काठमाडौं : एशियाली विकास बैंक (एडिबी)ले पोखरा-मुग्लिन सडक स्तरोन्नति गर्नका लागि करिब २२ अर्ब (१९ करोड ५० लाख डलर) रुपैयाँ सहुलियत ऋण दिने भएको छ। मनिलामा रहेको एडीबी मुख्यालयमा बुधवार भएको बैठकले ऋण स्विकृत गरेको हो।
हालको सडकलाई चार लेनमा स्तरोन्नति गर्न ऋण दिन एडीबी सहमत भएको हो। यो सडकको विस्तारले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने एडिबीको विश्वास छ। भारत र बंगलादेश जोड्ने उपक्षेत्रीय (सब–रिजनल) करिडोरका रुपमा रहेको राजमार्ग विस्तारले सहज यातायात सञ्जाल निर्माणमा सहयोग पुर्याउने एडिबीले दाबी गरेको छ।
'आयोजनाले ट्राफिक क्षमता, विश्वसनीयता र पोखराबाट मुख्य राजमार्गसँग जोडिने सडकको सुरक्षा बढाउने छ,' एडीबीका यातायात विशेषज्ञ जोहान जियोगेटले भने, 'राजमार्ग चार लेनमा विस्तार हुनेछ। यसले यात्रा अवधि र खर्च घटाउने छ। स्थानीय बजारमा पहुँच सुधार, रोजगारी र सामाजिक सेवामा समेत सहयोग पुर्याउनेछ।'
आयोजना कार्यान्वयन निर्देशनालयका उपप्रमुख सुरेश पौडलले चार लेन सडक विस्तारको ठेक्का एक साताभित्र आह्वान गरिने जानकारी दिए। ‘यो सडक विस्तारका लागि एक साताभित्र ठेक्का आह्वान गर्नेछौं। सबै प्रक्रिया पूरा गर्न तीन महिनाभन्दा बढी समय लाग्छ,’ उनले भने, ’हामीले यो सडक निर्माण कम्पनीलाई दिएपछि तीन वर्षभित्र तयार गर्नुपर्नेछ।’
मुग्लिन-पोखरा सडक चार लेनको बनाउन लागिएको भए पनि पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरा चार लेनमा विस्तार हुनेछ भने दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी खण्डमा काम हुनेछ।
मुग्लिन-आँबुखैरेनी खण्डमा मर्स्याङदी पावर हाउस र त्यहाँको कठिन भूगोलका कारण विकल्प खोज्न लागिएको छ। आयोजनाले विकल्प के हुन सक्छ भनेर कन्सल्ट्यान्ट हायर गरेर काम सुरु गरिसकेको छ। मुग्लिन-आँबुखैरेनी खण्डमा मर्स्याङदीको बायाँ किनारबाट सडक बनाईने आयोजना प्रमुख पौडलले जानकारी दिए। उनका अनुसार विद्यमान सडकको पारिपट्टी अर्को दुई लेन सडक निर्माण गरिनेछ। आँबुखैरेनी–पोखरा खण्डको विस्तृत आयोजना विवरण (डिपिआर) फाइनल भैसकेको छ।
आँबुखैरेनी–पोखरा करिब ८१ किलोमिटर छ भने आँबुखैरेनी-मुग्लिन करिब ८ किलोमिटर छ। आयोजनाका अनुसार बजार बस्ती भएका क्षेत्रमा सर्भिस लेनसहित ६ लेनको हुनेछ। सडक भूगोल र ठाउँअनुसार फरक फरक चौडाइको हुनेछ। सर्भिस लेन राखिएका स्थानमा ४० मिटर चौडा हुनेछ भने नराखिएका ठाउँमा २५ मिटर हुनेछ। दुई/दुई लेनको बीचमा मेडियन राखिनेछ। त्यसमा ग्रिनरी बेल्टसमेत निर्माण हुनेछ।
सडक विस्तारका लागि करिब ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्नेछ। यो सडक विस्तार पूरा भएसँगै पर्यटकीय नगरि पोखरासम्म पुग्ने सहज सडक सञ्जाल निर्माण हुनेछ। यो सडकले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समेत महत्व बढाउनेछ। आयोजनाका अनुसार यो सडकको निर्माणमा कडा प्रावधान राखिएको छ। सडक निर्माण गरी हस्तान्तरण गरेपछि पनि ५ वर्षसम्म सडकको मर्मतसम्भारको जिम्मा ठेकेदार कम्पनीले नै गर्नुपर्नेछ।