
काठमाडौं : छठ पर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन्। जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ। षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो।
यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ। चन्द्रमालाई खीर चढाएपछि व्रतालुले एक छाक खान्छन्। यसलाई खरना भनिन्छ। कात्तिक शुक्ल चतुर्थीदेखि शुरु हुने छठ सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ।
छठ पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउँछन्। यसरी चढाइने रोटीमा सूर्यको रथका पांग्रा अंकित गरिन्छ।
षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ। साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ। डुब्न लागेका सूर्यलाई अर्घ्य दिई प्रणाम गरिन्छ। अर्घ्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीं रात बिताउने प्रचलन रहेको छ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ। उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिइन्छ। यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।
सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ। अहिले देशभरि नै छठ पर्व मनाउन व्यापक तयारी गरिएको छ। छठमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन्। सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या धेरै छ।
यस वर्ष कात्तिक १६ गते बेलुकी अस्ताउँदो र कात्तिक १७ गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइनेछ। राजधानीका वाग्मती किनारस्थित गुह्येश्वरीबाट गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा विगत वर्षदेखि नै छठ मनाइने गरिएको छ। यस वर्षदेखि नागपोखरीमा पनि छठ मनाउने तयारी गरिएको छ।
छठ मनाइने स्थानहरुमा धमाधम घाटहरु निर्माण भइरहेको छ। नदी र पोखरी क्षेत्रमा साजसज्जालगायत तयारी भइरहेको आयोजक समितिले जनाएको छ। गुह्येश्वरी क्षेत्रमा मात्रै लाखौं भक्तजनहरु छठ मनाउन आउने गरेका छन्। गुह्येश्वरीबाट गौरीघाटसम्म ६५६ वटा छठ घाट बनाउन लागिएको गुह्येश्वरी छठ समितिका संयोजक रामबाबु महासेठले बताए। रासस