PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

गुठी विधेयकविरुद्ध आन्दोलन गर्नेहरुकै मञ्चमा रक्षा मन्त्री पोखरेलले भने : आगो सल्काउने काम भयो



सहयोग रञ्जित

गुठी विधेयकविरुद्ध आन्दोलन गर्नेहरुकै मञ्चमा रक्षा मन्त्री पोखरेलले भने : आगो सल्काउने काम भयो

काठमाडौं : हरेक वर्ष झै नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समितिले नेपाल संवतको स्वागतमा काठमाडौंको वसन्तपुरमा भिंतुना सभा आयोजना गर्‍यो।

सभामा प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए प्रधानमन्त्री केपी शर्मा ओली। वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री आउने कुरा चल्दै गर्दा त्यहाँ उनले गुठी विधेयकका बारेमा केही बोल्ने अपेक्षा थियो।

तर, प्रधानमन्त्री ओली कार्य व्यस्तताका भन्दै सभामा उपस्थित भएनन्। उनको ठाउँमा आए उप्रप्रधान तथा रक्षा मन्‍त्री इश्वर पोखरेल।

नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० को आयोजना भएको सभाका संयोजक रमेश महर्जनले उप्र प्रधानमन्त्री पोखेरलसमक्ष गुठीको कुरा राखे। उनले जनतासँग प्रत्यक्ष सरोकार रहेको गुठी लगायतका विषयमा जनतासँग सहकार्य हुनुपर्ने माग राखे। त्यसका लागि सरकारलाई सहयोग गर्न गुठीहरुको सम्मेलन गरिरहेको बताए।

महर्जनपछि कार्यक्रमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल संवतलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने पक्षमा देखिएका जटिलताका बारेमा चर्चा गरे। समितिले उनलाई संवत् कार्यान्वयनका लागि दिएको सुझाव सबै पूरा गर्ने प्रतिबद्धता जनाए र आफैले सुझाव समेत दिए।

प्रधानमन्त्रीको सन्देश भन्दै सम्बोधनको अन्तिममा पोखरेलले गुठीको कुरा निकाले।

पहिलो लाइनमा नै उनले धर्म, संस्कृति, परम्परा नमान्ने कम्युनिस्ट सरकार भन्दै आगो सल्काउनेहरुले 'निहुँ' का रुपमा गुठी विधेयक पाएको बताउँदै भने, 'यो कम्युनिस्टहरु धर्म संस्कृति मान्दैनन्। हाम्रो सयौं हजारौं वर्ष पुरानो गुठीलाई अब बिगार्न खोजे भन्दै आगो सल्काउने काम भयो।'

सरकारले जेठ महिनामा राष्ट्रियसभामा गुठी विधेयक ल्याएको थियो। तर, सो गुठीबाट उपत्यकाको मौलिक पर्व र संस्कार नै नाश हुने भन्दै विधेयको विरोधमा उपत्यकाका नेवार समुदायले आन्दोलन गरेको थियो। हप्तौंसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा संघर्षका कार्यक्रम भए। अन्तत: सरकारले गुठी विधेयक राष्ट्रिय सभाबाट फिर्ता लिने निर्णय गर्‍यो। तर, पनि नेवार समुदायले असार ४ गते माइतीघर मण्डलमा वृहत र्‍याली निकालेर सरकारलाई खबरदारी गरेको थियो। उनीहरुले काठमाडौं उपत्यकाको गुठी देशका अन्य स्थानको गुठी भन्दा फरक रहेको भन्दै सरकारले सबै गुठीलाई एकै नजरले हेर्न नहुने माग राख्दै आएका थिए।

४ महिनाको बीचमा गुठीबारे धेरै चर्चा भए। गुठियारहरुले सरकारलाई सुझाव दिन राष्ट्रिय स्तरमा नै गुठी सम्मेलन गर्ने तयारी समेत गरिहरको थियो।

यसैबीच आज नेपाल संवत ११४० को उपल्क्षयमा गुठीको गुत्थी खोल्ने प्रयासमा देखिए पोखरेल।

एकातिर उनी गुठी विधेयकको विरोधमा आगो सल्काउने कार्य भएको बताइरहेका थिए। मञ्च र सभामा थिए, तिनै गुठी विधेयक विरुद्ध आन्दोलनको नेतृत्व गरेका व्यक्तिहरु।

पोखरेलले उपत्यकाको गुठी र बाहिरी जिल्लामा धेरै फरक रहेको बुझाउने प्रयास गरे। यद्यपि, उपत्यकामा रहेका गुठीको वेथितिका बारेमा पनि सबैको ध्यान केन्द्रित हुनुपर्ने कुरालाई महत्वका साथ प्रस्तुत गरे।

गुठी नेपाली संस्कृतिको रक्षक भएर अगाडि बढेको बताउँदै उनले पूर्खाहरुले सुरु गरेको गुठीको अस्तित्व समाप्त पार्ने प्रयासमा सरकार नरहेको स्पष्ट पारे। गुठीलाई सरकारले अझै परिष्कृत र समृद्ध बनाउन खोजेको भन्दै उनले गुठीका नाममा पहाड, तराइका साथै उपत्यकाका केही गुठीहरुमा धेरै समस्या देखिएकाले त्यसलाई नियन्त्रण गर्ने प्रयासमा सरकार लागेको दाबी गरे।

सार्वजनिक जग्गाहरु अतिक्रमणमा पर्दै गएको उल्लेख गर्दै उनले नेपालको धर्म, संस्कृति,परम्परा बचाउने गुठी कहिल्यै नभत्किने बताए। भने, 'सामान्ती शोषकहरुले पुस्तौंदेखि हरुवा, चरुवा, गोठाला बनाएर किसानहरुलाई जमिनको मालिक बन्न नदिने गुठी उचित नभएको र त्यसको पूर्ण व्यवस्थापना हुनुपर्छ भन्ने पक्षमा सरकार छ।'

गुठी विधेयकाका बारेमा भ्रम फैलिएको हुनसक्ने आशंका व्यक्त गर्दै उनले परम्परा जोगाउने गुठी कायम रहने प्रतिबद्धता व्यक्त गरे।

विगतका गुठी विधेयक ल्याउँदा अलिकति ढंग नपुगेको हुनसक्ने भन्दै उनले भने, 'अलिकति तरिका नमिलेको हुनसक्छ। त्यसले कमजोरी प्रकट भएको हुनसक्छ। आउने दिनमा ती कुरा हुने छैन। जनताको जिन्दगीसँग गाँसिएका गुठी जस्ता कुराहरु बारेमा कानून बनाउनु परे सरोकारवालाहरुसँग छलफल लिएर अगाडि बढ्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell