PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'म' या 'मेरो'भन्दा पनि टिमको एउटै लक्ष्य: ज्ञानेन्द्र मल्ल {अन्तर्वार्ता}



पहिलोपोस्ट

'म' या 'मेरो'भन्दा पनि टिमको एउटै लक्ष्य: ज्ञानेन्द्र मल्ल {अन्तर्वार्ता}

नेपाली क्रिकेटका सफल कप्तान पारस खड्काको राजीनामापछि रिक्त रहेको पदमा ज्ञानेन्द्र मल्ल चयन भएका छन्। नेपाल क्रिकेट संघ क्यानले उनलाई नेपाली क्रिकेटको नेतृत्वका लागि रोजेको हो। लामो समयदेखि उपकप्तानको भूमिकामा रहेका मल्लले अब नेपाली राष्ट्रिय टोलीको नेतृत्व लिनेछन्। यसअघि मल्लले पारस खड्काको अनुपस्थितमा कप्तानी गर्दै आएका थिए। क्यानमा नयाँ पदाधिकारी भर्खरै निर्वाचित भएका छन् भने आइसीसीको निलम्वनबाट सशर्त फुकुवा पनि भएको छ। त्यससँगै पारस खड्काले अप्रत्यासित रुपमा कप्तानबाट राजीनामा दिएका छन्। यिनै सेरोफेरोमा पहिलोपोस्टका मुकुन्द घिमिरेले नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान ज्ञानेन्द्र मल्लसँग गरेको कुराकानी:

कप्तान बन्न तयारी अवस्थामा हुनुहुन्थ्यो?

कप्तान हुने नहुने भन्ने तय थिएन। त्यो मेरो नियन्त्रणको कुरा पनि होइन। बोर्ड र कोचले निर्णय लिइसकेपछि चाहिँ म तयार भइरहनु पर्छ भन्ने लागेको थियो।

नेपाली क्रिकेट टिमलाई कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ?

भर्खरै आएको छु। यसमा मेरो योजनाभन्दा पनि टिमको योजनाले महत्व राख्छ। कहाँ गएर अघि बढ्ने भन्ने कुराहरुले महत्व राख्छ।  एमसीसी टुर र सागपछि मात्र हाम्रो ओडिआई साइकल सुरु हुन्छ। यो ‌ओडीआई साइकलमा हामी कसरी टपमा रहने, वर्ल्डकप क्वालिफायर्समा कस्तो रणनीति बनाउने, ओडिआई स्टाटस कसरी कायम राख्ने, टेस्ट मान्यताको लागि टिमको बाटो कसरी बनाउने भनेर लाग्नु छ। त्यसैले 'म' या 'मेरो' भनेर भन्दा पनि टिमको र नेपाली क्रिकेटको एउटै लक्ष्य हुनुपर्छ भन्ने लाग्छ।

पूर्वकप्तान पारस खड्काले कप्तानी छोड्दै गर्दा टिममा'फ्रेस स्टार्ट'र'कमिटेड भिजन'को को आवश्यकता छ भनेका थिए। कस्तो होला त फ्रेस स्टार्ट?

उसले (पारस) यो कुरा आफ्नो हिसाबले राखेको हुनसक्छ। केही परिवर्तन पनि हुनुपर्छ भन्ने अप्रोच पनि होला। कहिलेकाहीँ के हुन्छ भने एउटै टिममा पनि एउटै खेलमा पनि निर्णय लिने क्रममा केही फरकपन त आइहाल्छ। त्यसले, केही फरकपन आवस् भन्ने पनि होला। त्यसबाहेक फ्रेस स्टार्ट भन्नाले अब जरैबाट सुरु गर्नुपर्छ भन्ने होइन। हाम्रो टिम उही छ। उद्देश्य पनि उही छ। खाली नेतृत्व कसले लिनेमात्र फरक छ। नाम मात्र परिवर्तन भएजस्तै।

कप्तानको रुपमा नेपाललाई कहाँसम्म पुर्‍याउने योजना छ?

के बुझ्न पर्छ भने नेतृत्व मेरो भए पनि मैलेमात्र पुर्‍याउने होइन। हामी सबैले पुर्‍याउने हो। क्रिकेट टिमदेखि लिएर संघ, फ्यान र समर्थकलगायत जोजो स्टेक होल्डर हुनुहुन्छ, सबैको साझा उद्देश्य नै हामी विश्वकपमा कसरी क्वालिफाइ हुने, ओडिआई कसरी जोगाउने या पर्मानेन्ट कसरी राख्ने, टेस्ट स्टाटसतिर कसरी जाने भन्ने नै हो। त्यसमा मैलेमात्र पुर्‍याउँछु भन्ने कुरा चाहिँ झुटो दावी जस्तो हुन आउँछ। त्यो नभइ हामी तथ्यमा पनि जानु पर्छ। टिमले पुर्‍याउने हो। टिम पुगे म पनि पुग्छु। तर, ममात्रै दैडिएर हुन्न। टिमको मोटिभमा नै धेरै कुरा निर्भर हुन्छ।

यसका लागि तपाईँलाई कस्तो सपोर्टको आवश्यकता छ? या यतिकै अघि बढ्न सकिन्छ?

होइन, अघि त जसरी पनि बढ्छ। तर, कस्तो ढंगले कति स्पिडमा अघि बढ्ने भन्ने नै हुन्छ। रोकिने कुरा त कहीँ पनि हुँदैन। हामी कसरी, कति छिटो र कुन उद्देश्यका साथ अघि बढ्ने भन्ने विषय महत्वपूर्ण हो। अहिले यसरी नै चाहिँ चल्छ भन्ने हुन्न। किनभने विकास भनेकै परिवर्तन हो। त्यसैले परिवर्तन पक्कै पनि चाहिन्छ। राम्रो पक्ष के छ भने क्यान पनि फर्म भएको छ। सरकारबाट पनि राम्रै सहयोग छ। हामीलाई फ्यानको सपोर्ट पनि राम्रै छ। कर्पोरेटहरुले पनि उत्तिकै सपोर्ट छ। अगाडि बढ्न पहिलादेखि हामीले जुन कुरालाई उठाउँदै ल्याएका छौं, त्यसलाई सच्याउँदै लैजानुपर्छ। हामीले ओडिआई स्टाटसका लागि ३ वर्ष छ भनेर खुशीमात्र हुनु भएन। अझै पनि नेपाली क्रिकेटले गर्न सक्ने धेरै सम्भावना छ। यसका लागि भिजन बनाएर अघि बढ्नुपर्छ।

क्यान'सशर्त'निलम्वनबाट फुकुवा भएको छ। क्यान र खेलाडीबीच सम्वन्ध तिक्ततापूर्ण छ भनिन्छ। अब क्यान र खेलाडीबीच कसरी सुमधुर सम्वन्ध बन्ला त?

एउटा परिवारमा अलिअलि खटपट भइहाल्छ। कहिले कसको कमजोरी हुन्छ, कहिले कसको। यसमा कमजोरीमात्र औल्याउन नथालौं। अब उहाँहरु पनि नयाँ तरिका र सोच लिएर आउनु भएको होला। केही गर्नुपर्छ भन्ने हिसाबले आउनु भएको होला। हामी प्लेयरले मैदानमा जसरी आफ्नो भूमिका निर्वाह गर्छौं, उहाँहरुले पनि त्यसरी नै अफ द फिल्ड जुन हिसाबले अर्गनाइज्ड गर्नुपर्ने हो त्यो हिसाबले गर्नुपर्छ। उहाँहरु पनि यो विषयमा सकारात्मक हुनुहुन्छ।

पहिला जे जस्तो भयो छोडौं। अब नेपाली क्रिकेटले अझ धेरै फड्को मार्नुपर्छ। एकले अर्कालाई छोडेर या बाइकट गरेर केही पनि गर्न सकिँदैन।

यसमा उहाँहरु पनि सकारात्मक हुनुहुन्छ। खेलाडीले पाउनुपर्ने कुराहरु लगायत उहाँहरुको भूमिकामा मिलेर जानुपर्छ। उहाँहरु अभिभावक हुनुहुन्छ। हामी खेलाडीहरुसँग पनि कसरी अघि बढ्ने भन्नेमा कुरा भइहाल्छ। उद्देश्य हामी सबैको नेपाली क्रिकेटलाई माथि पुर्‍याउने भन्ने नै हो। त्यस्तो खिचातानी जस्तो केही पनि छैन। उहाँहरु पनि एउटा प्रक्रियाले आउनु भएको छ। सबैको लक्ष्य क्रिकेटलाई अघि बढाउने नै हो।

नेपाली राष्ट्रिय टिमको कमजोर पक्ष ब्याटिङ हो भनेर आलोचना भइरहन्छ। तपाईँ आँफै पनि ब्याट्सम्यान। सुधारका लागि के सोच्नु भएको छ?

ब्याटिङको कुरामा चाहिँ केही कमजोरी छ। हामी प्रतिस्पर्धात्मक खेल खेलिरहेका छौं। पहिला हामी डिभिजन ४/५ मा थियौं। त्यतिबेला हामीले ब्याटिङ सुधारेका थियौं भने डिभिजन २/३ मा पनि सुरुमा हामी अलिकति पछि परेका थियौं। त्यसलाई सुधारेर हुँदाहुँदै ओडिआईमा पनि झन् कम्पिटेटिभ भएर खेल्दैछौं। यसका लागि अलिकति समय लाग्छ, एक्स्पोजर र अन्य कुराहरुले।

हामी जुन किसिमले क्रिकेट खेलिरहेका छौं, हामीले अझ धेरै खेल्नुपर्छ भन्ने हाम्रो पहिला देखिको सोच हो। क्रिकेटमा अझ धेरै खेलाडीहरु आउनु पर्छ। त्यसका लागि ममात्र नभइ टिम र कोचको योजनाहरु पनि धेरै छन्। अहिले सेप पनि लिँदैछ। तर, कहिलेकाहीँ भनेको जस्तो हुँदैन। अझ कम्पिटेटिभ गेम र एक्पोजर हुने हो भने तथा सपोर्टरहरुले पनि अलिकति धैर्य राख्दिने हो भने अघि बढ्छ।

तपाईँहरुको समयलाई नेपाली क्रिकेटको गोल्डन एज पनि भनिन्छ। उमेर समूहदेखि सिनियर लेभलसम्मै यस अवधिमा नेपालले फड्को मारेको हो। तर, अहिलेको युवा समूहबाट आएका अधिकांश खेलाडी सिनियर टिममा जम्न सकेका छैनन्। युवा समूहको सिनियर टिममा सम्भावना कसरी हेरिरहनु भएको छ?

यो इन एन्ड आउट भनेको त राम्रो पक्ष हो जस्तो लाग्छ। किनभने यसले हामीसँग कति ठूलो रिप्लेसमेन्ट स्कुल रहेछ भन्ने पनि त थाहा हुन्छ। यो हामीले चाहेका थियौं। सधैँ एउटै प्लेयर मात्र किन टिममा छ? हामी त्यो पनि त प्रश्न गर्छौं। प्लेयर चेन्ज हुनु अन सेटल्ड हुनु होइन। कसैको भूमिका फरक हुन्छ, कोही फर्ममा हुन्छ, कोही हुँदैन। कोही घाइते हुन्छ, कसैलाई ठाउँ पिचले सहज गरेको हुन्छ तकसैलाई हुँदैन। कहिले काहीँ तत्कालको नतिजालाई नहेरेर दीर्घकालीन सोचिरहेका हुन्छौं। टिमलाई जिम्मा दिइसकेपछि यो टिमको कुरा भयो। हाम्रो उद्देश्य भनेको नेपाल टिमका लागि हो नि। एउटा म्याचको लागि मात्र त होइन। उनीहरुलाई लिएर अगाडि कसरी जाने भन्ने हुन्छ।

युवा टिममा परिवर्तन देखिरहेको छ। एक लेबलसम्म एक्सपोजर दियो भने आउने पुस्तालाई नै सजिलो हुन्छ। यसलाई चाहिँ खेलाडीको व्यक्तिगत प्रदर्शनलाई हेरेर 'इन एन्ड आउट' भएको बुझ्न पर्‍यो। हाम्रोमा त युवाको अझ ठूलो पुल छ। जति धेरै एक्स्पोजर दियौं, त्यति नै राम्रो सेपमा जाने हो। धेरै खेलाडीले डेब्यू गरिरहेका छन्। धेरै जनाले सिनियर लेभलमा खेल्न पाइरहेका छन्।

भनेपछि हाम्रो क्रिकेटको भविष्य उज्जवल छ?

होइन। सेक्योर त तब हुन्छ जब धेरै गेम हुन्छ। जब धेरै इभेन्टहरु हुन्छ। फाइनान्सियलदेखि लिएर करियरसम्म सेक्योर भएपछि मात्र खेलाडी आफूले पनि सेक्योर अनुभव गर्छ। प्लेयरले हरेक कुरामा सेक्योर हुन खोज्छ। आज मैले राष्ट्रिय टिमबाट खेलेँ म सेक्योर भएँ भन्ने हुन्न। आज खेलौँला, भोलि खेलौँला र जीवनको गोल्डन एज खेलिसक्दा पनि करियर बन्दैन जस्तो देखियो भने खेलाडीले असुरक्षित महसुस गर्छ। यही कुरामा मैले जोड्न के चाहेँ भने १४ जना देखि २० जना राष्ट्रिय खेलाडीलाई मात्र हेरेर सेक्युरिटीको अनुमान लगाउँछौं। तर, सेक्युरिटीको अनुमान चाहिँ कहाँबाट लाउनुपर्छ भने जब नेसनल खेल्ने खेलाडीहरु, इन्टरनेसनलमात्र होइन, जब फाइनान्सियल रुपमा सेक्योर हुन्छ नि तबमात्र सेक्युरिटी छ भनेर भन्न सकिन्छ।

क्रिकेटको पोटेन्सियलको हिसाबले हेर्ने हो भने भविष्य धेरै राम्रो छ। धेरै राम्रा खेलाडीहरु छन्। आफैँमा पनि मेहनत गरिरहेका छन्।

पछिल्लो समय क्यान निर्वाचन,  निलम्वन फुकुवा, कप्तानीबाट राजीनामा जस्ता घटना एकएक गर्दै भए। नेपाली क्रिकेट समर्थकमा एक प्रकारको शंका उब्जिएको छ। त्यसमा पनि अनेक हल्ला आइरहन्छन् नि?

हल्ला भनेको हल्ला नै हुन्छ। कसैले राम्रो तरिकाले गरिरहेका हुन्छन् त कसैले नराम्रो तरिकाले। हामी जो जस्तो भए पनि नेपाली क्रिकेटको भलो चाहन्छौं भने राम्रै सोच्नु पर्‍यो। नराम्रो सोचेर त भएन। टिमलाई सेट हुन अलिकति समय पनि दिनुपर्छ। राम्रै हुन्छ भनेर अगाडि बढ्नुपर्छ। कहिले काहीँ केही फेसबुकका फ्यानहरु अझ अलिकति सभ्य र क्रिकेटको दृष्टिबाट सोच्ने छैनन् कि जस्तो लाग्छ। एक दुईवटा हारले खेलाडीमा नराम्रो सन्देश जानसक्छ। त्यसलाई नहेरेर जहिले पनि टिम गेम हेरेर सपोर्ट गर्नुहोला भन्न चाहन्छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell