PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

दशरथ रंगशालामा निर्माण धमाधम : हेर्नुस् रंगरोगन र सजिँदै सिट

दशरथ रंगशालामा निर्माण धमाधम : हेर्नुस् रंगरोगन र सजिँदै सिट

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कोही धमाधम कुर्सी ओछ्याइरहेका छन्। कोही रंगरोगन गरिरहेका। कोही मैदानमा पानी हालिरहेका छन् त कोही सामान ओसारिरहेका। यो दृश्य हो– त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालाको।

यही मंसिरमा विश्वकप क्वालिफायर्स अन्तर्गत नेपाल र कुवेतबीच हुने खेलका लागि दशरथ रंगशाला तयार पार्न तीव्र गतिमा काम भइरहेको छ। विश्वकप तथा एसिया कपको क्वालिफायर्स अन्तर्गतको सबै 'अवे गेम' खेलिसकेको छ, नेपालले। अब बाँकी छ त 'होम गेम'। त्यो यही मैदानमा हुँदैछ।

शुक्रवार रंगशाला पुग्दा तीव्रताका साथ रंगरोगन, मैदानको व्यवस्थापन र दर्शकको सिट ओछ्याउने काम भइरहेको थियो। हुन पनि सबै तयारी सक्न १५ दिनभन्दा बढी समय छैन। यसअघि नै नेपालको मैदान तयार नहुँदा अरु देशहरुलाई आग्रह गरेर पहिला 'अवे गेम'खेल्न मनाएको थियो नेपालले।

नेपाल र कुवेतबीचको खेलअघि नै रंगशाला तयार गर्न सके नेपालमा १ महिनाभित्रै हुन लागेको दक्षिण एसियाली खेलकुदको आयोजना पनि सहज हुनेछ।

त्यसो त राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले कात्तिक मसान्तभित्र रंगशालाको सबै काम सकिने बताउँदै आएका छन्। हुन पनि पछिल्लो केही समयमै मैदानको दुवो व्यवस्थापनदेखि लिएर प्यारापिटमा रंगरोगनको काम छिटो अघि बढेको छ। त्यस्तै सिट हाल्ने काम धमाधम भइरहेको छ।

केही समयअघि नेपाली यू २३ टोलीलाई म्यान्मारसँगको मैत्रीपूर्ण खेलको लागि बिदाइ गर्न पुगेका सदस्य सचिव सिलवालले फ्याब्रिकबाहेक अरु सबै काम लगभग सकिएकाले कात्तिक मसान्तमै काम सकिने बताएका थिए।

'अब फुटबलको गृहमैदान हुन्छ। यसले फुटबलको लागि अर्कै माहोल बन्छ,' सिलवालले भनेका थिए, 'ग्राउन्ड लगभग बनेको छ। अझै केही समय छ। अझै राम्रो हुन्छ।'

रंगशालाको अधिकांश काम सकिँदै गर्दा त्रिपुरेश्वरतर्फको प्यारापिटमा भने सबै काम बाँकी नै छ। त्यसतर्फ छानो हाल्नेदेखि रंगरोगनसम्म सबै काम बाँकी नै छ। र, छोटो समयमा त्यसतर्फको काम भने सकिने देखिन्न।

विश्वकप र एसियाकपको क्वालिफायर्सको खेल मंसिरको पहिलो साता दशरथ रंगशालामा हुनेछ। नेपालले यसअघि ४ वटा 'अवे गेम' खेलिसकेको छ, जसमा चाइनिज ताइपेईमाथि जित समेत निकाल्यो। साग होस् या विश्वकप क्वालिफायर्स, अब कुरा देशकै प्रतिष्ठामा पुगेर अड्किएको छ। नेपालले मंसिर ३ मा कुवेतसँग दशरथ रंगशालामा खेल खेल्ने निर्धारित छ।



ट्रेन्डिङ पोस्ट

Ncell