'हिरो सलुट गर'
तर हिरो मानिरहेको थिएन। उल्टै उसकै आवाजमा केही भनिरहेको थियो।
'मैले भनेको मान्दैन। उसको गुरुलाई नै खोज्छ। गुरु सँगै रमाउँछ।' केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जमा भेटिएका प्रहरी नायव निरीक्षक (सई) रवीन्द्र थापाले सुनाए।
रवीन्द्रले 'हिरो' कुनै व्यक्तिलाई सम्बोधन गरिरहेका थिएनन्। हिरो प्रहरीको तालिम प्राप्त कुकुर थियो। उनका ह्यान्डलर (कुकुरका गुरु) ले उनको नाम हिरो राखिदिएका थिए।
'बोलाउन सजिलो हुने र मनपर्ने नाम राख्ने गर्छौँ। त्यसैले यसको नाम हिरो राखेको हो।' सई थापाले सुनाए।
रवीन्द्र २०५३ जेठमा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। बर्दी लगाउँदा ठूलै सान हुन्छ के-के न हुन्छ जस्तो लागेको थियो। काँधमा फुली अनि हातमा बन्दुक बोकेर ड्युटीमा खट्दा संसार नै जिते जस्तो लाग्थ्यो। सई थापाको काँधमा दुई तारे फुली त छ। तर हातमा न बन्दुक छ न त डन्डा। जिम्मेवारी अर्कै आइलागेको छ।
दुई दशकदेखि उनी ह्यान्डलर बनेका छन्।
'तालिम सकेर निस्किएको थिएँ। दुई नम्बर गणमा 'डग डेक्स'मा मानिस छनोट हुने भयो। केही टेक्निकल प्रश्न सोधिए। मैले उत्तर दिए। त्यसपछि कुकुर शाखामा दरबन्दी भयो। प्राविधिकमा चाँडो प्रमोसन हुने लोभले पनि शाखामा आएँ।' थापाले दुई दशक अगाडिको घटना सुनाए।
हिरो उनीसँग केही घुलमिल हुँदै थियो। उनी बल दिएर हिरोलाई ट्रेनिङ गराइरहेका थिए।
'हेर्नु त यसको दाँत कति तिखो। छस्स छोएको रगत नै आयो।' औँलामा बगेको रगत देखाउँदै थापाले भने। कहिलेकाहीँ ट्रेनिङ गर्दा कुकुर नटेर्ने गर्दा रहेछन्।
थापाको बिहानदेखि बेलुकासम्मको समय कुकुरसँग बित्छ। त्यसैले त होला उनलाई छोराछोरीभन्दा कम माया कुकुरको हुँदैन। 'कुकुर मायालु जनावर हो। त्यसमा पनि सानैदेखि हुर्काउने, दैनिक ट्रेनिङ गराउनेदेखि खुवाउनेसम्मको काम गरिन्छ। छोराछोरी जतिकै माया लाग्छ। समय पनि धेरै यिनीहरू सँगै बिताइन्छ।' उनले भने।
नेपाल प्रहरीसँग ८५ वटा तालिमप्राप्त कुकुर छन्। केन्द्रीय तालिम केन्द्रमा मात्र ४५ वटा कुकुर छन्। ती कुकुरको तालिम तथा रेखदेखका लागि करिब ६० जना प्रहरी खटिएका छन्।
प्रत्येक कुकुरको लागि एक-एक जना ह्यान्डलर हुन्छन्। कुकरले आफ्नो ह्यान्डलरको आदेश र सङ्केत पनि त्यही ह्यान्डलरले मात्र बुझ्ने गर्छ। ह्यान्डलर बिदामा भए कुकुर उरुसँग तालिम गर्न त्यति रुचाउँदैन।
'कुनै कुकुर त हामी बिदामा भएको दिन खाना समेत नखाएर बस्ने गर्छन्। उसको ह्यान्डलरलाई एकदमै माया देखाउँछन्।' थापाले भने।
अपराधीको पदचाप पछ्याउँदै प्रहरी
पछिल्लो समय भएका आपराधिक गतिविधिमा अनुसन्धानका लागि कुकुरको माग बढी भइरहेको छ। मानिसहरू प्रहरीमा भन्दा प्रहरीको कुकुरको अनुसन्धानमा विश्वास गर्न थालेको केन्द्रीय कुकुर तालिम केन्द्रका डिएसपी डाक्टर रामचन्द्र सत्याल बताउँछन्।
'प्रत्येक वर्ष घटनामा कुकुरको प्रयोग बढ्दै गएको छ। कुकुरको अनुसन्धान सफल समेत भएका छन्।' डिएसपी सत्यालले भने।
अपराधको प्रकृति फेरिएसँगै प्रहरीले कुकुरलाई तालिम गराउने तरिका पनि फेरिरहेको छ। धेरै घटनामा प्रहरीले घटनास्थलबाट बरामद गरिएका सबुत प्रमाण सुँघाउन कुकुरलाई प्रयोग गर्छ। तर अचेल अपराधीले स्पष्ट देखिने सबुत कमै छोड्न थालेका छन्।
'अपराधको शैली फेरिएसँगै कुकुरको तालिममा पनि चुनौती थपिएको छ। तर हामीले पनि तालिमको तरिका फेरका छौँ।' डिएसपी सत्यालले भने।
नेपाल प्रहरीको अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन चार दिनसम्मको घटनामा अनुसन्धान गर्न कुकुरलाई तालिम दिइसकेको छ। करिब तीन वर्ष अगाडि बेलारुसबाट किनेर ल्याएको ब्लडहाउन्ड प्रजातिको कुकुरले ९६ घण्टासम्मको अनुसन्धान गर्ने क्षमता राख्छ। यसको एकदम तीक्ष्ण सुँघ्ने क्षमता हुन्छ।
'यो कुकुर ल्याएपछि हामीलाई अनुसन्धान गर्न धेरै सजिलो छ। हाम्रो कुकुर अपराधीभन्दा चार कदम अगाडि छन्।' डिएसपी सत्यालले भने।
ब्लडहाउन्ड प्रजातिको जोली नामक कुकुरले एउटा सफल अनुसन्धान समेत गरिसकेको छ।
सई थापा हिरोसँग खेलिरहेका थिए। एकैछिनमा उनका ह्यान्डलर आइपुगे। कुकुर झन्टिएर ह्यान्डलरतिर गयो। 'देख्नुभयो। कुकुरको माया। मैले उसलाई आक्रमण गरे भने मै माथि आउँछ यो हिरो।' सई थापाले सुनाए।