PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

तीन वर्षे जोलीलाई एक वर्षपछि भए पनि मिल्यो सफलता



सविन ढकाल

तीन वर्षे जोलीलाई एक वर्षपछि भए पनि मिल्यो सफलता

काठमाडौं : २०७५ भदौ ४ गते। देशको सबैभन्दा सुरक्षित स्थान सिंहदरबारबाट करिब २ किलोमिटरको दुरीमा रहेको घरभित्र एउटा अप्रत्यासित घटना घट्छ पुग्यो। सुतिरहेकै अवस्थामा एक वृद्धको हत्या भयो। हत्या हुने व्यक्ति सर्वसाधारण थिएनन्। थिए त पूर्वराजदुत केशव झा।

बन्द कोठा भित्र हत्या कसले गर्‍यो? घरभित्र कै सदस्य भित्र शंकाको सुइ तेर्सिएको थियो। झाको शरीरमा आफ्नै भान्छामा प्रयोग गर्ने धारिलो चक्कु प्रहार भएको देखिएको थियो। भान्छाकै चक्कु प्रहार गरिनुले हत्यारालाई घटनास्थलको पूरा जानकारी भएको हुनसक्ने प्रहरीको अनुमान थियो। तर, घटना बन्यो गोलमटोल।

प्रहरीले अनुसन्धानका लागि सहारा लियो कुकुरको। केन्द्रीय कुकुर तालिम केन्द्रबाट नेपाल प्रहरीको तालिम प्राप्त कुकुर झिकाइयो। तीन वर्षीय जोली घटनाको अनुसन्धान गर्न पुग्यो। जोलीको लागि हाइप्रोफाइल मर्डर केस पहिलो घटना थियो।

जोलीले यसअघि अन्य घटनाको अनुसन्धान नगरेको केन्द्रीय कुकुर तालिम केन्द्रका डिएसपी रामचन्द्र सत्याल बताए।

'जोलीको पहिलो अनुसन्धान हो। जोलीसँगै हाम्रो अर्को कुकुर पनि पठाएका थियौं,' उनले भने।

सई कुमार थापा मगर तीन वर्षीय जोली लिएर घटनास्थल पुगे। व्लडहाउन्ड जातको जोलीको लागि झा हत्या प्रकरण चुनौतिपूर्ण थियो।

जोलीसँगै म्याक्सेल पनि घटनास्थलमा पुगेको थियो। जोली बेलारुसबाट नेपाल प्रहरीले किनेर ल्याएको कुकुर हो। अन्य कुकुरभन्दा व्लडहाउन्ड जातको कुकुरसँग ९० घन्टा भन्दा बढी सुँघ्ने क्षमता हुन्छ।

घटनास्थलमा पुगेर सई कुमारले जोलीलाई झाको मृत शरिरमा भएको चक्कु सुघाए। चक्कुको गन्धपछि जोली घरको माथितिर लाग्यो। माथिल्लो तलामा घरबाट बाहिर निस्किन सक्ने बाटो रहेछ। घरको पर्खालमा रहेको आँपको रुख समातेर तल्लो कोठामा झर्न मिल्ने। जोलीले त्यतैतिर संकेत गर्‍यो।

'माथिबाट आँपको बोटमा देखायो। त्यसपछि आँपको बोटमा गएर हेर्दा केही सवुत प्रमाण भेटियो। अभियुक्तले प्रयोग गरेको ट्र्याक जोलीले देखाएको थियो,' सई कुमार थापाले सुनाए।

हाइप्रोफाइल मर्डर केस भएकाले पनि प्रहरीले अपराधी चाँडै समात्नु पर्ने दवाब थियो। तर, घटनाको चुरो अझै भेटिसकेको थिएन। जोलीलाई आपँको रुखमा पुगेपछि फेरि चक्कु सुघाँइयो। त्यसपछि जोली सिधै अगाडि बढ्यो। जोलीले केही भेटे झै गर्‍यो। जोलीले भेट्टाएको थियो पञ्जा। झा हत्याको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत पञ्जामा रगत भएको दावी गर्छन्।

जोली अझै रोकिने पक्षमा थिएन। त्यसपछि जोली सिधै कोठा भित्र छिर्‍यो। जोली छिरेको कोठा झाको घरमा काम गर्ने काभ्रे पनौती नगरपालिका वडा नम्बर १० का सानुकान्छा तामाङको थिए। तामाङ केही समयदेखि झाको घरमा भान्छादेखि गार्डसम्मको काम गर्दै आएका थिए।

जोली तामाङको कोठामा पुग्दा उनी च्युरा र दालमोठ खाइरहेका थिए। जोली दुई पटकसम्म तामाङको कोठामा छिरेको थियो। जोलीले तामाङलाई नै संकेत गर्‍यो। तामाङसँगै झाको घरमा पालेको कर्कर स्पाइनल जातको भाले कुकुर थियो।

'भाले जातको कुकुर देखेपछि जोलीलाई संकेत गर्न गाह्रो भएको थियो। ट्र्याक गर्दै जाँदा कुकुर, बस्तुभाउ देख्यो भने ट्रयाक गर्न छोड्छ,' डिएसपी सत्यालले भने।

पोथी जोलीलाई कर्कर स्पाइनल जातको कुकुर बाधक बन्यो। नत्र, तामाङलाई सामात्ने वा टोक्ने गर्यो। 'कुकुरलाई जस्तो ट्रेनिङ दियो, त्यस्तै हुन्छ। धेरैजसो अपराधी देख्दा समात्ने वा टोक्ने गराउँछौं। तर, कहिले काहीँ नर्भस समेत हुन्छ,' डिएसपी सत्यालले भने।

भदौ ४ गते महानगरीय अपराध महाशाखाको टोलीले तामाङलाई पक्राउ गर्‍यो। २० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्‍यो। तर, तामाङलाई अभियुक्त भनेर सार्वजनिक गर्न प्रहरीले कुनै प्रमाण फेला पारेन। ८ हजार रुपैयाँ धरौटी बुझाएर तामाङ रिहा भए। जोलीको पहिलो अनुसन्धानमा नै प्रश्न चिन्‍ह लाग्यो।

तरङ घटना भएको एक वर्ष हुनै लाग्दा तामाङ फेरी पक्राउ परे। मृत झाकी श्रीमतीले तामाङविरुद्ध किटानी जाहेरी दिएपछि पुन: तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गर्‍यो। हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्‍यो। तामाङले पैसाको कारण झाको हत्या गरेको प्रहरीले निस्कर्ष निकाल्यो।

जिल्ला अदालतले प्रहरीको अनुसन्धान र अदालतमा बहसपछि तामाङलाई पूर्पक्षको लागि जेल चलान गर्न आदेश दियो। तामाङ जेल चलान भएसँगै जोलीको अनुसन्धान सफल भएको प्रहरीको ठहर छ। तीन वर्षे जोली तालिम प्राप्त कुकुर मध्ये उत्कृष्ठ ठहरियो। कुकुर तिहारको दिन जोलीले उत्कृष्ठ कुकुर भएको सम्मान थाप्यो।

'आफूले ट्रेनिङ गरेको कुकुर अपराधि समात्न सहयोग गर्‍यो भन्दा एकदमै खुसी लाग्छ,' सई कुमार थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell