PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

उपनिर्वाचनमा भक्तपुरः आकांक्षी धेरै भएपछि उम्मेदवार सिफारिसमा दलहरुलाई सकस



पहिलोपोस्ट

उपनिर्वाचनमा भक्तपुरः आकांक्षी धेरै भएपछि उम्मेदवार सिफारिसमा दलहरुलाई सकस

भक्तपुरः आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ।

प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो। एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पुर्‍याउन नसकेपछि समस्या आएको हो।

नेकपा सचिवालयले उपनिर्वाचनका लागि सकेसम्म एक र बढीमा तीन जनाको नाम कात्तिक १० गतेभित्र पठाउन भने पनि १८ जनाको नाम जिल्ला कमिटीमा आएपछि नाम छनोट गर्न सकस परेको नेकपाका नेता सोमप्रसाद मिश्रले जानकारी दिए।

आज बस्ने बैठकले सकेसम्म एक जनाको, त्यसमा पनि नसके तीन जनाको र त्यसमा पनि विवाद भए १८ जनाकै नाम सिफारिस गरेर पठाउने तयारीमा रहेको उनले जानकारी दिए। उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेकपा भक्तपुर जिल्ला कमिटीले उम्मेदवार सिफारिस गर्न दिलीप प्रजापति, सोम मिश्र, बचन देउजा र डिपी ढकाललाई जिम्मेवारी दिए पनि नाम टुङ्ग्याउन नसकेको उनको भनाइ छ।

विसं २०७५ वैशाख ३१ गते प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मस्तिष्कघातका कारण निधन भएपछि उक्त क्षेत्र रिक्त भएको हो। नेकपाभित्र रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शम्भु दाहाल, दामोदर दङ्गाल, डिपी ढकाल, निर्मला लामिछाने, श्रीभक्त कासिछ्वालगायत १८ जनाको नाम बैठकमा आएको छ। यद्यपि बुढाथोकीले टिकट पाउने सम्भावना बढी रहेको नेकपामा चर्चा चलेको छ।

यता नेपाली काङ्ग्रेसले समेत आकाङ्क्षी धेरै भएपछि केन्द्रीय समितिको निर्देशन विपरीत १० जनाको नाम केन्द्रमा पठाएको छ। केन्द्रीय समितिले तीन जनासम्मको नाम सिफारिस गर्न निर्देशन दिए पनि आकाङ्क्षी धेरै भएको र बैठकमा सहमति नभएपछि १० जनाको नाम सिफारिस गरेको काङ्ग्रेस भक्तपुर जिल्लाले जानकारी दिएको छ।

पार्टी सभापति दुर्लभ थापाले आकाङ्क्षी धेरै भएपछि प्रदेशसभा स्तरीय कार्यसमितिबाट सिफारिस भएका १० जनाको नाम केन्द्रमा सिफारिस गरेको जानकारी दिए।

काङ्ग्रेसले यादव अधिकारी, मनोज थापा, किरण काफ्ले, उद्धव खड्का, कृष्णलाल भँडेल, सुभद्रा काफ्ले, रूपा थापा, हरि नेपाल, विनोद कायस्थ र सुरेश श्रेष्ठको नाम केन्द्रमा सिफारिस गरेको जनाएको छ।

गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर निर्वाचित भएका थिए। भने निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत पाएका थिए। नेमकिपाका उम्मेदवार नीरज लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell