पाकिस्तानमा बिहीवार एउटा रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। रेलमा यात्रुका लागि बिहानको खाजा पकाउन ग्यास बाल्दा सिलिन्डर पड्किएर आगलागी भएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ।
पन्जाब प्रान्तको दक्षिणमा रहेको शहर रहिम यार खान नजिकै उक्त दुर्घटना भएको हो। आगलागीबाट रेलका ३ वटा डिब्बा जलेर खरानी भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
त्यहाँका जिल्ला प्रहरी प्रमुख आमिर तैमुर खानले जिओ टेलिभिजन च्यानललाई ४६ जनाको मृत्यु भइसकेको जानकारी दिएका छन्।
रेलवे मन्त्री शेख राशिद अहमदले त्यसअघि जिओ च्यानललाई भान्सामा पकाइरहेका बेला ग्यासका दुई वटा सिलिन्डर पड्किएको र त्यहाँ खाना बनाउने तेलसमेत रहेकाले आगो अझै दन्किएको बताएका थिए। उनले भने, आगलागीबाट जोगिन कुदिरहेको रेलबाट हाम्फाल्दा अधिकांश यात्रुको मृत्यु भएको छ।
उद्धार कार्यका जिल्ला प्रमुख बाकर हुसेनले भने मृतकको संख्या अझै बढ्न सक्ने बताएको रोयटर्सले जनाएको छ। उनका अनुसार आगलागीमा १५ जना घाइते भएका छन्।
रेलवे मन्त्री शेख राशिद अहमदले लामो रेलयात्रामा यात्रुहरुले खाना बनाउन ग्यास चुल्हाहरु नै बोक्ने र रेलमै खाना पकाउनु समस्या बन्ने गरेको बताएका छन्।
पाकिस्तानी रेलको सेवा हालैका दशकमा खस्कँदै गएको छ। बेलायती उपनिवेशकालीन रेल सेवाको मर्मत सम्भार तथा सेवा सुधारमा सरकारले कुनै पनि रकम लगानी नगर्दा रेल सेवा जर्जर र दयनीय बनेको हो।
गत जुलाईमा भएको एउटा रेल दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने गत महिना भएको अर्को दुर्घटनामा ४ जना मारिएका थिए।
सन् २००५ मा भएको एउटा भयावह रेल दुर्घटनामा करिब १३० जनाको मृत्यु भएको थियो। सिन्ध प्रान्तको एउटा रेल स्टेशनमा दुई वटा रेल जुधेका थिए र अर्को एउटा रेल आएर ती जुधेका रेलमा ठोक्किँदा त्यति धेरै मानिसको मृत्यु भएको थियो।