
इङलिस प्रिमियर लिगको गएराति भएको खेलमा चेल्सीले बर्नलीमाथि ४–२ को अन्तरले सहज जित निकालेको छ। चेल्सीको जितमा पुलिसिचले ह्याट्रिक गरे।
पहिलो हाफमा २–० ले अग्रता लिएको चेल्सीले दोस्रो हाफमा पनि २ गोल थप्यो। यता बर्नलीले भने खेलको अन्त्य तिर २ गोल फर्काएको थियो।
खेलको २१ औं र ४५ औं मिनेटमा पुलिसिचले गोल गर्दा पहिलो हाफमा चेल्सीले २–० को अवस्थामा पुगेको थियो। फेरि ५६ औं मिनेटमा ह्याट्रिक गर्दै पुलिसिचले चेल्सीलाई ३–० को सहज अवस्थामा पुर्याए। त्यसको २ मिनेट भित्रै विलियनले गोल थप्दा चेल्सी ४–० को अवस्थामा थियो।
यता बर्नलीका लागि रोड्रिगेजले ८६ औं मिनेटमा गोल फर्काएका थिए। फेरि त्यसको ३ मिनेट भित्रै म्याकनिलले पनि गोल गरे। तर, बर्नली खेलमा फर्कन भने सकेन।
त्यस्तै हिजै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि ३–० को जित निकाल्यो।
सिटीका लागि स्ट्रलिङले ४६ औं मिनेटमा खाता खोलेका थिए। त्यस्तै सिल्भाले ६५ औं मिनेटमा र गुन्डोगनले ७० औं मिनेटमा गोल गरे।