PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

एक 'भिआइपी' चोर जो कारमा आउँथे र १० मिनेटमै भ्याउँथे लुटपाट



सविन ढकाल

एक 'भिआइपी' चोर जो कारमा आउँथे र १० मिनेटमै भ्याउँथे लुटपाट

काठमाडौं : केही समययता पूर्वका झापा, मोरङ, सुनसरी लगायत जिल्लामा चोरीले आतंक मच्चाउने एक भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले भारतीय नागरिक रघुबरप्रसाद साहलाई नियन्त्रणमा लिएको हो।

साहले केही महिनादेखि तीन जिल्लामा रातिको समयमा चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

'हामीले पहिलेदेखि नै निगरानी गरिरहेका थियौं। यसपटक भने समात्न सफल भयौं,' इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहनकुमार थापाले भने।

प्रहरीले साहको साथबाट डव्लुबी ७४ एएम २७२४ भारतीय नम्बर प्लेटको कारसमेत बरामद गरेको छ। साहले बिर्तामोड नगरपालिका वडा नम्बर ५ डेरा गरी बस्ने ललिता सापकोटा, गीता पौडेलको घर/कोठाबाट चोरी गरेका थिए। चोरीको सूचना प्राप्त भएपछि सिसी क्यामरा फुटेजको आधारमा उनको खोजी गरिएको थियो।

साह, काँकडभिट्टा नाका हुँदै चोर्नकै लागि नेपाल आउने गरेको खुलेको छ।

'केही महिनादेखि साहले पूर्वका विभिन्न जिल्लामा चोरी गरेको देखिएको छ। उनी चोर्ने योजना बनाएर एक्लै नेपाल छिर्थे,' डिएसपी थापाले भने।

साहले चोरीमा महँगो कारको प्रयोग गर्नेसमेत खुलेको छ। दिउँसोको समयमा खाली घर हेरेर कार रोकी चोरी गर्थे उनले। उनले एउटा घर दश मिनेटभित्र चोरी गर्ने गरेको पाइएको छ।

'एउटा घरबाट चोरी गर्न दश मिनेटभन्दा धेरै समय नै लगाउँदैनथे। चोरीमा एक्सपर्ट नै देखियो,' डिएसपी थापाले भने।

उनले चोरी गर्न आवश्यक औजार समेत कारमा ल्याउँथे। तर, ताल्चा फोड्न प्रयोग हुने ढुङगा भने छाडेर जान्थे।

'प्रत्येक चोरी भएको ठाँउमा ढुङगा भेटिएको छ जुन उसले ताल्चा फोड्न प्रयोग गर्थ्यो। सायद् चोरी गरेर भाग्दा ढुङगा गरुङ्गो भएर छाडेर गएको होला,' डिएसपी थापाले भने।

साह पेशाले चालक हुन्। तर, उनीसँगै आफ्नो महँगो गाडी छ। चोरेर नै गाडी किनेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। उनले पूर्वका तीन जिल्लालाई अखडा बनाएर चोरी गर्थे। काकडभिट्टादेखि कोशीसम्म पुगेर चोरी गरेको प्रहरीमा बयान दिएका छन् उनले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell