दाजुभाइको र दिदीबहिनीको भेटघाटमात्र हैन सद्भाव बढाउने तिहारले जनावरलाई प्रेम गर्नुपर्छ भन्ने पाठ पनि सिकाउँछ। त्यसो त देशमा गणतन्त्र आएको पनि दशक नाघिसक्यो। तर, पनि तिहारमा बली राजाले पठाएको भन्दै देउसी भैलो टोली धम्कीको शैलीमा भट्याउन छाडेका हैनन!
तर, जब देउसी र भैलो आउँछ। कुरा रमाइलै रमाइलो आउँछ। एक दुई सेर भट्याएपछि देउसी भैलो टोलीको घुर्की सुरु हुन्छ। यहीबाट देउसी भैलोको रमाइलो प्रारम्भ हुन्छ।
ए यहाँ मात्र होइन–देउसिरे
ए १४ अञ्चल–देउसिरे
ए ७५ जिल्ला–देउसिरे
ए दिने भए छिटो देउ–देउसिरे
ए नदिने भए बिदा देउ–देउसिरे
यस्तो घुर्की लगाउनेहरुले एउटा फ्याक्ट पनि चेक पनि गर्न नसक्ने रहेछन्। देश संघीय संरचनामा गएर ७७ जिल्ला भइसक्यो। सात प्रदेशमा विभाजन भइसक्यो। तर धम्कीका भाषा घुसाउने देउसी भट्याराले यसको अपडेट किन नगरेको?
जब घरमुलीको चालचुल केही हुँदैन। तब अर्को घुर्की शुरु हुन्छ देउसीको-
ए घोडा बाँध्ने तबेला–देउसिरे
ए हामीलाई भयो अबेला–देउसिरे
ए तरकारी खाने घिरौला–देउसिरे
ए कति दिन्छ हेरौला–देउसिरे
ए अखुम पखुम–देउसिरे
ए सेलरोटी चाखुम–देउसिरे
देउसी र भैलो तिहारको रमाइलो सांगीतिक प्रस्तुति हो। यसलाई सांगीतिक खेल पनि भनिन्छ। के गाउँ के शहर यसलाई सबैले अँगालेका छन्। विशेषगरी हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले अन्य धर्मावलम्बीलाई पनि जोडेको छ।
समूदायको हित र कोष स्थापना होस् वा साथीभाईको सम्बन्धलाई प्रगाढ बनाउन होस् देउसीभैलो स्थापित माध्यम बनेको छ। यद्यपि, देउसीमा विभिन्न किसिमका टुक्कामा हतारोपन देखिन्छ।
यी टुक्काहरुबाट प्रस्ट हुन्छ देउसीभैलो समूह कति हतारमा हुन्छन्। देउसी भैलो समूहलाई धेरैभन्दा धेरै घरमा पुगेर धेरैभन्दा धेरै सिदा बटुल्नु छ।
बली राजाले पठाएको भन्दै निहुँ खोज्ने उही पाराले निरंकुशतालाई निरन्तरता दिनु नितान्त नीति नियम विपरीत नै मान्नुपर्ने हो। तर, कति दिन्छ हेरौला भन्दै धम्क्याने देउसीलाई खुरुखुरु दाम दान गर्नुपर्छ।
अरुको नाम लिएर ठग्ने प्रवृत्ति चलिआएकै कुरा हो। यहाँ पनि बली राजाको नाम लिएर टोल सुधारदेखि समाज विकाससम्मको नाममा देउसी भट्याइन्छ। दाम कुम्ल्याइन्छ। कतिले समाजसेवा गर्छन्। कतिले आफ्नै सेवा गर्छन्।
जब घरमुलीले सिदा तयार गरी देउसी टोली अघि राख्दिन्छन्।
ए यति जाबो पैसा–देउसिरे
ए टोक्नु कि बोक्नु–देउसिरे
ए लाजै मर्नु–देउसिरे
भन्दै उफ्रिन्छन् टोली।
घरमुलीको इज्जतैमाथि धब्बा लाग्ने गरी उफ्रेपछि के गर्ने? घरमुली अक्क न बक्क। देउसी टोलीले अलिकति जस दिने पाराले भट्याए त अझ दाम झर्थ्यो नि। यति जाबो पैसा भनेर घरमुलीको पारो तताउने काम शुरु भइहाल्छ। पारो तातेर पनि काम छैन। किन भने अड्बाङ्गे यस्तो टोलीलाई छिटो बिदा गराउनु नै निको सोच्छन् अनि अलिकति थपथप गरेर पठाइहाल्छन्।
जब सिदा बटुल्छ। तब देउसीका आशीर्वाद वर्षान्छ
ए यो साल आउँदा ए टिनको छानो
एक अर्को साल आउँदा ए सुनैको होओस्
ए यो साल आउँदा काठैको ढोका
ए अर्को साल आउँदा ए सुनैको होओस्
लगातार देउसीको आशीर्वादले पनि टिनको छानो सुनमा परिवर्तन नभएपछि घरमुलीले के पत्याउनु यस्ता कुरा? त्यसैले हतारहतार देउसी टोलीलाई लखेट्न नै उपयुक्त उपाय हो।
जस्तो हामी चाँडोचाँडो सरकार परिवर्तन भएको हेर्न चाहन्छौ नि। जुनै प्रधानमन्त्री र मन्त्री पनि यी देउसीका जस्तै कुरा गर्छन्। सुन्ने कुरा गर्छन्। तर, हुने कुरा गर्दैनन्।
बलीलाई ब्लड मनी?
किंवदन्तीहरुमा बली राजालाई दानी राजाका रुपमा उभ्याइएको छ। बलीदानी थिए धनी थिए भने उनले किन माग्न पठाए? अर्को कुरा भगवान विष्णुका कारण बलीले सबै राज्य गुमाए।
गुमाएका राज्य पाउन हाल चर्चामा रहेको 'ब्लडमनी' जस्तै चन्दा उठाउन पो उनले पठाएका हुन् कि? चन्दा संकलन गरेर आफूलाई पातालबाट उद्धार गर भनेर सबैलाई अनुरोध पो गरेको हो कि? यी कुरा कही कतै पनि उल्लेख गरिएको छैन।
दुर्गेशको पनि धम्की
चल्तीकै टुक्कालाई टाकटुक जोडेर दुर्गेश थापाले हालै ह्याप्पी तिहार गीत सार्वजनिक गरेका छन्।
उनले यस गीतमा 'डन आयो डन। जा मुला भन। राजा हो राजा। बजाइदिन्छ बाजा' भनेर घरमुलीलाई धम्की थपेका छन्।
ए छानामाथि फर्सी
ए घरबेटी तर्सी
भनेर यस गीतमा घरभेटीलाई तर्साउन खोजिएको छ।
चन्दा माग्दा धम्की दिने फिरौती माग्दा धम्की दिनेहरु पक्राउ पर्दै आएको हामीले पढ्दै, सुन्दै र देख्दै आएका हौ। तर, चाडबाड संस्कृतिलाई नै बिथोल्ने गरी धम्की दिनेहरु न त जेल न त नेल। त्यसैले यति त भन्नैपर्यो - संस्कृतिलाई हतियार बनाएर धम्क्याउनेलाई धारेहात।