
काठमाडौँः नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ।
सिफारिस हुनेमा स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन्।
प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित भएका थिए। यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिस गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिस गर्न भनेकाले दुई जनाको नाम थपिएको नेकपा गण्डकी इन्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्जसमेत रहेका करणलाई सिफारिस गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिए।
यसैबीच नेपाली काङ्ग्रेसले १६ जनाको नाम सिफारिस गरेर पठाएको छ भने उम्मेदवारको बारेमा टुङ्गो लगाउन बिहीवार भन्दै पदाधिकारी बैठक बस्ने बताइएको छ। रासस