PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

डेढसय डलर नतिर्दा स्पेनी पर्वतारोहीमाथि प्रतिवन्ध, पाँच वर्ष नेपाल आउन नपाउने



वसन्तराज उप्रेती

डेढसय डलर नतिर्दा स्पेनी पर्वतारोहीमाथि प्रतिवन्ध, पाँच वर्ष नेपाल आउन नपाउने
Photo: David Suela Fernandez

काठमाडौः अवैध रुपमा पर्वतारोहण प्रयास गरेका एक स्पेनी नागरिकमाथि नेपाल आउन प्रतिबन्ध लगाइएको छ। डेभिड स्वेला फर्नान्डेजलाई पाँच वर्षको लागि नेपाल आउनमा प्रतिवन्ध लगाइएको हो। दोलखास्थित गौरीशंकर गाउँपालिकामा रहेको 'चुकिमा गो' हिमाल आरोहण प्रयास गर्दा ४० वर्षीय फर्नान्डेजलाई कारवाही गरिएको नेपाल पर्यटन विभागले जनाएको छ।

आरोहणका क्रममा उद्धार गर्दा फर्नान्डेजले अनुमति नलिएको पाइएको र नेपाल पर्यटन विभागले कारवाही गरेको विभागकी उपसचिव मीरा आचार्यले जानकारी दिइन्। उपसचिव आचार्यका अनुसार फर्नान्डेजसँगै आएका फेलिप भलभर्डको भने लेक लागेर मृत्यु भइसकेको छ।

'उनीहरु अनुमतिबिनै पर्वतारोहण गर्ने प्रयास गरेका थिए। करिब छ हजार मिटरको उचाईमा पुगेपछि फर्नान्डेजका साथी भलभर्डको अल्टिच्युड सिकनेसका कारण मृत्यु भयो। आरोहणका क्रममा हिउँमा डोरी अड्याउने क्रममा ४४ वर्षिय भल्भर्डको मृत्यु भएको थियो भने फर्नान्डेज घाइते भएका थिए। हामीले उद्धारकर्मी परिचालन गर्दा उनीहरु अनुमति विनै पर्वतारोहण प्रयासमा लागेको पायौँ', उनले भनिन्।

कात्तिक आठ गते फर्नान्डेजको स्वास्थ्य जाँच गरी स्पेनी काउन्सिलरसँगको समन्वयमा कारवही गरिएको उनले बताइन्। उपसचिव आचार्यका अनुसार कात्तिक ९ गते फर्नान्डेजलाई स्पेन पठाइसकिएको छ।

विभागका अनुसार अनुमतिविना पर्वतारोणमा सहभागी हुने आरोहीलाई १० वर्षसम्म नेपालको हिमाल चढ्न प्रतिवन्ध, जरिवाना स्वरुप रोयल्टी दस्तुरको दोब्बर शूल्क र पाँच वर्ष नेपाल आउन प्रतिवन्धमध्ये एउटा कारवाही गर्ने प्रावधान रहेको छ।

विभागका अनुसार यतिखेर 'चुकिमा गो' हिमाल आरोहणका लागि एक सय ५० डलर शूल्क तिरेर अनुमति लिनुपर्छ।

 'छलफल गरेर हामीले फर्नान्डेजलाई उनको गल्ती अनुसार पाँच वर्षसम्म नेपाल आउन प्रतिवन्ध लगाएका हौँ', उनले भनिन्।

'चुकिमा गो' हिमालको उचाई छ हजार दुई सय ५८ मीटर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell