PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

फास्ट ट्र्याकको पुलको ठेक्का फटाफट गर्ने सेनाको तयारी



दिनेश खड्का

फास्ट ट्र्याकको पुलको ठेक्का फटाफट गर्ने सेनाको तयारी

काठमाडौं :  महत्वकांक्षी र बहुचर्चित फास्ट ट्र्याकको निर्माणलाई गति दिन नेपाली सेनाले आयोजनामा पर्ने पुलहरुको ठेक्का निकाल्ने अन्तिम तयारी गरेको छ।

नेपाली सेनाका सहायकरथी विज्ञानदेव पाण्डेले तयारी पूरा भइसकेकाले एक/दुई दिनमै पुल निर्माणको टेण्डर निकाल्न लागिएको जानकारी दिए। उनका अनुसार, नेपाली निर्माण व्यवसायीले निर्माण गर्न सक्ने पुलहरुको ठेक्का निकाल्न लागिएको हो।

द्रुतमार्ग आयोजनाको नेपाली र विदेशी कम्पनीहरुले निर्माण गर्ने पुलहरु छुट्याइएको छ। सामान्य पुल नेपाली निर्माण कम्पनी र विशेष प्रकृतिका पुलहरु विदेशी कम्पनीबाट गराउन लागिएको हो।

कुल ८७ पुलमध्ये ७१ वटा नेपाली र १६ वटा विदेशी कम्पनीबाट गराउन लागिएको हो। नेपाली निर्माण कम्पनीबाट निर्माण गराइने पुलहरु तत्कालै टेण्डर निकालेर काम सुरु गर्न लागिएको भए पनि विदेशी कम्पनीमार्फत् निर्माण गराइने पुल कहिलेबाट निर्माण थाल्ने टुङ्गो लागेको छैन।

नेपाली सेनाले यसअघि नै अन्तर्राष्ट्रिय बोलपत्र निकालेर ६ वटा कम्पनी 'प्रि क्वालिफाई' गरेको थियो। सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा ठेक्का निकालिएको थियो। पछि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र सम्भाव्यता रिपोर्टमा भिन्नता आएपछि नयाँ ठेक्का निकालेर काम अघि बढाउन लागिएको पाण्डेले जानकारी दिए।

आयोजनाका अनुसार पुल निर्माण समयमा नै सकियोस् भनेर प्याकेज/प्याकेज बनाएर टेण्डर निकाल्न लागिएको छ। एउटा प्याकेजको ठेक्का पाउने कम्पनीले अर्को प्याकेजमा ठेक्का हाल्न पाउँदैन।

'केही निर्माण कम्पनीले सबैतिर काम गर्छु भनेर क्षमताभन्दा बढी काम लिन्छन्। सबैतिर अलपत्र पर्न सक्छ। एकै साथ काम गर्न प्याकेजमा ठेक्का निकाल्न लागेका हौं,' पाण्डेले भने, 'सबै काम एउटैलाई दियो भने पप्पु कन्स्ट्रक्सनको जस्तो अवस्था आउँछ त्यसप्रति हामी सचेत छौं।'

टनेलको टेण्डर फागुनमा

डिपिआर अनुसार द्रुतमार्ग आयोजनामा ३ वटा सुरुङमार्ग निर्माण हुनेछ। महादेवडाँडामा (छोक्रेडाँडादेखि महादेव खोल्सी) ३.३०० किमी, धेन्द्रेमा (सिमपानीदेखि चालिसे खोल्सी) १.३७० किमी र लेनडाँडा स्थित (घट्टेपाखादेखि बादरेखोल्सी) १.४०० किमी गरी ६.०७ किमी सुरुङमार्ग निर्माण हुनेछ।

एसियाली विकास बैक (एडिबी) ले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा १.३५ किमीको एउटा मात्रै सुरुङमार्ग निर्माण गर्नुपर्ने उल्लेख थियो।

पाण्डेले सुरुङमार्गका लागि विज्ञ हायर गर्न स्पेसिफिकेसन तयार भइरहेको जानकारी दिए। उनका अनुसार विज्ञ हायर गरिएपछि टेण्डर निकाल्ने तयारीमा सेना छ। फागुनसम्ममा टेण्डर निकाल्ने र असारमा काम सुरु भइसक्नेछ।

विज्ञ हायर गरेर थप अध्ययन गर्दै सुरुङमार्गको स्पेसिफिकेसन बनाइने भएकाले निर्माण अवधि कति लाग्ने भन्ने समेत यकिन भएको छैन।

विज्ञ टोली लिएर आयोजना प्रमुख साइटमा

द्रुतमार्ग आयोजना प्रमुख प्राविधिक महासेनानी शरदलाल श्रेष्ठ विज्ञ सहितको टोली लिएर साइट निरीक्षणमा गएका छन्। शुक्रबार टोली साइट निरीक्षणमा गएको हो।

आयोजना सुस्त भएको भन्दै चौतर्फी बहस सुरु भएपछि उनी साइटमा आफैँ पुगेका हुन्। अहिले ५५.५ किमी खण्डमा सडकको फर्मेसन लेभलको काम भइरहेको छ। सुरुङमार्ग र पुलबाहेक सडकको मात्रै काम भइरहेको सेनाले जनाएको छ।

सेनाले १० वटा खण्ड बनाएर एकसाथ काम गरिरहेको छ। द्रुतमार्ग निर्माण जिम्मा पाएको नेपाली सेनाले अपेक्षित गति दिन नसक्दा राष्ट्रिय गौरवको यो आयोजना पनि समयमा तयार पार्न चुनौती थपिएको छ।

सेनाले पाएको चार वर्षमध्ये दुई वर्ष बितिसकेको छ। करिब १० प्रतिशतको हाराहारीमा मात्रै भौतिक प्रगति छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell