
काठमाडौँः निवर्तमान सभामुख कृष्णबहादुर महराको अदालतको थुनछेकको प्रक्रिया आजबाट प्रारम्भ हुँदैछ। बिहीबार मुद्दा दर्ता भए पनि समय अभावका कारण प्रक्रिया प्रारम्भ भएको थिएन। शुक्रबार महराको अदालतमा बयान हुनेछ। प्रहरीले बिहीबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
महरासँगको बयान सकिएपछि थुनछेक बहस प्रारम्भ हुनेछ। थुनछेक बहसको प्रक्रिया लम्बिएमा महरा शुक्रबार पनि न्यायिक हिरासतमा नै रहनेछन्।
बहस सकिएर आदेश भएमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन वा रिहा गर्न सक्नेछ। अदालतले धरौटी वा साधरण तारेखमा रिहा गर्न सक्नेछ।
पुर्पक्षका लागि थुनामा गएमा महरा सांसद् पदबाट पनि स्वतः निलम्बनमा पर्नेछन्। रिहा भएमा निलम्बन हुने छैनन्।
सरकारी वकिल कार्यालयले बिहीबार महरामाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर गरेको थियो।
अभियोगपत्र अनुसार महरामाथि मुलुकी अपराध संहिताका दुई व्यवस्था आकर्षित गरिएको छ। जस अनुसार महरामाथि करणी उद्योगमा कम्तीमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म सजाय माग गरिएको छ। यस्तै, सार्वजनिक पद धारण गरेको व्यक्ति भएका कारण त्यसमा थप डेढी सजाय पनि दाबी गरिएको छ।