PahiloPost

Nov 21, 2019 | ५ मंसिर २०७६

हलिउडसम्म कसरी चम्कियो 'मेड इन नेपाल' तारा ओरियन्टल्स, नेपाली ब्राण्डको सफलताको अद्भुत कथा



भावना शर्मा

हलिउडसम्म कसरी चम्कियो 'मेड इन नेपाल' तारा ओरियन्टल्स, नेपाली ब्राण्डको सफलताको अद्भुत कथा

चकाचौंध मुम्बई। त्यही मुम्बईको मध्य सहरमा हुर्किएकी एक निडर केटी मृदुला (जोली) राजभण्डारी। बिहान साढे ६ बजेदेखि साढे दश बजेसम्म कलेज हुन्थ्यो कलेजबाट फर्किएपछि जोली पुग्थिन्, सिधै नरिमन पोइन्टको पाँचतारे होटेल ओबरोय।

१५ वर्षकै उमेरदेखि ओबरोय पुग्नु उनको दैनिकी बनिसकेको थियो। ओबरोयभित्रै जोलीका बुवा मथुरादास श्रेष्ठको ह्याण्डीक्राफ्ट पसल ‘नेपाली आर्टस्’ थियो। जोली पाँचतारे होटलको झिलिमिली हेर्दै हुर्किइन्। दुई बहिनी र एक भाइकी दिदी जोली सानैदेखि बुवालाई सघाउन पसल जान्थिन्। उनले त्यही पाँचतारे होटलबाट त्यहाँभन्दा धेरै माथि आकाशमा पाइलट बनेर उड्ने सपना देखिन्। तर बिपनामा विवाहको प्लेनले उनलाई मुम्बईबाट सिधै काठमाडौँ उतारिदियो।

बुवाको साथ लागेर ह्याण्डीक्राफ्टको सामान किन्न उनी धेरै पटक नेपाल आइसकेकी थिइन्। तर २४ वर्षअघि नेपाल उत्रिएको दिन अरू दिनजस्तो सामान्य थिएन। पसलका लागि बाबु छोरीले सामान किनमेल सके। भोलिपल्ट बिहानै मुम्बई उड्ने टिकट थियो। जोलीकी सानिमाले काठमाडौँमा बनाएको नयाँ घर हेरेर जान निम्तो गरिन्। सानिमालाई भेट्ने अनि नयाँ घर हेरेर फर्किने भन्दै बाबु छोरी त्यो साँझ त्यतैतिर अलमलिए।

त्यति नै बेला भाग्यले जोलीका लागि केही फरक लेखिसकेको थियो। सानिमाकै घरमा उनलाई एउटा केटोले सुटुक्क हेरे। त्यहीँ सानिमाले मुख फोरिन् ‘मेरा भान्जाबाबुलाई जोली एकदम मन पर्‍यो। अब यी दुईको कुरा मुम्बई फर्कनु अघि पक्का गरौँ।’

दुई परिवारबीचको पुरानो चिनाजानीले यो सम्बन्धलाई कसिदियो। मुम्बई फर्किँदा जोली इन्द्रचोकका रैथाने अनिन राजभण्डारीकी 'मंगेतर' भइसकेकी थिइन्।

‘हाइ-इन्ड’ ब्राण्डका हाइ प्रोफाइल क्लाइन्ट

लाजिम्पाटको तारा ओरियन्टल्समा क्लाइन्टहरुसँग व्यस्त जोली पुराना दिन सम्झिँदा नोस्टाल्जिक हुन्छिन्। मृदुलाभन्दा 'जोली' नामले बढी चिनिने उनी अन्तर्राष्ट्रिय बजारमा पस्मिनाको निर्यातमा पायोनियर ब्राण्ड तारा ओरियन्टल्सकी एक्जेक्युटिभ डाइरेक्टर हुन्। तारा ओरियन्टल्स ‘हाइ-इन्ड’ ब्राण्डको रूपमा स्थापित भैसकेको छ जहाँ चानचुने क्लाइन्टहरु पुग्दैनन्।

हिमानी शाह नियमित पुग्छिन्। जापान र कोरियाका प्रधानमन्त्री, भुटानकी मुमा बडामहारानी, हलिउडकी गायिका सेर अचानक स्टोरमा आइपुग्दाको क्षण उनका लागि 'थ्रिलिङ मोमेन्ट' हुन्। ‘हामी विज्ञापनमा कमै खर्च गर्छौँ। त्योभन्दा बढी त उत्पादनको गुणस्तरमा नै ध्यान दिएका छौँ। उनीहरू हाम्रो सामानको बारेमा सुनेकै भरमा सोध्दै खोज्दै यहाँसम्म आइपुगेका थिए। यसलाई नै म हाम्रो सफलता भन्न मन पराउँछु।’ जोलीले अनुभूति बाँडिन्। काठमाडौँमै मास क्लाइन्टको पहुँचमा नरहेको तारा ओरियन्टल्सले अन्तर्राष्ट्रिय स्तरमा यो ख्याति सानो प्रयासले आर्जन भएको भने होइन।

केही थान मेसिन लिएर सन् १९९७ मा श्रीमान् अनिनले साथीसँग मिलेर साथीकै ग्यारेजमा पस्मिना कारखाना खोलेका थिए। उनले यस्तो बेला पस्मिनामा हात हाले जति बेला पस्मिनाको बजार अस्थिर थियो। कार्पेटको निर्यात गर्दागर्दै उनले विदेशी क्लाइन्टको माग पूरा गर्न पस्मिनामा पनि काम सुरु गरेका थिए। तर साझेदारी धेरै टिकेन। साथीबाट अलग्गिएर उनीहरूले फेरि आफ्नै बलले पस्मिना व्यवसाय सुरु गरे। मेहनतले रङ्ग ल्याउन पाएकै थिएन सन् २००१ मा पस्मिनाको बजार पुरै 'क्रयास' भयो। सन् २००२ सम्म आइपुग्दा उनीहरुसँग स्टकमा १० हजार थान पस्मिनाको साथमा निराशा बाहेक केही बचेको थिएन।

दश हजार थान पस्मिनाको सल स्टोरमा थन्क्याएर श्रीमान् च्याउको व्यावसायिक खेतीमा लागे। श्रीमान् बिहान ६ बजे नै काठमाडौँबाट पनौतीमा रहेको च्याउ उत्पादन कारखाना पुग्थे र राती मात्रै घर फर्किन्थे। त्यो अनिनको ड्रिम प्रोजेक्ट थियो। उनी च्याउलाई अन्तर्राष्ट्रिय ब्राण्डसँग मिलेर निर्यात गर्ने योजनामा काम गर्दै थिए।

यता जोलीको निन्द्रा भने दश हजार थान पस्मिनाको सलमा अल्झिएको थियो।

जब जोली र अनिनको टिम बन्यो

दुई वर्षपछि च्याउमा अनिनको धैर्यता टुट्यो। उनले ‘ड्रिम प्रोजेक्ट’बाट हात झिके। जोली अनिनको च्याउ व्यवसायलाई ‘अर्लि भिजन’ मान्छिन्। जोलीले निराश अनिनलाई भनिन्, ‘अब यही थन्किएका पस्मिनामा केही नयाँ गरौँ।’

सानैदेखि आमाले गहनाको डिजाइन गरेको हेर्दै हुर्किएकी जोलीको दिमागमा आइडिया फुर्‍यो ‘हामी पनि यी थन्किएका सादा सलमा डिजाइन गरेर रङ्ग भरौँ’

जोलीले घरकै एउटा कोठामा फेरि अफिस सेटअप गरिन्। श्रीमान् श्रीमती मिलेर डिजाइनिङ थाले। परेपछि मान्छेले हरेक कुरा सिक्न थाल्दो रहेछ। अर्थशास्त्र पढेकी जोली र होटेल म्यानेजमेन्ट पढेका अनिनको विषयसँग डिजाइनिङ पटक्कै मेल खाने विषय थिएन। उनीहरूले थन्किएका पस्मिना सललाई खेर नफाल्न हर प्रयास गरे। टेक्निक र बुट्टाको डिजाइन सिक्नै अथक कोसिस पनि। आखिर समयभन्दा ठूलो शिक्षक अरू को होला, नभन्दै समय उनीहरूकै पक्षमा गयो।

पस्मिना व्यवसायमा अनिनको यो तेस्रो प्रयास थियो। यो प्रयासलाई सार्थक बनाउन जोली र अनिनको टिम बनेको थियो। त्यो टिमस्पिरिट अझै छ, आज उनीहरू एउटै भिजिटिङ कार्ड शेयर गर्छन्।

सन् २००६ मा हरिसिद्धिमा भाडाको जमिनबाट सुरु भएको पस्मिनाको पछिल्लो प्रोजेक्टले उनीहरूलाई २० भन्दा बढी टप अन्तर्राष्ट्रिय ब्राण्डसँगको साझेदार बनाइदिएको छ। हाल ठैबमा १ सय ७५ जना कामदारले सञ्चालन गरिरहेको कारखानाले सल मात्रै उत्पादन गर्दैन। यतिबेला हलिउडदेखि बलिउडसम्म, सेलिब्रेटीदेखि राजनेताको शरीरमा तारा ओरियण्टलका डिजाइन फेब्रिक परिसकेका छन्। 

जब प्रबलले भने 'दिस इज माई लास्ट ट्राइ'

अहिले विश्वको फेसन दुनियाँमा तहल्का मच्चाइरहेको एउटा ब्राण्ड छ, 'पिजी'। यो ब्राण्डका स्वेटर र कार्डिगनमा लेखिएको हुन्छ, ‘पिजी मेड इन नेपाल’ अनि यो तारा ओरियन्टल्सको ठैबस्थित कारखानामा बन्छ।

यो पिजी ब्राण्ड जोडिएको छ, विश्वप्रख्यात फेसन डिजाइनर, प्रबल गुरुङसँग। जोलीले यिनै प्रबल गुरुङसँग काम गर्न थालेको सात वर्ष भैसकेको छ।

प्रबलसँग जोलीको टिमअप यात्रा पनि रोचक छ। पिजी ब्राण्डमा पस्मिनाका स्वेटर डिजाइन गर्ने क्रममा प्रबलले आफ्नै देश नेपाल सम्झिए। नेपालका विभिन्न समूहसँग एप्रोच पनि गरे। तर प्रबलले खोजेजस्तो सामान कसैबाट पाउन सकेनन्। हार खाएका प्रबललाई कसैले तारा ओरियन्टलका बारेमा बताइदियो। जोलीसँगको भेटमा प्रबलले भने ‘दिस इज माई लास्ट ट्राइ।’

सात वर्षअघि प्रबलसँगको त्यो भेट सम्झेर मुस्काइन् जोली ‘हामीले सानो सानो स्याम्पल पठाउन थाल्यौँ। हामीले पठाएका स्याम्पलको क्वालिटी प्रबलले सोचेजस्तै पाए। अनि बिस्तारै स्वेटर, निटवेयर, ड्रेसहरु बनाएर पठाउन थाल्यौँ। उताबाट ग्रिन सिग्नल पाएपछि ठैबकै कारखानाले प्रबलको पिजी लेबल टाँसेर पस्मिनाका स्वेटर बुन्न थाल्यो जसलाई हलिउड सेलिब्रेटीहरु लाखौँ तिरेर लगाउँछन्।

तारा ओरियन्टल्स कसरी अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सक्यो?

जोलीको साधारण जवाफ छ ‘हामीले सधै गुणस्तरमा मात्रै जोड दियौँ।’

आइडिया बाहिर नजाओस् भनेर उनीहरूले सुरुदेखि नै धागो उत्पादनदेखि डिजाइन, बुनाइ, प्रिन्ट, डाइ, निट, इम्बोइडरी सबै आफ्नै कारखानाभित्रै गरे। क्वालिटी डिजाइनलाई ध्यानमा राखे र फरक फरक धागो कम्बाइन गरी ब्राण्डले मागे जस्तै क्वालिटीका उत्पादन गर्न थाले। त्यसै कारण अन्तर्राष्ट्रिय बजारले आफूलाई पत्याएको जोली बताउँछिन्।

तारा ओरियन्टल्सले अन्तर्राष्ट्रिय बजार हेरेर कन्टेम्पोररी डिजाइन बनाउने गर्छ। अब नेपालीपन भनेर पस्मिनामा ढाका प्रिन्ट गर्‍यो भने विदेशी बजारले कहाँ रुचाउँदो रहेछ र? अन्तर्राष्ट्रिय ब्राण्डसँग काम गर्दा आफूहरूले धेरै सिकेको जोलीको अनुभव छ। अहिले तारा ओरियन्टलसँग रायनरोश, रोशा, ह्यामस्टेर जस्ता चर्चित युरोपेली ब्राण्डले कपडा लिन्छन्। लाजिम्पाटस्थित आउटलेटबाट १० प्रतिशत मात्र पस्मिना स्थानीय बजारमा बिक्ने गर्छ।

‘ठमेलको बजारमा ५ सयमा पस्मिना पाइन्छ भन्दै यहाँ आउनेलाई कतिपटक सम्झाउनु पनि पर्छ हाम्रो उत्पादन भिस्कस वा पोलिस्टरबाट बन्दैन। ऊनबाट बन्दैन। हामी आफ्नै कारखानामा धागो कातेर शुद्ध पस्मिना उत्पादन गरी सामान उत्पादन गर्छौ र गुणस्तरीय सामाग्री महँगो पर्छ।

ऊन ब्लेन्ड छ भने हामी पस्मिना भनेर बेच्दैनौँ। मिसिएको छ भने जति प्रतिशत मिसिएको हो त्यो कम्पोजिसन नै लेखिन्छ। यति यति प्रतिशत मिसिएको छ भनेर लेबलमा नै राखिन्छ। गुणस्तरमा हामी कहिल्यै सम्झौता गर्दैनौँ जुन हाम्रा क्लाइन्टलाई राम्रोसँग थाहा छ। जोलीले भनिन् ‘हामी कहिल्यै टुरिस्ट ओरियन्टेड भएनौँ हामी सधै एक्सपोर्ट ओरियन्टेड हौँ।’

एक वर्षदेखि तारा ओरियन्टलले आफ्नै लेबल लगाएर कोरिया, चीन र भुटानमा पनि पस्मिनाका सामाग्री पठाइरहेको छ। ती देशबाट पनि राम्रो रेस्पोन्स पाइरहेको जोलीले बताइन्। ‘तारा ओरियन्टलकै ट्याग राखेर दिनु भन्छन् किनभने हामी फेक प्रोडक्ट बेच्दैनौँ, त्यसैले हाम्रो गुडविल छ। र यति कुरामा उनी ढुक्क छिन् ‘लङ रनमा सर्भाइभ गर्न फेक प्रडक्टले काम दिँदैन।’

भृकुटीमण्डपमा सेल्सगर्ल बन्दाका ती दिन

जोलीले जीवनमा धेरै उतार चढाव देखिन्। मुम्बईको भीडभाडबाट पहिलोपटक नेपाल आउँदा उनलाई काठमाडौँ सानो गाउँजस्तो लागेको थियो रे। न धेरै गाडी न बाटोघाटोको ज्ञान। न नेपाली भाषा नै राम्रोसँग जान्ने। मुम्बईमा बोल्ड र कन्फिडेन्ट केटी नेपालमा जहाँ जाँदा पनि श्रीमानको पछि लाग्नुपर्ने भयो। नेपाली बोल्न सिक्दा ताका उनी मान्छे र सरसामानलाई उस्तै मान राखेर कुरा गर्थिन्। उनी श्रीमानलाई भन्थिन् ‘हजुरको टेलिफोन आउनुभएको छ।’ अनि हाँस्दै श्रीमानले यसरी होइन भन्दै सुधारिदिन्थे। एक अर्कासँग सिक्ने सिकाउने क्रम अझै चलिरहेको छ।

उनीहरू कैयन् दिन नयाँ कन्सेप्ट र डिजाइनिङमा एकोहोरो हुन्छन्। अनि निर्णय पनि आपसी सल्लाहमै हुने गर्छ। जोली हरेक दिन पस्मिना सलसँग खेलिरहन्छिन्। दिमागमा पस्मिनाका नयाँ नयाँ डिजाइन खेलाइरहनुपर्छ त्यो उनको काम नै हो। तर उनको सम्झनामा एउटा पुरानो पस्मिनाको सल सधैँ छ जुन उनलाई श्रीमानले किनेर गिफ्ट गरेका थिए। २२ वर्षअघि भर्खर बिहे गरेर आउँदा श्रीमानले १२ हजार रुपैयाँ तिरेर किनिदिएको त्यो गिफ्ट पाउँदा उनलाई लागेको थियो ओहो कति महँगो।  आज उनी आफ्नो स्टोरमा ३० हजार रुपैयाँमाथिका पस्मिना सलहरु बेचिरहेकी छिन्।

दुई सन्तानकी आमा जोलीले पहिलो सन्तान जन्मिएपछि ३ वर्ष जति रातो बंगला स्कुल पढाइन्। फेरि उनलाई लाग्यो आफ्नै केही काम गर्नुपर्छ। नेपाली राम्रो नजान्नुले बाधा पार्छ भन्ने उनलाई लागेपछि उनले एउटा रिस्क उठाइन्। दोस्रो सन्तान जन्मिएको डेढ वर्षपछि उनले श्रीमानलाई बोल्ड डिसिजन सुनाइन्। ‘अब म भृकुटीमण्डपमा बसेर पस्मिना बेच्छु। मेरो क्षमता जाँच्न यसले मलाई सघाउँछ।’

नभन्दै अर्को दिनदेखि उनका श्रीमानले कारखानाबाट पस्मिना ल्याइदिए अनि उनी भृकुटी मण्डपको एक्जिभिसन हलमा पस्मिना बेच्न थालिन्। नेपाली भाषा सिक्नमात्र होइन ग्राहकलाई कन्भिन्स गर्न सक्ने रहेछु भन्ने कन्फिडेन्स बढाउनलाई पनि यसले उनलाई मद्दत गर्‍यो। कारखानामा कामदारसँग डिल गर्न भाषाले पुर्‍याउने अवरोधलाई उनले भृकुटीमण्डपमा बसेर सामान बेचेरै चिरिन्। भृकुटीमण्डपमा राखिएका पस्मिनाका सलमध्ये आधा जति उनी एक्लैले बेचिसक्ने उनी सम्झिन्छिन्। भृकुटीमण्डपमा सामान बेचेर सुरु भएको उनको कस्टमर डिलिङ आज हाइ-इन्ड ब्राण्डसम्म पुगेको छ।

न्युयोर्क र लण्डनमा आउटलेट खोल्ने सपना

सन् १९७५ मा बुवाले खोलेको नेपाल आर्ट्स मुम्बईको ओबरायमा बुवाको निधनपछि आज पनि चलिरहेको छ। जोलीका भाइले त्यसलाई अघि बढाइरहेका छन्। समयको चक्र यसैगरी चलिरहन्छ। उनलाई थाहा छ ‘समबडी निड टु कम ओभर।’

आफू रिटायर्ड भएपछि बिजनेसलाई अघि बढाउन उनले छोरीलाई ग्रुम गरिरहेकी छिन्।

न्यूयोर्कमा मार्केटिङ, ग्राफिक्स र एकाउन्टमा डिग्री लिएपछि अहिले छोरीले भर्खरै लण्डनमा फेसन पढ्न सुरु गरेकी छिन्। छोरा १० कक्षा पढ्दैछन्। १५ वर्षको टिनएजदेखि व्यापारसँग जोडेको साइनोले जोलीलाई हरेक पाइलामा सिर्जनशील बन्न सिकाइरहेको छ। ‘कामप्रति जति डेडिकेटेड भयो उति नै इन्स्पिरेसन पनि आउँछ।’

उनले बिर्सेकी छैनन् तेस्रोपटक पस्मिना कारखाना सुरु गर्दा उनका श्रीमानले भनेका थिए ‘काममा परिश्रम, निरन्तरता, लगाव र समय सबै दिनुपर्छ अनि थोरै लकले पनि साथ दिनुपर्छ।’ यी सबैको संयोग नै मान्नुपर्छ आज उनी त्यो स्थानमा छिन् जहाँ बसेर उनी लण्डन र न्यूयोर्कमा तारा ओरियन्टल्सको आउटलेट खोल्ने सपना देखिरहेकी छिन्।



हलिउडसम्म कसरी चम्कियो 'मेड इन नेपाल' तारा ओरियन्टल्स, नेपाली ब्राण्डको सफलताको अद्भुत कथा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

ncell