हरेक वर्ष तिहारआउनु अघि भ्याइ नभ्याइ हुन्छ अञ्जली मास्केलाई। ताहचलकी अञ्जलीलाई भाइ मसला, माला लगायत सामान जोर जाम गर्दै हप्तौ बित्छ। किनकि उनका भाइ सीमित छैनन्। उनको भाइटीका सामान्य हुँदैन।
अञ्जलीले सामुहिक भाइटीका लगाउँछिन्। २२ वर्षअघि सुरु गरेकी हुन् उनले यसरी टीका लगाउन। त्यसयता एक मात्र दाइकी प्यारी बहिनी सयौं दाजुभाइकी साझा दिदी बनिन्। दिदीबहिनी नभएका दाजु भाइलाई टीका लगाउन थालेसँगै उनको हरेक वर्ष व्यस्तता बढ्दो छ। उमेरले ७० कटिन्। तर, तिहारसँगै उनको जोस चुलिन्छ। उनी उत्तिकै फूर्तिली र हसिली लाग्छिन्।
चाड पर्वसँगै बढ्ने व्यस्तताले पनि उनलाई गलाउँदैन। त्यसैले यसपटकको लागि पनि टीकाका लागि पाल हाल्ने, ठाउँ मिलाउने काममा लागि सकिन्।
भूकम्प अघिसम्म काष्ठमण्डपमा बसेर सयौं दाजुभाइलाई टीका लगाइ दिन्थिन्। २०७२ सालको भूकम्पले काष्ठमण्डप ढलायो। उनको टीकाको थलो ढल्यो। त्यसैले काष्ठमण्डप बाहिरको मन्दिर र डबलीमा पाल हालेर भाइटीका लगाइदिन थालेकी छिन्।
कसरी आयो त सामूहिक भाइटीकाको योजना?
भाइटीकाको दिन हरेक बिहान गोरखनाथ मन्दिर पुग्थिन्। त्यहाँ काम गर्ने प्राय मानिस भाइ टिकाका दिन पनि काममा व्यस्त। प्राय सबैको निधार खाली। त्यस दृश्यले उनको मनमा पीडा वोध भयो। र, त्यसपछि उनले निर्णय गरिन् सामूहिक भाइटीका आयोजना गर्ने। उनको निर्णयमा साथ रह्यो परिवारको पनि।
२२ वर्षअघिको उक्त निर्णयमा परिवारको साथ र खर्चमा साथ पनि निरन्तर चल्दै आएको छ।
यसपाली दुईदिन भाइटीका
हरेक वर्षझै यस वर्ष पनि अञ्जली दिदीबाट भाइटिका थाप्न दाजुभाइहरु मरु पुग्नेछन्। तिहार शुरु भएसँगै उनी त्यही विशेष दिनको तयारीमा लागिरहेकी थिइन्। अहिले भाइटीकाको सामानहरुको बन्दोवस्त गर्ने काम लगभग सकिएको छ।
यसवर्ष अञ्जलीले दुई दिन भाइटीका लगाउने तयारी गरिरहेका छन्। नेवार समुदायका दाजुभाइका लागि कात्तिक १३ गते र अन्य समुदायका लागि कात्तिक १२ गते। त्यसैले यी दुबै दिन टीका लगाउने निर्णय गरेकी हुन् उनले।
भनिन्,’दुई दिन टीका लगाइदिने भएपछि सामान पनि धेरै चाहियो, खट्ने समय पनि बढी चाहियो।‘
गतवर्ष उनले करिब १५० जनालाई टीका लगाइदिएकी थिइन्। यसपटक त्यो संख्या बढ्ने करिब निश्चित छ। कतिपय अञ्जली दिदीसँग टिका लगाउन काष्ठमण्डप नै पुग्छन् भने उनको घरमै पुगेर टिका लगाउनेहरु पनि छन्। हरेक वर्ष भाइटीकाको लागि १८० देखि २०८ वटा भाइ मसला, सेलरोटी, जजंका लगायतका समपुर्ण सामाग्री तयार पार्ने गरेकी छिन्।
‘मिठाइ फलफूल छिट्टै किन्दा बिग्रने भएकोले ढिलै किन्छु।’ उनी भन्छिन् ‘त्यसमा कुहिने सामान राख्नु भएन। सेल रोटीहरुदेखि मिठाइ कुनै घरमा बनाउदिन्। घरको पुजाको लागि मात्र हो घरमै बनाउने। धेरै चाहिने भएकोले भाइटीकाको लागि चाहि बाहिरबाट नै सेलरोटी ल्याँउछु।’
टीका लगाउने मान्छे धेरै नै हुँदा भाइ मसला नपुगेको खण्डमा उनी नजिकैको पसलबाट आफूले भाइ मसला लिने गरेको बताँउछिन्। टीका लगाउन आउने यति जनानै हुन्छन् भन्ने हुँदैन। त्यसैले आफूले तयार गरेको सामान अपुग भए उनी सँगै रहेको पसलहरुबाट सामान लिन्छिन्।
काष्ठमण्डप मखमली र सयपत्री मालाको हब थियो। त्यसैले पनि उनलाई सजिलो हुन्थ्यो। आफूले निश्चित गरेको भन्दा धेरै दाजुभाइ आउन सक्ने हुँदा उनी त्यसप्रतिपनि सतर्क छिन्।सगुन बाहेक मिठाइ र सेल रोटीहरुअलि बढी नै ल्याउछिन्।
‘भाइमसला पुगेन भने त्यँहा जे भेट्यो त्यहि किनेर भएपनि टिका लगाइदिने गरेको छु। तिहारमा सबैभन्दा महत्वपुर्ण कुरा भनेको त टीका नै त हो नि। सकेसम्म त जति हामीले लगेको पुगिहाल्छ’, पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, 'भूकम्प आएको १ साल भने भाइ मसला अलि नपुग भएको थियो त्यसपछि चाहि नपुगेको रेकर्ड कमै छ।’
अञ्जली दिदी योपटक पनि सबेरै उठेर मण्डपमा देखिन काष्ठमण्डप जाने योजनामा छिन्। अनि त्यसपछि घरको पूजा। घरको भाइटीका सकेर मण्डप पुग्छिन् सामुहिक भाइटीकाका लागि। सामूहिक टीकाको काम चाहिं १ बजेदेखिसुरु हुन्छ।
तिहारमा कसैको पनि निधार खाली नहोस् भनेर आफू कसैको दिदी त कसैको बहिनी बनेर टीका लगाएको बताउँछिन् उनी। सयौं दाइभाइहरुलाई टीका लिएवापत उनले पाउने भनेको सन्तुष्टी नै हो। किनकि भाइटीका लगाएपछि दक्षिणा वा कुनै पनि किसिमको उपहार लिने गरेकी छैनन्। भाइटीकालाई उनी दक्षिणा आदान प्रदानको पर्वको नभइ प्रेम र स्नेहको पर्व मान्छिन्।
'उपहार नै ठुलो कुरा होइन। दाजुभाइ आएर टिका लगाउनु भयो भने त्यो नै मेरो लागि सबैभन्दा ठुलो दक्षिणा हुन्छ’, उनी आफ्नो कुरा राख्छिन्।
२०७२ मा भूकम्प जाँदा उनी बेलायतमा थिइन्। छोरा बुहारीसँग। नेपालमा भूकम्प गएको खबर सुनिन्। अत्यास लाग्यो। झन् काष्ठमण्डप नै ढल्यो भन्दा उनलाई सहन गाह्रो पर्यो। सामूहिक टीका लगाउँदै आएको त्यस ठाउँसँग भावनात्मक रुपमा जोडिएकाले। त्यसैले खबर सुनेको १५ दिनपछि उनी नेपाल आइन्। यहाँ आएपछि उनी सरासर पुगेको भनेकै भत्किएको काष्ठमण्डप हेर्न।
‘काष्ठमण्डप नै ढल्यो भनेपछि मलाई कस्तो भयो होला। त्यो क्षणहरु त अहिलेसम्म सम्झिदा आज पनि दु:ख लाग्छ। मेरो बुवा बित्नु हुँदा पनि त्यति रोएको थिइँन जति काष्ठमण्डप ढल्दा रोएँ। मैले प्रेम गरेको ठाँउ भत्किदा मलाई ठूलो मानसिक समस्या पर्यो नि।’
तर, काष्ठमण्डप नरहेपनि आफ्नो टीका कार्यक्रम रहनेमा उनी ढुक्क थिइन्।
भाइटीका मनोरञ्जनको लागि मात्रै होइन भन्ने उनको बुझाइ छ।‘साँच्चै दिदी, बहिनी मान्नेहरु आउनु भयो। त्यस्तो बिपतबाट बचेको वर्षपनि मैले बनाएको मसला खेर गएन। टीका सफलतापूर्वक बित्यो’, उनले सुनाइन्।
भूकम्प गएको दुई वर्षसम्म उनले त्यहीँ पाल टाँगेर भाइटीका गरिन्। तेस्रो वर्षमा भने काष्ठमण्डप पुनर्निमाणको लागि उत्खननको काम भयो। त्यहाँ टीका लगाउन नमिल्ने भयो। त्यसयता उनले काष्ठमण्डपको छेउमा रहेको मन्दिरमा टीका लगाउँदै आएकी हुन्।
सामूहिक भाइटीका साथै सामूहिक व्रतबन्ध पनि गराउँदै आएकी छिन अञ्जलीले। देशभरबाट हरेक उमेर, जात, वर्गका मानिस आउँछन्। उमेरले ५ वर्ष देखि १०० वर्षसम्मकालाई टीका लगाइ दिएकी छिन्। उनीसँग झलनाथ खनालदेखि नविनराज जोशीसम्मले तिहारमा टिका लगाउन भ्याएका छन्।
बुढ्यौलीले छुँदै गएपनि शरीरमा हिम्मत भएसम्म निरन्तर भाइटीका लगाइदिने उनी बताँउछिन्। ‘संघ संस्थाबाट काम गरेको भए भन्न सकिदैन्थ्यो तर हाम्रो आफ्नै तरिकाले आफ्नै परिवारबाट गरेको काम भएकोले निरन्तर भाइटीका लागाइदिन्छु। ज्यानले दिएसम्म सकुनजेलसम्म दाजुभाइलाई भाइटिका लगाइदिन्छु। मैले आफ्नै ठानेर भाइटिका लगाइदिएको भएर दाजुभाइले पनि मलाई आफ्नै ठान्नु हुन्छ होला।’