
काठमाडौं : आगामी मंसिर १४ गते हुने लागेको उपनिर्वाचनको लागि चारवटै सुरक्षा निकायहरुले एकीकृत सुरक्षा योजना तयार पारिसकेका छन्। शुक्रवार सुरक्षा निकायहरुले तयार पारेको सुरक्षा योजनाबारे गृह मन्त्रालयमा छलफल भएको छ।
बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो। कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुको एकीकृत परिचालनको खाका तयार पारिएको छ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा 'बादल'ले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशीलता र विगतका निर्वाचनका अनुभव आधारमा आवश्यकताअनुसार कार्ययोजनालाई थप परिष्कृत गर्दै लैजान निर्देशन दिएका थिए।
उनले निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिए।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरव तण्डुल लगायतको सहभागिता रहेको थियो।