PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

फिलिपिन्समा साढे ६ म्याग्निच्युडको भूकम्प, कम्तीमा ५ जनाको मृत्यु



पहिलोपोस्ट

फिलिपिन्समा साढे ६ म्याग्निच्युडको भूकम्प, कम्तीमा ५ जनाको मृत्यु
फोटोः रोयटर्स

फिलिपिन्समा आज गएको साढे ६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको छ। फिलिपिन्सको दक्षिणी क्षेत्रमा यसै महिना यसभन्दा पहिलेका भूकम्पका दुई ठूला धक्काबाटै सम्हालिने प्रयास गरिरहेका बेला आज फेरि अर्को भुइँचालो गएको हो। आजको भुइँचालोले पहिलेका भूकम्पबाट क्षतिग्रस्त घर तथा भवनहरुलाई भत्काएको छ।

उत्तरी प्रान्त कोटाबाटोको टुलुनान शहरबाट ३३ किलोमिटर उत्तरपश्चिममा आजको भूकम्प गएको थियो। भूकम्प जाँदा फिलिपिनी राष्ट्रपति रोड्रिगो डुतेर्ते त्यहाँबाट पूर्वमा नजिकै रहेको शहर दाभाओमा थिए। तर उनी सुरक्षित रहेको राष्ट्रपतिका प्रवक्ता साल्भाडोर पनेलोले जानकारी दिएका छन्।

प्रहरीले दाभाओको एउटा भवन भत्कँदा किचिएका ९ जना घाइतेको उद्धार गरेको छ। नजिकैको किदापावान शहरको एउटा ६ तले भवन भत्के पनि त्यसबेला भवन खाली भएकाले मानवीय क्षति नभएको त्यहाँका मेयर जोसेफ इभान्जेलिस्ताले जानकारी दिएका छन्।

फिलिपिन्सको द फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले अझै कडा र ठूला परकम्प आउने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई घर र कार्यालय बाहिर नै बस्न अनुरोध गरेको छ।

अक्टोबर १६ मा गएको ६=३ म्याग्निच्युडको भूकम्पले फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओका धेरैजसो व्यापारिक भवनहरु तथा आवासीय घरहरुको जग हल्लाएर कमजोर बनाएको थियो। त्यसपछि अक्टोबर २९ मा आएको अझै शक्तिशाली ६=६ म्याग्निच्युडको भूकम्पले ती भवनहरु तथा घरहरुलाई क्षतिग्रस्त पारेको थियो।

त्यहाँका समाज कल्याण अधिकारीले उत्तरी कोटाबाटो प्रान्तमा भूकम्पबाट ५ जनाको मृत्यु भएको जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ। अक्टोबर १६ यता भूकम्पमा परेर मर्नेको संख्या २० पुगेको छ।

भौगोलिक रुपमा फिलिपिन्स अत्यन्त सक्रिय मानिएको भूकम्पको क्षेत्रमा अवस्थित छ, जसलाई 'प्यासिफिक रिङ अफ फायर' भनिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell