PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

पद्मरत्नका लागि मत मागेको सम्झँदै मन्त्री भट्टराईले भने, 'तुलाधरको तस्बिर अंकित हुलाक टिकट छाप्न सरकार सकारात्मक'



पहिलोपोस्ट

पद्मरत्नका लागि मत मागेको सम्झँदै मन्त्री भट्टराईले भने, 'तुलाधरको तस्बिर अंकित हुलाक टिकट छाप्न सरकार सकारात्मक'

काठमाडौं : पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी पद्मरत्न तुलाधरको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकार सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन्।

पद्मरत्न लुमन्ति गुठीले आज मन्त्रालयमा मन्त्री भट्टराईलाई तुलाधरको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न ज्ञापनपत्र दिएको थियो। गुठीका सचिव नरेशवीर शाक्यले मन्त्री भट्टराईलाई ज्ञापनपत्र दिएका थिए।

ज्ञापनपत्र बुझ्दै भट्टराईले पद्मरत्न तुलाधरले भाषिक र जातीय आन्दोलनको नेतृत्व गरेको भन्दै भने, 'पद्मरत्न व्यक्ति नभई संस्था हो भनेर हामीले भन्ने गरेका छौं। उनको विचार र आन्दोलनलाई हामीले अघि बढाउनुपर्छ।'

राष्ट्रिय पञ्चायतका लागि २०४३ सालमा भएको निर्वाचनमा तुलाधरका लागि मत माग्दै हिँडेको सम्झँदै उनले भने, 'उहाँकै कारण वामआन्दोलन जनस्तरमा फैलिएको हो। उहाँका लागि ४३ सालको निर्वाचनमा मत माग्दै हिँड्नेमा म पनि थिएँ। पछि उहाँसँगै चौतारामा करिब एक महिना जेल पनि बसियो। उहाँले नेपाली प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको आन्दोलनको सम्मान सरकारले गर्नेछ।'

पञ्चायत कालमा २०४३ सालमा 'जनपक्षीय' उम्मेदवारका रुपमा सूर्य चिह्न लिई राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर सबैलाई अचम्ममा पारेका थिए।

तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका थिए। २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार समेत तुलाधरले सम्हालेका थिए।

तर एमाले र माले फुटेपछि २०५६ सालमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र वामपन्थीका रुपमा चुनाव लडेका उनले पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठकोभन्दा थोरै मत पाएका थिए। त्यसपछि तुलाधर कहिल्यै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिएनन्।

हुलाक टिकट प्रकाशन गर्ने कार्य सञ्चार मन्त्रालय अन्तर्गत हुने भएकाले गुठीले सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई पनि ज्ञापनपत्र बुझाउने तयारी गरेको थियो। तर मन्त्री बाँस्कोटा विदेश भ्रमणमा रहेकाले सञ्चार मन्त्रालयमा पत्र दर्ता गरिएको थियो।

मन्त्री भट्टराईले आफू मातहतको मन्त्रालयले पनि पद्मरत्न तुलाधरको हुलाक टिकट प्रकाशनका लागि सिफारिस गर्ने र सञ्चार मन्त्री पनि यस विषयमा सकारात्मक रहेको बताए।

उनले पद्मरत्न तुलाधरका कृतिका साथै उनले प्रयोग गरेका सामानहरुलाई राष्ट्रिय अभिलेखालय र राष्ट्रिय संग्राहलयमा राख्न सकिने बताउँदै त्यसका लागि गुठीले सहयोग गर्न आग्रह गरे।

यस्तै मन्त्री भट्टराईले पद्मरत्नको नाममा राष्ट्रिय पुरस्कार प्रदान गर्नेबारे मन्त्रिपरिषदमा प्रस्ताव लग्ने सम्बन्धमा छलफल गर्ने बताए। भने, 'उहाँको नाममा मन्त्रालयले राष्ट्रिय पुरस्कार दिने प्रस्ताव गर्नेछ। भाषा, संस्कृति, मानवअधिकार क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई यस पुरस्कारबाट सम्मानित गरिनेछ। यसबारे हामी छलफल गर्नेछौं।'

गुठीले पद्मरत्नको जीवनी पाठ्यपुस्तकमा राख्न, उनको नाममा सिक्का निकाल्न, उनको बारेमा किताब प्रकाशन गर्ने बारेमा पनि छलफल गर्न आग्रह गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell