PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'झिलिमिली रातमा...' : तिहारको त्यो गीत जसले चिनायो अक्षतालाई



हेम रोकाहा

'झिलिमिली रातमा...' : तिहारको त्यो गीत जसले चिनायो अक्षतालाई

अक्षता अधिकारी प्राय स्कुलपछि कृपा दृश्य स्टुडियो धाउने गर्थिन्। त्यहाँ गायक अलमोडा राना उप्रेतीसँग भेट भइरहन्थ्यो। सन्दर्भ २०७१ सालको तिहारअघिको हो। अरुबेला झै उनी स्टुडियो पुगिन्। स्टुडियोमा कुरैकुरामा तिहारको गीत बनाउने भन्ने कुरा चल्यो। त्यतिबेला गायक नवाज अन्सारी, बिटबक्स गर्ने फ्रान्सका रोलन्ड कारबेटी मेकलिहरु पनि त्यहीँ थिए।

गीत बनाउने कुरा चले पनि गीत चाहिँ गर्भमै थियो। त्यसैले उनीहरुले शब्दविना नै रेकर्ड गरे - 'पापारा रापा पापारा रापा।'

पछि जव यसमा शब्द भरियो, गजब सुनियो। तिहारमा धेरै गुञ्जिने गीतमा सामेल पनि भयो। त्यही चर्चित गीत 'झिलिमिली रातमा...'को रचना गर्भबारे सुनाउँदैछिन् अक्षता।

'पहिले त गीतमा औंसीको रातमा भन्ने शब्द पनि थियो, तर पछि एकजनाले औंसीको रातमा देउसी भैलो खेलिँदैन भन्नुभयो अनि शब्द फेरेर झिलिमिली रातमा भनेर राख्यौं, ' अक्षताले भनिन्।

तिहार सुरु हुनुभन्दा दुई दिन अगाडि यो तिहार गीत रिलिज गरिएको थियो। गीतमा अक्षता र नवाजले स्वर दिए।

'गीत यति धेरै हिट होला भनेर सोचेकै थिइनँ,' अक्षता भन्छिन्, 'गीत गाउँदै गर्दा यो कस्तो होला भन्नेतिर ध्यानै गएको थिएन।'

सानै उमेरमा स्टुडियोमा गीत रेकर्ड गरे पनि पहिलो पटक स्टुडियो बाहिर भने उनले आफ्नै स्कुलमा सुनेकी रहिछिन् यो गीत। तिहारको अवसरमा स्कुलमा भएको कार्यक्रममा आफैँले गाएको गीत बज्दा उनी झसंग भइन्।

'तिहारभन्दा अगाडि स्कुलमा भएको प्रोग्राममा मेरै गीत बजाउनु भयो। आवाज सुनेपछि मात्रै पो थाहा पाएँ त्यो त मेरो गीत थियो,' उनले सुनाइन्।

त्यसपछिका दिनमा उनको नाम अक्षताबाट 'झिलिमिली रातमा' गाउने अक्षता भयो। उनको परिचयमा तिहारको यही गीत जोडियो।

'त्यसपछि मेरो आइडेन्टिटी नै त्यही गीत भयो,' उनले भनिन्।

तिहार गीत गाउनुअघि उनले कृपा अनप्लग्डमा 'कभर गीत' गाएकी थिइन्। त्यो गीतमा उनको आवाजलाई मानिसहरुले मन पराएपछि नै उनलाई तिहार गीत गाउन लगाइएको थियो। त्यसपछि उनलाई अन्य गीत गाउन पनि अफर आउन थाल्यो।

'पहिला आफ्नो गीत सुन्दा लाज लाग्थ्यो। घरमा भैली खेल्न आउँदा जसले पनि त्यही गीत गाउने। तर, अहिले चाहिँ खुशी लाग्छ,' उनले बालापन सम्झिइन् अनि भनिन्, 'अस्ति भर्खर मैले फेरि सुनेँ। त्यति बेला चाहिँ यो गीत साँच्चीकै खतरा रै'छ जस्तो भा'को थियो।'

गीत रिलिज हुँदा उनी १० कक्षामा पढ्थिन्। सानै उमेरमा लोकप्रियता कमाएकी अक्षतालाई त्यतिबेलै 'स्टेज प्रोग्राम' र 'लाइम शो'हरुमा बोलाउन थालिएको थियो।

कम बोल्ने स्वभावकी उनलाई खासमा लाइभ शोहरुमा परफर्म गर्न मन नपर्ने। तर, पनि दशैँ, तिहार, क्रिसमसका केही प्रोग्राममा गीत गाइन्।

सानैदेखिको उनको सपना नै गीत गाउने थियो। तर, उनले सानै उमेरमा पाएको अप्रत्यासित लोकप्रियता भने उनलाई नै चित्त बुझेको रहेनछ। बाटोमा हिँड्दा कसैले उनलाई चिनोस् भन्ने चाहन्नथिन्। त्यसैले अलि हच्किन पनि। एक किसिमले गीत गाउने रुचीबाट उनको मन भरियो।

'त्यसपछि मैले ब्रेक लिएँ। ब्रेक लिएर सिंगर बन्ने कुरा भुल्न खोजेँ,' उनले भनिन्।

उनलाई भेट्नेहरु निकै तारिफ गर्थे। तर, उनलाई मानिसहरुले गरेको तारिफ ढोंङ झै लाग्थ्यो। तारिफ गर्नेहरुले उनको अगाडिमात्र ठिक्क पारेको जस्तो लाग्थ्यो उनलाई।

'सिंगरलाई भेट्दा जसले पनि तिम्रो गीत राम्रो छ त भनिहाल्छ नि। मानिसहरुले मेरो गीतको तारिफ गर्दा पनि मेरो अगाडि राम्रो बन्न मात्रै गरेको हो जस्तो लाग्थ्यो,' उनले भनिन्।

तर, अहिले भेट्दा कसैले 'राम्रो छ है' भन्यो भने पत्याउँछिन्।

अक्षताले दुई वर्षको हुँदादेखि लयमा गुनगुनाउन थालेकी हुन् अरु साना नानीहरुले जस्तै। नर्सरीका राइम्सहरु सुन्ने अनि गाउने उनलाई स्कुलमा पनि गाउन प्रेरित गर्थे।

गायनमा उनकी आमाको पनि निकै सपोर्ट। उनलाई सकेसम्म धेरै गीत रेकर्ड गर्ने सल्लाह पनि दिन्छिन् उनी।

'मामुले स्वर राम्रो छ, त्यसलाई रेकर्ड गरेर राख्नुपर्छ भन्नुहुन्छ। सकेसम्म धेरै गीतहरु गाऊ भन्नु हुन्छ। बाबाले आफ्नो इमेजलाई उचाइमा पुर्‍याऊ भन्नुहुन्छ,' उनले सुनाइन्।

अक्षतालाई गायनमा लाग्न उनका बुवाआमाको साथमात्र होइन एक किसिमको दबाब पनि रह्यो। एसएलसीपछि उनको व्यक्तिगत चाहना विज्ञान विषय पढ्ने थियो। तर, उनको क्षमतालाई चिनेका उनका बुवाले भने उनलाई म्युजिक नै पढ्नुपर्ने सल्लाह दिए।

'मैले घरमा साइन्स पढ्छु भनेको थिएँ। तर बाबाले म्युजिक पढ् भन्नु भयो,' त्यतिखेरको अवस्थालाई उनले सम्झिइन्, 'साथीहरुले घरमा आर्टस् पढ्छु भन्दा बुवाआमाले होइन साइन्स पढ् भन्नुहुन्छ तर मेरो चाहिँ त्यस्को ठीक उल्टो। साइन्स पढ्न नपाउँदा रोएँ पनि।'

अहिले सम्झँदा भने म्युजिक पढेर राम्रै भयो भन्ने लाग्छ उनलाई।

उनलाई गीत गाउनमात्र होइन, लेख्न पनि मन लाग्छ र लेख्छिन् पनि। तर, उनलाई आफूले लेखेका गीत सार्वजनिक गर्न भने डर लाग्ने जसरी गीत गाएर चिनिन् नचाहने बानी। आफूले लेखेको गीतमा व्यक्त हुने भावनाहरुलाई मानिसहरुले कसरी लेलान् भन्ने पनि लाग्थ्यो।

'आफ्नो आर्ट इन्टिमेट हुन्छ। आफ्नो फिलिङहरु हुन्छन् गीतमा, बाहिरी संसारलाई देखाउन अलिकति भल्नेरेबल खालको हुन्छ। पहिला चाहिँ आफ्नो गीत अपलोड गर्दिनँ जस्तो लाग्थ्यो तर अब चाहिँ गर्छु,' उनी कमिटेड सुनिइन्।

संगीतबाट ब्रेक लिएका बेला उनी अध्यात्मतिर खिचिइन्। त्यसले संगीतलाई बुझ्न झन् सघायो उनलाई। त्यसपछि त गीत सुन्दा ध्यान गरे झै अनुभूति हुन थालेको छ उनमा।

'म त्यतिबेला अध्यात्ममा लाग्नुअघि सबै कुरा सिरियस लिने अनि केही नराम्रो भयो भने मन दुख्ने हुन्थ्यो। अहिले चाहिँ नराम्रो भए पनि कमसेकम केही कुरा त सिकियो जस्तो लाग्छ,' उनले भनिन्, 'त्यसैले फेरि संगीत क्षेत्रमा फर्किन मन लाग्यो। हेरौं, मानिसहरुलाई मन पर्न पनि सक्छ। नपरे पनि फेरि एउटा अनुभव त हुन्छ।'

गायनमा अभ्यस्त बन्दै गएकी उनी अब म्युजिकलाई नै करियर बनाउने योजनामा छिन्। नयाँ गीत छिट्टै रिलिज हुने उनले बताइन्। हजुरबुवा क्षेत्रप्रताप अधिकारीले लेखेको गीतलाई गाएकी छिन् उनले जसमा अल्मोडाले संगीत भरेका छन्। गीतमा उनका बुवा अमनप्रताप अधिकारीले पनि आवाज दिएका छन्। अर्थात् तीन पुस्ते नै अटाएका छन् एउटा गीतमा।

उनले पाँच वर्षअघि गाएको गीत 'झिलिमिली रातमा...' अहिले पनि उत्तिकै लोकप्रिय छ। देउसे र भैलिनीहरु यही गीत गाउँछन्। बजाउँछन् र त्यसमै झुम्दै नाच्छन्।

देउसी भैलोका शब्द र संगीतमा नयाँ शैलीको फ्युजनले गीतलाई चर्चित बनायो।

'झिलिमिली रातमा...'मा र्‍यापमात्र मिसिएको छैन, किबोर्डदेखि रेग्गे बिटको गिटार अनि बिटबक्स र सारंगी मादलका तालसमेत अटाएको छ। त्यसैको असर हो, बालबालिका होस् या युवा सबै तानिहाल्छ। संगीतसँगै अक्षताको 'रिफ्रेसिङ' आवाजलाई धेरैले रुचाए। तिहारको गीतले उकासेको उनको संगीत यात्रा अझै उचाईमा पुगोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell