
काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका छन्। प्रधानमन्त्रीको दोस्रो डायलाइसिस सकिनै लाग्दा प्रचण्ड अस्पताल पुगेका हुन्।
प्रधानमन्त्री सचिवालय र ग्रान्डी इन्टरनेसनल अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अपूरो सूचना प्रवाह गरिरहेको छ। अस्पताल पुगेका नेताहरुले पनि उनको अवस्थाबारे जानकारी मिडियालाई दिएका छैनन्। यसैबीच प्रचण्ड ओलीको अवस्था बुझ्न ग्रान्डी पुगेका हुन्।
आज पनि गरियो डायलाइसिस
प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलाइसिस गरिएको छ। धापासीस्थिति ग्रान्डी इन्टरनेसनल अस्पतालमा उनको डायलाइसिस जारी रहेको त्यहाँबाट हाम्रा संवाददाता कुञ्जरमणि भट्टराईले जनाएका छन्।
उनका अनुसार प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका नेताहरु डायलाइसिस प्रकृया जारी रहेकाले फर्किएका थिए। नेकपाका नेता भीम रावलले प्रधानमन्त्रीको डायलसिस भइरहेकाले भेट्न नमिलेको बताए।
'माथि राखेर डायलाइसिस भइसकेको छ। डायलासिस सकिएपछि उहाँलाई तल वार्डमा ल्याइने छ,' रावलले मिडियासँग भने। डायलाइसिसपछि ओलीको अवस्था कस्तो हुन्छ त्यसले नै उनलाई डिस्चार्ज गर्ने वा नगर्ने भन्ने तय हुने जानकारी उनले दिए।
प्रधानमन्त्री ओलीलाई हिजै डायलाइसिस गरिएको थियो। तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले उनलाई सामान्य चेकअपका लागि मात्र अस्पताल लगेको बताइरहेका थिए।
हिजोजस्तै उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल आज पनि प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका थिए।
केही अघिमात्रै ओलीलाई भेट्न अस्पताल पुगेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको अवस्थाबारे जानकारी दिन चाहेनन्। उनले यतिमात्र भने - 'चिकित्सकहरुले उहाँको अवस्था ठीक छ भन्नु भएको छ।'
त्यसो त प्रधानमन्त्री सचिवालयले पनि ओलीको स्वास्थ्य अवस्थाबारे खुलेर जानकारी दिन चाहेको छैन। हिजै डायलाइसिस गरिए पनि ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र ओलीका निजी चिकित्सक डाक्टर दीव्या सिंहले जारी गरेको मिडिया नोटमा त्यसबारे केही उल्लेख गरेका छैनन्। प्रधानमन्त्रीको अवस्था सामान्यमात्र भन्ने अस्पतालको विज्ञप्तिलाई लिएर सामाजिक सञ्जालमा मानिसहरुले प्रश्न गरेका छन् - प्रधानमन्त्रीको अवस्थासमेत प्रस्ट नदेखाउने अस्पतालले उपचारमा आउनेलाई कति ठग्ला?
अल्प सूचनाका कारण आज प्रकाशित अखबारहरुले पनि बचेर हेडलाइन दिएका छन्। सधैं चोटिलो हेडलाइनलाई कभर स्टोरी बनाउने नयाँ पत्रिकाले 'प्रधानमन्त्रीको स्वास्थ्य' शीर्षकमा प्रमुख समाचार बनाएको छ। नागरिक दैनिकले शीर्षक बनाएको छ - अस्पतालमा प्रधानमन्त्री। एक पहिलो पेजमा एक कोलम समाचारमा अन्नपूर्ण पोस्टले शीर्षक दिएको छ - ओलीको स्वास्थ्य अवस्था सामान्य। कान्तिपुरले पनि हेडलाइनमा विस्मयादिवोधक चिन्ह दिँदै लेखेको छ - प्रधानमन्त्रीको डायलाइसिस!
प्रधानमन्त्रीको स्वास्थ्यमाथि प्रस्ट सूचना नदिएकाले अस्पतालमा मिडियाको यतिखेर बाक्लो उपस्थिति छ।
तिहारमा आयोजित सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रममा प्रधानमन्त्री उपस्थित भएका थिए। पूरै कार्यक्रममा खासै उत्साही देखिएका थिएनन्, ओली। यद्यपि, उनको स्वास्थ्य अवस्था नाजुक छ भन्ने कसैले अनुमान गर्न सकेको थिएन।
प्रधानमन्त्री ओली गत साउन र भदौमा गरी दुई पटक सिंगापुरमा उपचारका लागि पुगेका थिए।