वीरगंज : किशोर गियरले ल्याएको पाँच वटा हाइब्रिड रेन्ज रोभर गाडी वीरगंजस्थित सुख्खा बन्दरगाहमा रोकिएका छन्।
घटस्थापनाको तीन दिन अघि भन्सारमा आएका ती गाडीको अहिलेसम्म पनि जाँचपास भएको छैन। सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार आधिकारिक बिक्रेताबाट किनेको कागजात पेश गर्न नसकेको कारण जाँचपास नभएको हो।
‘हामीले गाडी मगाउने किशोर गियरसँग बिक्रेता वा डिलर भएको आधिकारिक कागजात पेश गर्न भनेका छौं। तर उहाँले अहिलेसम्म ती कागजात पेश गर्न सक्नुभएको छैन,’ भन्सारका एक अधिकारीले भने, 'आधिकारिक कागजात नभई भन्सार जाँचपास गर्न मिल्दैन।’
किशोर गियरका संचालक किशोर वादेले भने भन्सारले अनावश्यक रुपमा दु:ख दिने नियत राखेर बखेडा झिकेको बताए।
‘धेरै गाडी बिक्री नहुने देशमा ल्यान्ड रोभरले आधिकारिक बिक्रेता दिँदैन। हामीले डिलरमार्फत् गाडी मगाउने हो। हामीसँग सन् २०१६ मा डिलरसँग भएको एग्रिमेन्ट छ। तर, भन्सारले त्यो कागजातलाई मानेको छैन,’ उनले भने, ‘हामीले के कारणले भन्सार जाँचपास नभएको हो त्यसको लिखित जवाफ दिन भनेका छौं। त्यो पनि उहाँहरुले मान्नुभएको छैन।’
उनका अनुसार उनको गाडी रोकिँदा झण्डै १५ करोड राजस्व राज्यले पाउनबाट बञ्चित भएको छ।
‘महँगा गाडी आउँदा राजस्व पनि राम्रो आउँछ। तर, यहाँ विभिन्न प्रभाव र दबाबमा परेर गाडी रोक्ने काम गरिन्छ। कुनै समूहको पक्षपोषणका लागि गाडी रोक्ने काम भएको छ,’ वादेले आरोप लगाए।
सुख्खा बन्दरगाह भन्सारका सूचना अधिकारी विकास कुमारले गाडीको आवश्यक कागजात नभएकाले रोकिएको बताउँदै कागजात ल्याउनेवित्तिकै जाँचपास हुने बताए। उनका अनुसार व्याट्री र पेट्रोलियम पदार्थबाट चल्ने हाइब्रिड ल्यान्ड रोभरका पाँच वटा गाडी रोकिएका छन्। आयातकर्ता कम्पनीका एजेन्ट प्रदीप उपाध्यायका अनुसार हाइब्रिड गाडीको मूल्य तीन करोड रुपैयाँ पर्छ।
टेस्ला र ज्यागुआर छुटेनन्
आवश्यक कागजात ल्याउन नसकेका कारण दुई महिनादेखि एउटा टेस्ला र तीन वटा विद्युतीय ज्यागुआर छुटेका छैनन्। विद्युतीय ज्यागुअर कार काठमाडौंको किशोर गियर र अमेरिकन कम्पनी टेस्ला मोटर्सले उत्पादन गरेको इलेक्ट्रिक टेस्ला कार वेस्टार ग्यालेक्सी ट्रेडिङले आयात गरेको थियो।
ज्यागुआर र टेस्लाको कार बेलायतको जेम्सन कार्टर लिमिटेडबाट आयात गरिएको हो। जेम्सन कार्टर राज वेदीले सञ्चालन गर्ने कार रिटेलर कम्पनी हो।
यही कम्पनीबाट जर्मन कम्पनी औडी तीन वटा विद्युतीय गाडी प्रिन्सा अटोमोटिभले आयात गरेको थियो। प्रिन्साले गैरकानुनी रुपमा औडी ल्याएर बिक्री समेत गरिसकेको छ।
कसरी ल्याउन पाइन्छ गाडी?
नेपालमा नयाँ सवारी साधन आयात गर्न निर्माता कम्पनीले नेपालमा कुनै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर त्यसमार्फत आयात गर्नुपर्छ।
त्यसो नगर्ने हो भने निर्माता कम्पनीले नेपालका लागि विदेशस्थित कम्पनीलाई आधिकारिक बिक्रेता तोक्नुपर्छ। अनि त्यही आधिकारिक बिक्रेताले नेपालमा नियुक्त गरेको आधिकारिक बिक्रेतामार्फत् सवारी साधन आयात गर्न पाउँछ। तर, अहिले गाडी आयात गर्ने कम्पनीले आधिकारिक बिक्रेता नभई आफुखुशी ल्याउन खोजेका छन्।
रिटेलर कम्पनीबाट गाडी आयात गरेर बिक्री गर्न पाइँदैन। अर्थ मन्त्रालय स्रोतका अनुसार यसरी आयात भएको गाडी जफत गर्न सक्ने समेत अधिकार भन्सार विभागसँग छ।