PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाल संवतको व्यवहारिक कार्यान्वयनमा सरकारको जमानी : उप प्रम इश्वर पोखरेल



सहयोग रञ्जित

नेपाल संवतको व्यवहारिक कार्यान्वयनमा सरकारको जमानी : उप प्रम इश्वर पोखरेल

काठमाडौं : उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपाल संवत् व्यवाहारिक रुपमा लागू गर्न अझै जटिल रहेको बताएका छन्।

'नेपाल संवत् ११४०' को उपलक्ष्यमा वसन्तपुरमा आयोजित भिंतुना सभालाई सम्बोधन गर्दै पोखरेलले नेपाल संवत् नेपालीहरुको विज्ञान र जीवनसँग सम्बन्धित रहेको भन्दै यसलाई व्यवहारिक रुपमा लागू गराउन सरकारले प्रयास गरिरहेको बताए। नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० ले भिंतुना सभा आयोजना गरेको हो।

वामपन्थी नेता पद्मरत्न तुलाधरले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउन सुरु गरेको भिंतुना आन्दोलनको एक चरण सफल भएको बताउँदै पोखरेलले भने, 'सरकारले यसलाई राष्ट्रिय संवतको मान्यता दियो। तर, अझै यसको कार्यान्वयन हुन सकिरहेको छैन। उहाँ (पद्मरत्न)ले सुरु गरेको आन्दोलनको पहिलो चरण पूरा भएको छ। अब यस संवतलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि अर्को चरणको आन्दोलन सुरु हुनुपर्छ।'

पोखरेलले अबको आन्दोलन सरकारविरुद्ध नभइ सबै नेपालीहरुलाई यस संवतको बारेमा जानकारी दिनका लागि सामाजिक जागरणको आन्दोलनबाट सुरु हुनुपर्ने बताए।

'यो नेवार समुदाय विशेषको मात्रै संवत होइन। यो सारा नेपालीहरुको संवत हो। यस संवतले नेपालको पहिचान बोकेको छ। तर, यो संवत् कुनै जाति विशेषको मात्रै हो भन्ने सोचलाई बढल्न जरुरी छ,' उनले भने, 'अब यस संवतका बारेमा अरु समुदायलाई समेत जानकारी गराउन सामाजिक जागरणको आवश्यकता छ।'

सरकारको जिम्मा 'जमानी'

नेपाल संवतका बारेमा सबै नेपालीलाई बुझाउनुपर्ने भन्दै उनले यसलाई सामाजिक जागरणको आन्दोलनको रुपमा सुरु गरेर नेपाल संवतको महिमा र शंखधर साख्वाको योगदानका बारेमा नेपालभर प्रचार प्रसार भए विस्तारै व्यवहारिक रुपमा लागू हुनसक्ने बताए।

मन्त्री पोखरेलले नेपाल संवतको कार्यान्वयनमा सरकार निकै सकारात्मक रहेको भन्दै यसलाई व्यवहारिक रुपमा लागू गर्न सुझाव दिन समेत आग्रह गरे। भने, 'अहिले व्यवहारिक रुपमा लागू गर्ने पक्षमा समस्या होला। तर, यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकार जिम्मा जमानी बस्छ।'

आफूले गरेको वाचालाई रेकर्ड गरेर राख्न बताउँदै उनले यस कार्यमा सरकार प्रतिवद्ध भएर लाग्ने समेत बताए।

शंखधरको पूर्ण कदको शालीक

नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० को तर्फबाट संयोजक रमेश महर्जनले काठमाडौंमा शंखधर साख्वाको पूर्णकदको शालीक, नेपाल संवत र शंखधर साख्वाका बारेमा विद्यालय पाठ्यक्रम राख्न लगायतका मागहरु राखेका थिए। त्यसबारे बोल्दै पोखरेले नेपाल सरकारले शंखधर साख्वाको पूर्ण कद शालीक बनाउने घोषणा गरे। तर, त्यसका लागि स्थानीय सरकार (काठमाडौं महानगरपालिका) ले जग्गा लगायतका सुविधाहरुको उपलब्धता गराउनुपर्ने बताए।

भने, 'नेपाल सरकारले शंखधर साख्वाको पूर्णकदको शालीक बनाउन गरिएको माग पूरा गर्छ। तर, त्यसका लागि स्थानीय सरकारले जग्गा लगायतका व्यवस्था गरिदिनुपर्छ।'

पोखरेलले शिक्षा नीति बनिरहेको भन्दै त्यसमा शंखधर साख्वाबारे समेत पाठ्यक्रममा सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell