PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

दुलहीजस्तै सजियो वीरगन्जको घडिअर्वा पोखरी, छठमा सिसी क्यामेराबाट निगरानी



राधेश्याम पटेल

दुलहीजस्तै सजियो वीरगन्जको घडिअर्वा पोखरी, छठमा सिसी क्यामेराबाट निगरानी

वीरगन्ज : प्रदेश २ मा छठ मनाइने प्रमुख शहरमध्येको वीरगन्जको घडिअर्वा पोखरी छठ पर्वका लागि दुलहीजस्तै सजाइएको छ। घडिअर्वा छठ पूजा तथा व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी तयारीको सम्पूर्ण काम सकिएको जानकारी दिएको छ। 

घडिअर्वा पोखरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा समितिले यसवर्ष छठ पूजाका लागि करिब १९ लाख रुपैयाँको बजेट रहेको जानकारी दिएको छ। समितिका अनुसार त्यसमध्ये १५ लाख ७० हजार रुपैयाँ पूजामा खर्च हुने र ३ लाख ३० हजार रुपैयाँ बचत हुने अनुमान गरेको छ। गत वर्षको छठमा १६ लाख ८७ हजार बजेट रहेकोमा १४ लाख ७३ हजार रुपैयाँ खर्च भएको थियो र समितिले २ लाख १४ हजार रुपैयाँ बचत गरेको थियो। 

त्यसैगरी, पत्रकार सम्मेलनमा गत वर्ष घडिअर्वा पोखरीमा साढे ४ देखि ५ हजारसम्म व्रतालुहरुको दउरा अटेकोमा यस वर्ष अझै संख्या बढ्ने अनुमान गरिएको छ। समितिले छठको सझिया घाटे र विहनीया घाटे गरी कुल २ सय सुरक्षाकर्मी तथा स्वयंसेवक घटाउने निर्णय गरेको छ। पर्साको स्थानीय प्रहरी प्रशासनसंग समन्वय गरी ४० जना स्वयंसेवक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका १५० महिला÷पुरुष गरी करिब २ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने सञ्चार संयोजक क्रान्ति शाहले जानकारी दिए। 

पोखरी परिसरलाई निगरानी गर्न पोखरीको चारै वटा द्वार र अन्य ठाउँ गरी १२ वटा सिसी क्यामेराबाट चहलपहल निगरानी गरिने जानकारी पनि समितिले दिएको छ। छठको घाट सजाउन भारत, पश्चिम बंगाल र स्थानीय कारिगर बोलाइएको पनि जानकारी दिइएको छ। छठघाटलाई झकिझकाउ पारेर सजाइएको छ। 

समितिका अध्यक्ष प्रेम साह कानुको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामनगिना साह कानु, समितिका पूर्व अध्यक्षहरु बाल्मिकी साह, लखन साह लगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell