काठमाडौं : राजनीतिक दलहरु अहिले उपनिर्वाचनको तयारीमा जुटिरहेका छन्। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरुबीच अहिले छलफल भइरहेको छ। निर्वाचनमा उम्मेदवारी दिन चाहने आकांक्षीहरु धेरै हुँदा दलहरुलाई उम्मेदवार छनोट गर्न सकिरहेका छैनन्।
मंसिर १४ गते हुने उप निर्वाचनका लागि उम्मेदवारका आकांक्षीको संख्या धेरै भएपछि दलहरुलाई उम्मेदवार चयन गर्न सकस परेको एउटा स्थान हो– प्रदेश सभाको भक्तपुर क्षेत्र नं १ (क)। दुई ठूला दललाई नै उम्मेदवार छान्न धौधौ भइरहेको बेला साझा पार्टीले भने भक्तपुर क्षेत्र नं १ (क) को उपनिर्वाचनका लागि उम्मेदवारको नाम घोषणा गरेको छ।
साझाले पार्टीको भक्तपुर जिल्ला संयोजक सुरज प्रधानलाई आगामी निर्वाचनको लागि क्षेत्र नं १ (क) को उम्मेदवार घोषणा गरेको हो। २८ वर्षीय प्रधान वातावरणमैत्री इँट्टा उत्पादन गर्ने व्यवसायी रहेको बताइएको छ।
साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रधान तयार रहेको बताइएको छ। यस्तै निर्वाचित भएको खण्डमा पूरै तलब आफ्नो निर्वाचन क्षेत्रभित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने प्रधानले बताएको पनि विज्ञप्तिमा उल्लेख छ।
प्रदेश नं ३ अन्तर्गतको भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्य हरिशरण लामिछानेको २०७५ वैशाख ३१ गते मस्तिष्कघातका कारण निधन भएपछि उक्त क्षेत्र रिक्त भएको हो। गत निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका जीवन खत्रीले ९ हजार ९७७ मत पाएका थिए। नेमकिपाका उम्मेदवार नीरज लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए।
त्यही सिट उपनिर्वाचनका लागि आकांक्षी धेरै जना देखिएपछि नेकपा र नेपाली कांग्रेसलाई उम्मेदवार छनोट गर्न सकस कठिन परेको हो। यो सिटमा उम्मेदवार बन्नका लागि सत्तारुढ नेकपाबाट १८ जना र प्रमुख प्रतिपक्षी कांग्रेसबाट १० जना दाबेदारी गरिरहेका छन्।