएका छैनन्’ उनले भने, ‘ठोरीमा सबै फूल बिक्री भएन भने वीरगन्जतर्फ लगेर बेच्न सोच्दै छु।’

उनले गाउँघरमा पाइने स्थानीय प्रजातिका सयपत्री नै रोपेका छन्। बीउ किन्न नपरेको तथा सिँचाइ समेत खासै गर्न नपर्ने भएकाले लागत कम रहेको अधिकारी बताउँछन्। उनले आफ्ना छिमेकी वीरबहादुर घलेलाई समेत फूल खेती गर्न उक्साए। अहिले घलेको २ कट्ठामा पनि मन नै लोभ्याउने गरी फूल फुलेका छन्। करीब ७५ प्रतिशत भन्दा बढी बोटमा फूल फुलेर उनी उत्साहीत भएका छन्।

पहिलो पटक फूल खेती गरेकोले कति आम्दानी हुने बारेमा हाल सम्म यकिन गर्न नसकेको र फुलको माला बनाएर वीरगन्ज, हेटौँडा, काठमाडौं, चितवनसम्म पनि बेच्ने तयारी गरिरहेको अधिकारीले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell