PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

नेविसंघका कार्यकर्ताले के गरे जसले नराम्ररी चिढ्यायो र भड्किए देउवा?



पहिलोपोस्ट

नेविसंघका कार्यकर्ताले के गरे जसले नराम्ररी चिढ्यायो र भड्किए देउवा?

ललितपुर : कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेका बेला शुक्रबार नेविसंघले सानेपास्थित केन्द्रीय कार्यालयमा नारावाजी र प्रदर्शन गरेको छ। नेविसंघको विधान विपरीत पार्टीले ३२ वर्ष उमेर माथिको व्यक्तिलाई अध्यक्ष चयन गर्न लागेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन्।

प्रदर्शनको नेतृत्व गरेका नवराज त्रिपाठीले नेविसंघको विधान विपरीत पार्टीले निर्णय गर्न लागेकाले विरोध गरेको बताए।

‘नेविसंघका बुबा उमेरको अध्यक्ष बनाउने तयारी भएको सूचना पाएका छौं,’ उनले भने, ‘विधान अनुसार ३२ वर्ष उमेर हद भित्रको मात्र नेविसंघमा आवद्ध हुन पाउने प्रावधान छ। केन्द्रीय समितिले जारी गरेको नेविसंघको विधान पालाना हुनुपर्‍यो भन्ने हाम्रो माग हो।’

पार्टी संस्थापनले आफू निकटलाई अध्यक्ष बनाउने आन्तरिक तयारी भएको सूचना पाएपछि विद्यार्थीले केन्द्रीय समिति बैठक बसेका बेला नारावाजी र प्रदर्शन गरेका हुन्।

५० वर्ष पुगेका राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउन खोजेको चर्चा सुरु भएपछि त्रिपाठीसहितका विद्यार्थी नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई घेरेर नाराबाजी गरेका हुन्।

'बचाउँछौं हामी नेविसंघ –विधान मिचे आमरण अनसन' भन्ने मुल नारा बनाएका उनीहरुले 'टीके प्रथा खारेज गर', 'हनुमान नेता चाहिँदैन', विधान मिच्न पाइँदैन' भन्दै नाराबाजी गरेका हुन्। पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका देउवालाई घेर्दै विद्यार्थीहरुले नाराबाजी गरेका हुन्।

विद्यार्थीहरुले आफुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि देउवा आक्रोशित हुँदै औंलो ठड्याएर अपशब्द समेत प्रयोग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell